एशियाकै प्रभावशाली युवाको सूचीमा गौरिका

काठमाण्डौँ। नेपाली स्वीमर गौरिका सिंह प्रभावशाली युवाहरूको सूची ‘फोर्ब्स थर्टी अन्डर थर्टी एशिया २०२१’ मा परेकी छन् ।

चर्चित अमेरिकी म्यागजिन फोर्ब्सले मंगलबार सार्वजनिक गरेको सूचीमा गौरिका प्रभावशाली युवाहरूको सूची ‘फोर्ब्स थर्टी अन्डर थर्टी एसिया २०२१’ मा ‘इन्टरटेन्मेन्ट एन्ड स्पोर्ट्स’ तर्फ एसियाकै प्रभावशाली ३० युवामा परेकी हुन् ।

सात वर्षयता नेपालका लागी पौडी खेल्दै उच्च प्रदर्शन गर्दै आएकी १८ वर्षीया गौरिकालाई प्रभावशाली युवामा समावेश गर्दै फोर्ब्सले लेखेको छ, ‘गौरिका सिंह नौ वर्ष भएदेखि नै पौडीमा छिन् र १२ वर्षदेखि नै नेपालको लागि प्रतिस्पर्धा गरिरहेकी छन् । दक्षिण एसियाली खेलकुद २०१९ मा चार स्वर्ण, दुई रजत र तीन कांस्यपदक जितिन् । उनी रियो ओलम्पिक २०१६ मा सबभन्दा कम उमेरकी खेलाडी थिइन् । उनी टोकियो ओलम्पिक २०२० लाई पनि छनोट भएकी छन्, जुन स्थगित भएर जुलाई–अगस्ट २०२१ मा हुदैछ । पौडीबाहेक उनी समाजसेवामा पनि संलग्न छिन् । उनी गैरनाफामूलक संस्थाहरू माइती नेपाल र शान्ति एजुकेसन इनिसिएटिभकी सद्भावना दूत हुन् ।’

उनीसहित ३० वर्षमुनिका ३० जना प्रभावशाली युवालाई फोर्ब्सले थर्टी अन्डर थर्टी एसियाको इन्टरटेन्मेन्ट एन्ड स्पोर्टस् विधामा समावेश गरेको हो । गायक–गायिकासहित मनोरन्जन उद्योगमा संलग्न युवाहरू र खेलाडीलाई यस विधामा राखिएको छ । फोर्ब्सको यस विधामा गत वर्ष नेपाली एमेच्योर गल्फर प्रतिमा शेर्पा परेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :