रामविनय बाह्रौं सार्वजनिक संस्थान राष्ट्रिय ब्याडमिन्टनको सेमिफाइनलमा

काठमाडौं । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका रामविनय श्रेष्ठ बाह्रौं सार्वजनिक संस्थान राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत ब्याडमिन्टनको पुरुष सिंगल्समा आइतबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

सार्वजनिक संस्थान खेलकुद विकास संघ, नेपाल (पेस्डान) द्वारा आयोजित प्रतियोगितामा रामविनयले नागरिक लगानी कोषका पुरुषोत्तम पौडेललाई २१–१५ र २१–८ को सोझो सेटमा पराजित गरे ।

त्यसअघि रामविनयले औधोगिक क्षेत्र व्यवस्थापन लिमिटेडका रामबहादुर तामाङलाई २१–११ र २१–१८ को सीधा सेटमा हराएका थिए ।

सोही स्पर्धामा कृषि विकास बैंकका टक्कर कुँवरले नेपाल विद्युत प्राधिकरणका सरोज तामाङलाई ११–२१, २१–१६ र २१–१८, विद्युतका टेकबहादुर बुढाले राष्ट्रिय वाणिज्य बैंकका गोरखबहादुर शाहीलाई २१–१ र २१–१३ तथा वाणिज्यका गुप्ता केसीले विद्याुतका रत्न श्रेष्ठलाई ११–२१, २१–१९ र २१–१० ले पाखा लगाउदै सेमिफाइनलमा स्थान पक्का गरे ।

महिला सिंगल्समा बिमा संस्थानकी सविना श्रेष्ठले वाणिज्यकी पुष्पाकुमारी खनाललाई १५–२१, २१–१३ र २१–११ तथा वाणिज्यकी दुर्गाकुमारी कँडेलले नेपाल वायु सेवा निगमकी सविना बस्नेतलाई २१–१५ र २१–१८ ले पन्छ्याउदै सेमिफाइनल यात्रा तय गरे ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भइरहेको प्रतियोगितामा रामविनय पुरुष भेट्रान ४५ वर्षमाथि डबल्समा पनि सेमिफाइनलमा पुगेका छन् । रामविनयले जनक भारतीसंग मिलेर वाणिज्यका विश्वप्रसाद दाहाल र लालबहादुर थापाको जोडीलाई १८–२१, २१–१८ र २१–१८ को सेटमा पन्छाए ।

उक्त स्पर्धामा एभरेष्ट बैंक लिमिटेडका सन्तोष भट्टराई र पुष्पराज उप्रेती तथा विद्युतका उमेशकुमार भण्डारी र विष्णु मास्केको जोडीले पनि सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

पुरुष डबल्समा मुक्तिनाथ विकास बैंकका थानेश्वर अर्याल÷प्रेम थापा तथा विद्युतका भूपेन्द्र बिसी-प्रितम बस्नेत, विष्णु मास्के÷सरोज तामाङ र राजु महर्जन-लोकेन्द्रबहादुर साउदको जोडीले आ–आफ्नो खेल जित्दै सेमिफाइनलमा स्थान बनाए ।

प्रतियोगिताको राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले एक कार्यक्रमबीच उद्घाटन गर्दै कर्पोरेट क्षेत्रले खेलकुदको विकास र विस्तारमा ठूलो टेवा पु¥याउन सक्ने धारणा व्यक्त गरे ।

पेस्डानका अध्यक्ष कुलबहादुर आचार्यले कोरोना भाइरस (कोभिड– १९) को जोखिमलाई मध्यनजर गरी विगतमा विविध खेल समावेश गर्दै बृहत प्रतियोगिता आयोजना गर्ने गरेकोमा यसपटक ब्याडमिन्टन मात्रको प्रतियोगिता आयोजना गरिएको बताए ।

प्रतियोगितामा १२ संस्थाका ७० खेलाडीले विभिन्न ६ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् । सबै स्पर्धामा नगद पुरस्कार रहेको प्रतियोगिताको कुल पुरस्कार राशी १ लाख २२ हजार रुपैयाँ रहेको छ । प्रतियोगिता सोमबार सम्पन्न हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :