खेलाडीले मिडियामा अभिब्यक्ति दिन अनिवार्य अनुमति लिनुपर्ने एन्फाको निर्णय

ललितपुर । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बन्द प्रशिक्षणको दौरान राष्ट्रिय टिमका खेलाडीलाई अनुशासनमा राख्नका निम्ति नयाँ आचार संहिता पारित गरेको छ ।

सोनपास्थित हेरिटेज गार्डेनमा मंगलबार सम्पन्न भएको एन्फाको १९औं साधारणसभाले राष्ट्रिय टोलीमा रहेका खेलाडीहरुका लागि अनुशासित र मर्यादित बनाउने भन्दै तयार पारिएको १६ बुँदै खेलाडी आचार संहितालाई पारित गरेको हो ।

एन्फाले राष्ट्रिय टिमका खेलाडीलाई एन्फाको खेलाडी आचार संहिता अनुसार टिम व्यवस्थापक तथा राष्ट्रिय टिम समितिको स्पष्ट लिखित अनुमति बिना पत्रकार वा संचार माध्यममा अन्तवार्ता दिन नपाउने सहितका नयाँ नियम लागु गरेको हो ।

राष्ट्रिय टिम व्यवस्थापक मधुसुधन उपाध्यायले मेरोखेल डटकमसँग कुरा गर्दै बन्द प्रशिक्षणको दौरान खेलाडीलाई अनुसाशनमा राख्न एन्फाले खेलाडी आचार संहिता तयार पारेको बताए । उनले बन्द प्रशिक्षणमा रहेको समयमा खेलाडीहरुले एन्फाको मापदण्ड विपरित कुनै पनि अभिब्यक्ति दिन नपाउने लगायतका अन्य मर्यादा समबन्धिको नियमलाई पारित गरेको जनाएका छन् ।

एन्फाले यो नियम प्रत्यक्ष भेट गर्नुपर्ने अवस्थामा मात्र लागु हुने गरी नयाँ नियम पारित गरेको हो । यसबाहेक खेलाडीले आफ्नो अभिब्यक्ति सामाजिक सञ्जाल लगायतका अन्य सामाजिक माध्यमबाट भने दिन पाउने एन्फाले जनाएको छ ।

नयाँ १६ बुँदै खेलाडी आचार संहिता लागु भएपछि अब खेलाडीहरुले बन्द प्रशिक्षणको दौरानमा होस्टल अथवा एन्फाले निर्धारण गरेको बसोबासको स्थानबाट बिना अनुमति बाहिर निस्कन पाउने छैनन् ।

‘बन्द प्रशिक्षणमा रहँदा खेलाडीले पनि विभिन्न नियम पालना गर्नुपर्ने हुन्छ, यो खेलाडीकै लागी पनि राम्रो विषय हो’,उपाध्यायले भने, ‘यसअघि हामीले मौखिक अनुमति दिँदै आएकोमा अब भने लिखित अनुमति अनिवार्य गर्ने तयारी भइरहेको छ ।’

संसारमा अन्य सबै फुटबल संघहरुमा पनि मिडियामा प्रस्तुत हुनका लागि आधिकारिक निकायको सहमति र आज्ञा चाहिने नियम रहेको छ । अन्तराष्ट्रिय प्रचलनलाई अवलम्बन गर्दे खेलाडी र खेलको हितका लागि एन्फाले खेलाडी आचार संहिताको नयाँ नियमलाई मंगलबारको साधारणसभाबाट सर्वसम्मतले पारित गरेको हो ।

यो पनि पढ्नुहोस् : फुटबल उपत्यकामा मात्र केन्द्रित रहँदैन : सिलवाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :