महिला खेलाडीको अनुभवः दशरथ रंगशालामा खेल्दा सपना पूरा भयो

बिभा थापा

काठमाण्डौं । अखिल नेपाल फुटबल संघ एन्फाले पहिलोपटक राष्ट्रिय महिला लिग एक महिना लामो समयसम्मको लागि आयोजना गरेको छ । यसबाहेक पहिलो पटक डबल राउण्ड रोबिनका आधारमा हुन लागेको राष्ट्रिय महिला लिग आजबाट काठमाण्डौमा शुरु भएको हो ।

बुधबारबाट काठमाण्डौमा शुरु भएको राष्ट्रिय महिला लिगको उद्घाटन खेल नेपालको एक मात्र अन्तराष्ट्रिय रंगशालाको रुपमा रहेको दशरथ रंगशालामा खेलाइएको थियो । पहिलो खेलमा दुई विभागिय टोलि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मीले प्रतिस्पर्धा गरेका थिए । यस खेलको नतिजा गोलरहित बराबरीमा टुङ्गिन पुग्यो ।

बुधबारको उद्घाटन सत्र र त्यसपछि भएको पहिलो खेल हेर्नका लागि दर्शकहरुलाई निशुल्क रंगशाला प्रवेशको ब्यवस्था गरिएको थियो ।

फुटबल खेलमा लाग्ने जो कोहीको पनि कम्तिमा एकपटक काठमाण्डौको त्रिपुरेश्वरस्थित दशरथज रंगशालामा खेल्ने मनोकामना हुने गर्दछ । त्यसमाथि महिला खेलाडीहरुको निम्ति त दशरथ रंगशालामा जर्सि पहिरिएर खेल्ने धोको त झन ब्यापक हुने गर्दछ ।

यही धोको र ठूलो सपना पूरा भएको त्रिभुवन आर्मीकी स्ट्राइकर पुनम दर्गामगर बताउँछिन् । फुटबलमा लागेर दशरथ रंगशालामा पाउँ पर्नु जो सकैको सपना र रहर हुने गर्दछ र त्यो धोको पुरा भएको पुनमको अनुभव छ ।

‘निक्कै खुशी,रमाइलो र साच्चै ठूलो रंगशालामा खेल्न पाउनु मेरो लागि सपना पूरा हुनु बराबरको अनुभव भयो’,पुनम आफ्नो अनुभव सुनाउँछिन् ।

जब पहिलोपटक रेफ्रिले सिठ्ठि बजाउनुभयो,म साच्चै आफूलाई निकै गर्वको महसुस गरिरहेको थिए’,पुनम भन्छिन्,‘ठूलो रंगशाला खुट्टा गलेको जस्तो पनि भयो । तर रंगशालाको माहोलले त्यो अनुभव नै बिर्साइरहेको थियो ।’

नेपाली राष्ट्रिय महिला फुटबल टोलिकी नियमित सदस्य एवम् गोलकिपर अन्जना रानामगरको अनुभव पनि पुनमको भन्दा फरक रहेन ।

‘हुन त मैले यसअघि पनि मध्यमाञ्चलबाट खेलेको थिए तर त्यो अनुभव मलाई खासै याद छैन । आज मैले ठूलो प्रतियोगितामा पहिलोपटक दशरथ रंगशालामा खेले,यो साच्चै सुखद र रमाइलो स्मरण बन्नेछ ।’

अन्जानालाई यो पहिलोपटक दशरथ रंगशालामा खेलेको अनुभव भएको बताउँछिन् । उनले रंगशालामा खेल शुरु भएपछि कता कता खुट्टा तानेको जस्तो लागेको अनुभव सुनाइन् ।

‘ठूलो,फराकिलो र निक्कै राम्रो मैदानले खेलमा झन हौसला थप्यो अनि रमाइलो लाग्यो’,अन्जना भन्छिन् ।

स्ट्राइकिङ्गमा समस्या देखिएकोले पुलिससँग गोलरहित बराबरी नतिजा आएको बताउँदै आर्मीकी कप्तान कविता धिमालले पनि दशरथ रंगशालाको अनुभव वर्णन गर्न नसकिने बताइन् ।

रंगशालाको स्तर नै छुट्टै छ र त्यहाँ खेल्दा आफूलाई आफ्ना् स्तर नै बेग्लै लाग्ने गरेको अनुभव सुनाइन् ।

‘मैदान राम्रो भएर होला असजिलो केही लागेन बरु अझै खेलमा थप सहयोग पुग्यो । स्ट्राइकिङ्गमा ध्यान दिनुपर्ने देखियो र आगामी खेलमा कोचको रणनिति अनुसार खेल्दै अब जित्ने हो’,कविता भन्छिन् ।

एन्फाले प्रतियोगिताको उद्घाटन र समापन खेल दशरथ रंगशालामा खेलाउने तालिका निर्धारण गरेको छ भने अनय सबै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेकसमा हुनेछ ।

प्रतियोगितामा चौदण्डीगढि नगरपालिका, त्रिभुवन आर्मी क्लब, नेपाल सशस्त्र पुलिस बल, विराटनगर महानगरपालिका, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका र नेपाल पुलिस क्लब गरी ७ वटा टिमले प्रतिस्पर्धा गर्दैछन् ।

यस्तै लिगको विजेताले १५ लाख, उपविजेताले ८ लाख, तेस्रो हुनेले ५ लाख र चौथो हुनेले टिमले तीन लाख रुपैयाँ पाउने छन् ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले स्कुटर र हरेक विधाका खेलाडीले जनही ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने हरेक टोलीले तयारी स्वरुप १ लाख र कोभिडको राहत स्वरुप ५० हजार गरि डेढ लाख रुपैयाँ प्राप्त गर्ने भएका छन् ।

हरेक खेलको प्लेयर अफ द म्याचले नगद ५ हजार रुपैयाँ पुरस्कार पाउने एन्फाले जनाएको छ ।

प्रतियोगितामा हरेक टिमले २३ खेलाडीसहित कुल ३० जनाको टिम बनाउन पाउने भएका छन् । यसका साथै पहिलो पटक हरेक टिमले चार जना विदेशी खेलाडी पनि अनुबन्ध गर्न पाउनेछन् ।

यो पनि पढ्नुहोस्ः  महिला लिग : उद्घाटन खेलमा आर्मी र पुलिसले अङ्क बाँडे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :