अनुकुल नतिजा नआउँदा रेफ्रीलाई दोष दिन सजिलो छ !

लक्ष्मी शाक्य

काठमाडौं । काठमाडौंमा अहिले नेपालको पहिलो व्यवसायीक फुटबल नेपाल सुपर लिग (एनएसएल) जारी छ ।

नेपाली फुटबललाई व्यवसायमुखी बनाउने योजनासहित नेपाल स्पोर्ट्स म्यानेजमेन्ट प्रालि (एनएसएल) को आयोजनामा जारी प्रतियोगिता आज ११ औं दिनमा आइपुगेको छ ।

दास्रो लहरको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको बढ्दो प्रभाव नेपालको अधिकांश भेगमा बढेसँगै अहिले उपत्यकाको तीन वटै जिल्लामा निषेधाज्ञा लागु भएको पनि आज छैटौं दिन पुग्यो । स्थानीय सरकाले निषेधाज्ञालाई थप कडाईका साथ अघि बढाउने तयारी समेत गरेको छ ।

खेलकुद गतिविधि, विद्यालय, रेष्टुरेन्ट, पाटी प्यालेस लगायत भिडभाड जन्य गतिविधिहरु उपत्यमा अहिले सबै ठप्प रहेको छ । यो अवस्थामा एनएसएल भने आयोजकले नेपाल सरकार, स्थानीय सरकार, स्वास्थ्य मन्त्रालय, राखेप र सम्बन्धीत निकायसँगको समन्वयमा स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्ण रुपमा पालनाहित संचालन गर्दै आएको छ ।

७ फ्रेन्चाइज टिमको सहभागितामा जारी प्रतियोगितामा अहिलेसम्म १३ वटा खेल सम्पन्न भएको छ र प्राय सबै खेलमा आलोचनाको सिकारमा परेका छन् खेल खेलाउने रेफ्री ।

प्राय प्रत्येक खेलपछि आयोजना हुने प्रेस कन्फरेन्समा हार्ने टिमका प्रशिक्षकले रेफ्रीकै गतल निर्णय हारको कारक भएको भन्न छुटाएका छैनन् । मानौ, रेफ्रीले नै सो टिमका लागि गोल गर्नुपर्ने कर्तव्य निर्वाह गर्नुपर्ने हो ।

नेपाली प्रशिक्षकको मात्र नियत यो देखिएन, भारतबाट सुपर लिगमा प्रशिक्षक बनेर नेपाल आएका यान लले त नेपाली रेफ्रीको स्तर माथि नै ठूलो प्रश्न चिन्ह खडा गर्ने अभिव्यक्ति नै दिन भ्याइसके ।

यानको प्रशिक्षकत्वमा खेलिरहेको बिराटनगर सिटीले गत शनिबार प्रतिगोगिता अन्तर्गत आफ्नो दोस्रो खेल बुटवल लुम्बिनी एफसीसँग २-२ गोलको बराबरी खलेको थियो ।

सो खेलको निर्धारित ९० मिनटसम्म बुटवल लुम्बिनी २-१ ले अघि रहेको थियो । त्यसपछि खेलमा ७ मिनटको इन्जुरी समय थप गरिएको थियो । इन्जुरी समयको दोस्रो मिनटमा बिराटनगरका स्ट्राइकर सुनिल खड्कालाई बुटवलका डिफेन्डर रवी थापा मगरले फाउल गरेको भन्दै रेफ्री प्रज्वल क्षेत्रीले फ्रि–किक दिए ।

इन्जुरी सयमको दोस्रो मिनटमा मैदानको बायातर्फ २५ यार्डमा पाएको उक्त फ्रि-किक लाई सन्तोष तामाङको क्रसको मद्धतमा सुनिल खड्काले गोल गरेपछि खेल २-२ गोलको बराबरीमा सकिएको थियो ।

बिराटनगरका प्रशिक्षक यान ल

यस खेलपछिको प्रेस कन्फरेन्समा बिराटनगरका प्रशिक्षक यान लले रेफ्रीको उक्त निर्णय उपयुक्त नभएको बताएका थिए भने उनले समग्र नेपाली फिफा रेफ्रीको क्षमताप्रति नै आलोचना हुनेगरि नेपाली रेफ्रीको अवश्था यस्तै नै रहिरने हो भने नेपाली फुटबलको विकासमै बाधक बन्ने अभिव्यक्ति समेत दिएका थिए ।

यसै नतिजाको विषयलाई लिएर फिजिकल कन्ट्याक बिनै रेफ्रीले उक्त फ्रि-किक दिएको भन्दै खेल पश्चात् पोष्ट म्यान कन्फ्रेन्सका क्रममा बुटवलका प्रशिक्षक सनोज श्रेष्ठले असन्तुष्टि व्यक्त गरेका थिए ।

धेरै अनुभवी भनिएका नेपाली रेफ्रीहरुप्रति नै यसरी आलोचना भइरहँदा रेफ्री संघका अध्यक्ष बुद्धि गुरुङ्ग ती आलोचनाहरु उपयुक्त नभएको बताउँछन् । आफु अनुकुल नतिजा नआउँदा रेफ्रीको निर्णयलाई दोष दिने नेपाली फुटबलमा प्रबृत्तिनै बनेको अध्यक्ष गुरुङ बताउँछन् ।

के नेपाली फिफा रेफ्री साच्चै नै निम्न स्तरीय हुन्, के नेपाली रेफ्रीले फुटबल खेलाउनै नजानेका हुन् त ? भन्ने मेरोखेल डटकमको प्रश्नमा गुरुङ भन्छन्,‘यदि ती रेफ्रीहरुमा रेफ्रीका लागि आवश्यक क्षमता नै थिएन, फुटबल बुझेका थिएनन् र फुटबल खेलाउन जान्दैनन् थिए भने फिफा रेफ्री ब्याच कसरी प्राप्त गर्थे, हचुवाको भरमा म रेफ्री ‘हुँ’ भनेर मैदानमा गएर खेल खेलाउने त पक्कै पनि होइन, होला कहिले काँही रेफ्रीको तर्फबाट पनि गल्ती हुन्छ त्यो म मान्छु । तर, जारी लिगमा परिचालित रेफ्रीहरु निम्न स्तरीय भए र उनीहरुले फुटबल नै खेलाउन जानेनन् भन्ने कुरा म मान्दिन । आफु अनुकुल नतिजा आए मेरो टिमले राम्रो खेल्यो भन्ने र आफु अनुकुल नतिजा आएन भने रेफ्रीले गल्ती गर्यो भनेर त हुँदैन नी ।’

रेफ्रि संघका अध्यक्ष बुद्धि गुरुङ्ग

यस्तै नेपाली खेलकुदमा जुन पक्षको मिडियामा पहुँच राम्रो छ, जो धेरै मिडियामा आउँछन् त्यो पक्ष सधैं सहि हुने मानसिकता रहेको समेत गुरुङ्ग बताउँछन् । ‘नेपालमा मिडियामा जस्को पहुँच राम्रो छ, जुन पक्ष मिडियामा धेरै आउँछन् त्यो पक्ष सधैं सहि हुन्छ भन्ने नेपाली खेलकुद मानसिकता रहेको छ, वास्तविकता त्यो होइन, गुरुङ्गले भने, ‘फुटबलमै पनि अन्य पक्षको तुलनामा रेफ्रीहरु कमै मात्रामा मिडियामा आउने गर्छन्, त्यो भन्दैमा सँधै रेफ्रीकै मात्र गल्ति हुन्छ भन्ने हुँदैन, प्रशिक्षक र खेलाडीले पनि खेल अवधिभर आफ्नो नियममा बस्नुपर्ने हुन्छ उनीहरुले पनि के गर्न हुने र के गर्न नहुने विषयमा ध्यान पुर्याउनुपर्छ ।’

यदि रेफ्रीको तर्फबाट साच्चै नै गल्ती भएको हो भने त्यस्ता रेफ्रीलाई संघले कारबाही गर्ने समेत गुरुङले बताए । जारी एनएसएलमा सबै फिफा रेफ्री ब्याच प्राप्त रेफ्रीहरु प्रयोग गरिएको भन्दै गुरुङ्गले भने जारी लिगका खेलहरुमा रेफ्री संघले पनि निगरानी गरिरहेको छ, यदि रेफ्रीको पक्षबाट साँच्चै नै गल्ती भएको खण्डमा हामी त्यस्ता रेफ्रीलाई फिफा ब्याचबाट बञ्चित गर्ने देखी लिएर संघको नियम अनुसारको कारबारीको प्रक्रिया अवश्य अघि बढाउने छौं । तर, अहिलेसम्म कुनै पनि रेफ्रीले त्यो प्रकारको गल्ती गरेको छ जस्तो मलाई लाग्दैन ।’ गुरुङ्गले अन्त्यमा थपे ।

(तस्विर सौजन्यः एनएसएल)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :