आरिफ र आशिफ देशकै छोरा : पिता मोहमद शेख

सुवास रोकाया

काठमाडौं । आफ्ना सन्तानको सपना पुरा हुँदा स्वभाविक रुपमा हरेक अभिभावक हर्षित हुने गर्छन् । अझ त्यसमाथि आफ्नो छोराछोरीको सपनासँगै बाबुआमाको शिर उचो राख्ने कार्य गर्दा त सबैभन्दा बढी खुशी हुने पात्र हुन्,बुबा आमा ।

काठमाण्डौमा सम्पन्न त्रिकोणात्मक टी २० क्रिकेट श्रृंखलामा नेपाल उपाधी मात्र जित्न सफल भएको छैन, लामो समयदेखि समस्या बनिरहेको ओपनिङ्ग ब्याट्सम्यानको जोडीको समाधानको निकै समिप समेत पुगेको तस्विर बाहिर आएको छ ।

यस श्रृंखलामा नेपाललाई लगातार खेलहरुमा शुरुवाती जोडीको रुपमा आशिफ शेखले मजबुत शुरुवात दिँदै आफूसँगै नेपालको ब्याटिङ्गको लाइनअपमा समेत स्तरीयता रहेको प्रमाणित गरे ।

‘शुरुमा त डेव सरले राष्ट्रिय टिममा मलाई लिनुहोला भन्ने आशा थिएन,त्यसपछि डेब्यु खेलमा नै अझ त्यो माथि ओपनिङ्ग, विश्वास त लागेन तर म ब्यक्तिगत रुपमा लामो समयदेखि तयारी अवस्थामा नै थिए’,आशिफ भन्छन्,‘आफ्नो प्रदर्शन ले निक्कै खुशी छु तर सन्तुष्ट भने बन्न सकेको छैन ।’

‘मेरो सपना पूरा भएको छ,मैले देखेको सपना मेरा दुई छोराले पूरा गर्दैछन् । आरिफले त आफूलाई प्रमाणित गरिसक्यो,अहिले आएर कान्छोले गरेको ब्याटिङ्गले सारा नेपालीलाई नयाँ आशा देखायो भने पछि स्वभाविक रुपमा म त बुबा हुँ उसको,खुशीको हद छैन’,आशिफका बुबा मोहमद सलाम शेख हर्षले गद्गद् हुँदै सुनाउँछन् ।

आशिफको सपना हुनु र खुशी स्वभाविक प्रक्रिया हो भने छोराछोरीको सफलतामा आमा बुबा हर्षित र पुल्कित हुनु अकाट्य स्वभाव नै हो । आशिफको लक्ष्य प्राप्ति र प्रदर्शनले सारा नेपालीको शिर उचो बनाउँदा त बुबा मोहमद सलाम शेख र आमा प्रविण बानुको यतिबेला प्रसन्नता र मनमा उल्लास छाएको छ ।

विरगञ्जकोे मुरली चोकमा एउटा सामान्य मोटर वर्कशप (ग्यारेज) सञ्चालन गर्दै आएका मोहम्मद सलाम शेखका कान्छा छोरा आशिफ शेख र जेठा छोरा आरिफ शेख अहिले नेपाली राष्ट्रिय क्रिकेट टिममा छन् ।

दुबै दाजुभाईले काठमाण्डौमा सम्पन्न नेदरल्याण्ड्स र मलेसियासँगको त्रिकोणात्मक टि २० श्रृंखलामा नेपाली टोलीमा स्थान बनाउन सफल भए ।

आरिफले श्रृंखलाको पहिलो खेलमा मात्र अन्तिम ११ मा स्थान बनाएपनि यसै श्रृंखलाबाट डेब्यू गरेका भाई आशिफ सबै खेलको अन्तिम ११ मा मात्र परेका थिएनन् । आफ्नो क्षमताले सारा नेपाली क्रिकेट समर्थकलाई दङ्ग समेत पारेका थिए ।

लामोसमयदेखि नेपालको ओपनिङ्ग ब्याटिङ्गमा कमजोर देखिने नेपाली क्रिकेट आशिफ र अर्का ओपनर कुशल भुर्तेलको उपस्थितीले आक्रमक र डोमिनेटिङ्ग समेत बनेको छ ।

आशिफले बलियो नेदरल्यान्ड्सविरुद्ध डेब्यू खेलमा ५४ रनको अर्धशतकिय पारी खेल्दै नटआउट रहेका थिए भने कुशलले ६२ रन जोडेका थिए । उक्त खेलमा कुशल र आशिफले १ सय १६ रनको उत्कृष्ट शतकीय साझेदारी गरेका थिए । यो नेपालका लागी कुनै पनी प्रारुपको क्रिकेटमा खेलाडीहरुले गरेको सर्वाधकि रनको साझेदारी हो ।

यस्तै मलेसियाविरुद्ध पनि यो जोडीले १ सय २ रनको शतकिय साझेदारी गर्यो । उक्त खेलमा आशिफ ४२ रनमा आउट भएका थिए भने कुशलले ६१ रनको नटआउट पारी खेलेका थिए । दुबै खेल नेपालले ९ विकेटले जितेको थियो ।

नेदरल्याण्डबिरुद्ध खेलेको श्रृंखलाको तेश्रो खेलमा भने आशिफले खाता खोल्न सकेनन् लिग चरणको अन्तिम खेलमा मलेसियाबिरुद्ध उनले ४२ रनको पारी खेले । फाईनलमा आशिफको ब्याटबाट १६ रन आयो ।

बुबा सलाम छोरोको प्रदर्शमाथि यसरी टिप्पणी गर्छन्,‘महान सचिन तेन्दुल्कर पनि कहिलेकाँही रन बनाउन चुके तर उनको स्तर एक खेलले मापन भएन भने आशिफ त बल्ल अन्तराष्ट्रिय क्रिकेटमा पाइला चाल्दैछ ।’

मोहम्मद सलाम शेखले आफ्ना छोराहरुलाई क्रिकेट खेल्नबाट कहिलै बञ्चित गरेनन् । उनीहरुको सपनालाई आफ्नै सपना मान्दै अघि बढे । मध्यमवर्गमा जिवनयापन गर्दै आएका शेख परिवारले आशिफ र आरिफको क्रिकेट प्रतिको लगावलाई मर्न दिन हुन्न भन्ने सोचका साथ हरेक कदममा साथ र समर्थन दिए ।

सलाम भन्छन्,‘ मैले आरिफ र आशिफलाई कहिल्यै पनि क्रिकेट खेल्नबाट रोकिन । दुबैलाई क्रिकेट खेल्न अनुमति थियो । अझ मैले आरिफ ३ बर्षको हुँदा एउटा प्लास्टिकको ब्याट किनिदिएको थिए । मैले बलिङ्ग गर्थे,आरिफले ब्याटिङ्ग । पछी उमेर बढ्दै गएपछि आशिफ र आरिफ मिलेर क्रिकेट खेल्न थाले । दुबै जना कहिले आगनमा त कहिले घरको छतमा क्रिकेट खेलिरहेका हुन्थे । कहिले काही बल छिमेकिको घरमा जान्थो र छरछिमेकमा सामान्य विवाद पनि हुने गथ्र्याे । तर पछी दुबै जनाले सानै उमेरमा राम्रो क्रिकेट खेल्न थालेपछी छिमेकीहरुले दुबैलाई धेरै माया गर्न थाले ।’

मोहम्मद सलाम शेख आफै पनि खेल प्रति निकै लगाव र रुची राख्ने खेलप्रेमी हुन् । उनी आफ्नो युवा अवस्थामा राम्रो फुटबल खेल्ने गरेको बताउँछन् । उनको यसै खेल प्रेमले आरिफ र आशिलाई राष्ट्रिय टिमको जर्सीमा मैदान उत्रने मार्ग देखाएको हो ।

उनी सुनाउँछन्,‘म पनी खेल प्रेमी हो,म फुटबल खेल्ने गर्दथे तर कुनै ठुलो प्राप्ती गर्न सकिन । पछी छोराहरुले क्रिकेटमा रुची राखेपछी मैले उनीहरुमा जोश र उत्साह भरिदिए । म दुबैलाई खेल्न प्रेरित गर्थे । म फुटबल खेल्ने भएपनी क्रिकेट भनेपछि हुरुक्कै हुने मेरो पहिलो प्राथमिकतामा छोराहरुको पढाई थियो । तर क्रिकेट खेल्न पनी मैले कुनै अवरोध खडा गरिन, जसरी भएपनी हरेक सामाग्रीको जोह गरिदिन्थे । उनीहरुको हरेक खेल हेर्न जान्थे । दुई मध्य १ जना म्यान अफ दि म्याच हुँदा निकै आनन्द लाग्थ्यो’ ।

आरिफ र आशिफ राष्ट्रिय टिममा परेपछी आफ्नो सपना आंशिक रुपमा पुरा भएको र दुबैले अझ धेरे गर्न सक्ने क्षमता रहेको सलामको बुझाई र पक्का विश्वास छ ।

‘आरिफ र आशिफ अब मेरा छोराहरु मात्र होईन् उनीहरु देशका छोरा भएका छन् । अब उनीहरुसंग मेरो र मेरो परिवारको भावना मात्र जोडिएको छैन,सिङ्गो देशको भावना जोडिएको छ । उनीहरुले राम्रो गरे पुरै देश हर्षित हुन्छ खराव गरे निराश । आजका दिन सम्म जे जती भयो त्यो आंशिक सफलता मात्र हो । अझै धेरै ठूलो गन्तब्य छिचोल्न बाँकी छ । आगामी मार्ग अझै धेरै कठिन, सकसपुर्ण र आरोह अवरोह युक्त छ । त्यो यात्रा पुरा गरे मात्र नेपाली क्रिकेटको सपना पुर्ण रुपले साकार हुनेछ,’ आशिफका बुबा सलाम आफ्नो कुरा ब्यक्त गर्छन् ।

आसिफले सन् २०१६ मा आयोजन भएको पहिलो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) को फाइनलमा शतक प्रहार गरेका थिए । उनको उक्त प्रदर्शनले निकै चर्चा समेत बटुलेको थियो । उनले २०१६ देखि २०१९ सम्म नेपालको यू–१९ टिमबाट खेल्दै आएका थिए ।

आफ्नो डेब्यु र प्रदर्शनबारे आसिफ भन्छन् ‘ सेलेक्टरले विश्वास गर्दा मेहनत र लगन सार्थक हुने पहिलो चरणमा पुगेको छ । आफ्नो प्रर्दशन देखेर खुशी छु । तर यो श्रृंखलाको प्रदर्शनले मात्र मेरो क्षमता मापन गर्न हुँदैन । हो, यो सुखद रह्यो तर दिर्घकालिन रुपमा आफूलाई प्रमाणित गर्न लामो यात्रा हिड्न बाँकी छ । अझै आफुलाई प्रमाणित र प्रताणित गर्न बाँकी नै छ । नेपाली क्रिकेट विकाश उन्मुख छ र त्यसलाई विश्वकप सम्म पुर्याए मात्र मलाई सन्तुष्टी मल्ने छ । ’

असन्तुष्ट हुनु मानवको प्रकृतिक स्वभाव हो । यहीँ मानविय स्वभाकका कारण मानव समुदाय यती विकसित भएको हो । यसै मानविय स्वभाकको जिकिर गर्दै आशिफले भने, ‘यो मेरो डेब्यू सिरिज हो । मैले राम्रो प्रर्दशन पनि गरेको छु , खुशी लागेको छ, तर एउटा सिरिज राम्रो जादा त्यतीमै सन्तुष्ट भए मैले आगामी यात्रा तय गर्न सक्दिन । त्यसकारण म यसलाई मेरो क्रिकेट यात्राको शुरुवातको रुपमा मात्र चित्रण गर्छु । मैले अझै लामो गन्तब्य छिछोल्नु पर्ने छ । म यतीमै सन्तुष्ट भएर आगामी गन्तब्यमा पुर्णविराम दिन चाहँदिन । मैले मेरो क्रिकेट यात्रालाई जिवन्त पार्न अझै धेरै गर्न बाँकी छ । म यतीमै सन्तुष्ट भएर बस्दिन यस सिरिजलाई म प्रेरणा र उर्जाको रुपमा प्रयोग गर्ने छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :