भाग्य नै रहेनछ भनेर चित्त बुझाउने छुः गोपीचन्द्र पार्की

लक्ष्मी शाक्य

काठमाडौं । नेपाली युवा धावक गोपीचन्द्र पार्की विगत छ महिना देखी निरन्तर दौडमै व्यस्त छन् । बिहानी पख दौडबाट शुरु हुने उनको दैनिकी दौडमै अन्त्य हुँदै आएको छ, प्राय ।

गोपीचन्द्रले विगत ६ महिना यता दैनिक ९ घण्टाको समय दौडेमै बिताउँदै आएका छन् । उनी बिहान, दिउँसो तथा अपरान्ह दौडमै व्यस्त रहन्छन् । यसो त उनी ६ महिना पहिले दौडबाट टाढा थिएन भन्ने होइन ।

गोपीचन्द्रको दैनिक ९ घण्टाको दौड, यो कठिन मिहिनेत जति पनि छ, सबै आगामी जुलाईमा जापानमा आयोजना हुने टोकियो ओलम्पिकको तयारी हो । खेलाडी जीवनमा ओलम्पिक यात्रालाई एक अविस्मरणीय साथै निकै नै मूल्यवान क्षणको रुपममा लिइने गरिन्छ, हर खेलाडीले ओलम्पिकमा सहभागि हुने सपना बोकेका हुन्छन् । तर, सबै खेलाडीको ओलम्पिक खेल्ने सपना भने पुरा हुँदैन ।

ओलम्पिकसमम्को यात्रा तय गर्नका लागि खेलाडीको मिहिनेत मात्र नभइ त्याग,तपस्या र थोरै भाग्यको पनि साथ चाहिन्छ । त्यसैले त ओलम्पिकको भब्य माहौलमा उब्भिन पाउने खेलाडीले आफूलाइ जिन्दगी जितेको भाग्यमानी महसुस गर्छन् ।

आगामी जुलाईमा जापानमा हुने टोकियो ओलम्पिक २०२१ का लागि ‘युनिभर्सियालीटी’ माध्यमबाट छनौट भएसँगै गोपीचन्द्र पनि भाग्यमानी खेलाडीहरुको सूचीमा गनिदै आएका छन् । गत वर्ष मंसिरमा नेपालगन्जमा सम्पन्न नेपालगन्ज म्याराथनको उपाधि जितेसँगै गोपीचन्द्रको ओलम्पिकको ढोका खुलेको हो ।

ओलम्पिक छनौटको माध्यम बनाइएको उक्त नेपालगञ्ज म्यारथन जितेपछि गोपीचन्द्र ओलम्पिकका लागि छानिएका थिए। नेपालमा सम्पन्न १३औं दक्षिण एशियाली खेलकुदमा ५ हजार मिटर दुरीको दौडमा स्वर्ण पदक जितेका गोपीचन्द्रले नेपालगञ्ज म्याराथनको निर्धारित दूरी २ घण्टा १८ मिनेट ५९ सेकेन्डमा पूरा गर्न सफल भएका थिए । यो नेपालमा भएका म्याराथनमध्ये कुनै पनि खेलाडीले दौड पूरा गर्न लगाएको छोटो समय मध्ये हो ।

१३ औं दक्षिण एशियाली खेलकुद (साग) पछि गोपीले नेपालको विभिन्न स्थानमा आयोजना भएका चार वटा म्याराथनमा सहागिता जनाएन मात्र सबैमा उपाधि आफ्नो नाममा दर्ता गराए । यो सबै उनको मिहिनेतको फल हो । २०७२ सालमा प्रधानसेनापति कप दौड जितेपछि लगातार विभिन्न प्रतियोगितामा सहभागि बन्दै उपाधि जित्दै आएका गोपीको अबको सपना भनेकै ओलम्पिक खेल्नु हो ।

ओलम्पिककै लागि गोपीचन्द्र अहिले कोरोनाको कहर पनि नभनि काठमाडौं स्वयम्भुस्थित एपीएफको हेडक्वार्टरमा निरन्तर अभ्यास गर्दै आएका छन् । ओलम्पिकका लागि छनौट भएसँगै गोपीचन्द्रले नेपाल ओलम्पिक कमिटी (एनओसी) को पहलमा जापानमै तीन महिना सम्म अभ्यासका लागि छात्रवृति समेत पाएका थिए । तर, बिडम्बना कोरोनाको दोस्रो लहरको प्रभाव बढेसँगै जापान सरकारमार्फत अन्तराष्ट्रिय भिषामा रोक लगाइयो र गोपी अभ्यासका लागि जापान जान पाएनन् ।

‘ओलम्पिकका लागि छनौट भएसँगै मैले जापानमै ओलम्पिकको तयारी स्वरुप अभ्यास गर्नका लागि छात्रवृति पाएको थिए, तर पछिल्लो पटकको दोस्रो लहरको कोरोनाको कारण जापान जान पाइन, गोपीले भने, ‘कोरोना बाधक बन्दिदा जापान जाने, बाहिरी मुलुकको खेलकुद माहोललाई बुझ्ने र आफुमा भएको कमजोरीलाई सुधार गर्ने अवसरको सदुपयोग गर्न पाइन । यसबाट ओलम्पिकमा मेरो प्रदर्शनमा केहि प्रभाव पर्ने पो हो की भन्ने म आफुलाई पनि महसुस अवश्य भएको छ ।’

यदि अभ्यासका लागि गोपी जापान जान पाईदिएको भए उनले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) को नेत्तृत्वमा डाइटिङ्ग देखी लिएर सम्पूर्ण पक्षमा सुविधायुक्त रुपमा अभ्यास गर्ने अवसर पाउने थिए र उनले आफूलाई त्यहि अनरुप तयारी अवस्थामा राख्थे । तर, जापान जान नपाए पनि आफ्नो अभ्यासमा कुनै कमि नराखेको गोपीचन्द्र बताउँछन् ।

‘अभ्यासका लागि जापान जान पाइदिएको भए, डाइटिङ्ग देखी सबै कुराको ब्यवस्था आईओसी मार्फत नै हुन्थ्यो, गोपीले भने,‘नेपालमा सिमित डाइटमै अभ्यास गर्दै आएको छु, नेपाल ओम्पिक कमिटिले पनि सकेको सहयोग गर्दै आएको छ र मैले आफ्नो व्यक्तिगत रुपमा पनि खर्च गरेर अभ्यासका लागि आवश्यक सामाग्रीको जोहो गरेको छु ।’

गोपीको ओलम्पिक तयारीका लागि नेपाल ओलम्पिक कमिटिले हाल मासिक डाइटिङ देखी लिएर समग्र खर्च स्वरुप मासिक ३० हजार पार्कीलाई उपलब्ध गराउँदै आएको छ । तर, गोपीको ओलम्पिक तयारीका लागि त्यति रकम प्रयाप्त भने पक्कै छैन । खेलुकद क्षेत्र अझै पनि नेपाल सरकारको प्राथमिकता पर्न नसक्नुका कारण पनि नेपाली खेलाडीरुले यस्ता समस्या भोग्दै आउन बाध्य भएका छन् । तर, पनि गोपी आफ्नो तर्फबाट शतप्रतिशत दिएर अभ्यासमा लागेकोले नजिता राम्रै आउने विश्वासमा रहेको बताउँछन् ।

ओलम्पिक मैदानमा गोपीको लक्ष्यः

सागमा स्वर्णको सपना पुरा गरेका पार्कीले ओलम्पिकमा कीर्तिमान राख्ने सपना बुनेका छन् । पहिलो पटक ओलम्पिकमा सहभागि हुने तयारी गरिरहँदा गोपीचन्द्रको यसपटक ओलम्पिकमा ४२ दशमलब १९५ किलोमिटर दुरीको दौड कम्तीमा २ घण्टा १४ मिनट अवधिभित्र सम्पन्न गरी किर्तिमानी धावक बैकुण्ठ मानन्धरको रेकर्ड तोड्ने रहेको छ ।

ओलम्पिकमा नेपालका तर्फबाट सबैभन्दा बढी ४ पटक ओलम्पिकमा सहभागिता जनाएका धावक बैकुण्ठ मानन्धरले सन् १९८७ मा भएको ओलम्पिकमा निर्धारित दुरी २ घण्टा १५ मिनेट ३ सेकेण्डमा पुरा गर्दै राष्ट्रिय किर्तिमान राखेका थिए । मानन्धरको नाममा रहेको ३५ वर्षे इतिहास दक्षिण एशियामा हालसम्म कसैले तोड्न सकेको छैन ।

नेपालबाट अहिलेसम्म म्याराथनमा सहभागी भएका खेलाडीहरुले भन्दा आफूले निरन्तर मिहिनेत गर्दै आएको र सकेसम्म ओलम्पिकको ताज पहिरिने नै लक्ष्य छ । यदि त्यो नसकेको खण्डमा मानन्धरको रेकर्ड भने जुनसुकै हालतमा तोड्ने गोपीचन्द्र बताउँछन् । नयाँ भेरियन्टको कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहरको प्रभावले नेपाल मात्र नभई अहिले विश्वका अधिकांश मुलुकलाई आक्रान्त पारेको छ ।

दोस्रो लहरको कोरोनाको प्रभावबाट जापान पनि अछुतो रहन सकेको छैन । कोरोना महामारीको दोस्रो लहरका कारण जापानमा हाल टोकियो र देशका अन्य शहरहरुमा लकडआउन जारी छ । पुर्व निर्धारित तालिका अनुसार मंगलबार समाप्त हुने भनिएको लकडआउनमा कोरोनाको प्रभाव ज्युँको त्युँ रहेपछि जापानले जारी लकडाउनलाई ३१ मे सम्मका लागि लम्ब्याउने जनाइसकेको छ ।

जुलाई २३ देखि अगष्ट ८ तारिख सम्म ओलम्पिक सञ्चालन हुने स्थल नै कोरोनाबाट नराम्ररी थलिएको अवस्थामा ओलम्पिक नै स्थगित हुने विषयले अहिले निकै नै चर्चा पाउन थालेको छ । कोरोनाले थप विकराल रुप लिदैं जाने हो भने ओलम्पिक तोकिएको मितिमा संचालन नहुने लगभग निश्चित जस्तै छ । ओलम्पिक यो वर्ष पनि स्थगित भएको खण्डमा अब ओलम्पिक एकैपटक सन् २०२४ का लागि सर्नेछ । २०२० मै हुने भनिएको ओलम्पिक गत वर्ष पनि कोरोनाकै कारण स्थगित भएको थियो ।

यदि ओलम्पिक स्थगित हुने स्थित आएमा आईओसी, जापान र समग्र खेलाडीहरुले कयौं घाटा ब्यहोर्नुपर्ने निश्चित छ । तर, जापान भने अहिलेसम्म ओलम्पिकलाई तोकिएकै मितिमा संचालन गर्ने पक्षमा रहि आएको छ । जापानले आयोजकको हिसाबले गर्नुपर्ने तयारी पनि त्यहि अनुरुप अघि बढाउँदै आएको छ । कोरोनाले थप विकराल रुप लिदैं गयो भने आईओसी यो पटक पनि ओलम्पिक स्थगित गर्न बाध्य हुनेछ ।

ओलम्पिक स्थगित हुने विषयमा के भन्छन् त गोपीचन्द्र ?

नेपालमा कैयौं खेलाडीले क्षमता हुँदा हुँदै पनि राजनीतिक चलखेलका कारण अवसरबाट बञ्तिच बन्दै आएको धेरै उदाहरण सम्झिदै गापीले आफु ओलम्पिकको लागि छनौट हुन पाउनु नै सबैभन्दा ठूलो कुरो रहेको बताए ।

‘नेपाली खेलाडीको हिसाबमा ओलम्पिकका लागि छनौट हुनु नै खेलेर उपाधि जिते सरह छ, ओलम्पिक सहभागिताका लागि छनौट हुने सौभाग्य मैले पाएँ । सो अवसरलाई सार्थक रुप दिनकै लागि म निरन्तर दिन रात नभनि अभ्यासमै लागि परेको छु, यति गर्दा गर्दै पनि कोरोनाका कारण ओलम्पिक स्थगित भयो र मैले ओलम्पिक खेल्न पाइन भने ओलम्पिक खेल्ने मेरो भाग्यमै रहेनछ भनेर चित्त बुझाउनेछु ’,गोपीले निराशापूर्ण भावमा भने ।

ओलम्पिकका लागि नेपालको तर्फबाट एथ्लेटिक्सबाट गोपीसहित ‘युनिभर्सियालीटी’ का आधारमा तीन खेलाडी छनौट भइसकेका छन् । जसमा स्विमिङ्गबाट गौरिका सिंह र एलेक्स शाह रहेका छन् । यि तिनै जना खेलाडी ओलम्पिकमा सहभागि हुने निश्चित भइसकेको छ । सोहि अनुसार तयारी पनि गर्दै आएका छन् । यस्तै नेपालबाट विभिन्न खेलबाट वाइल्ड कार्ड हुँदै ओलम्पिकमा सहभागि हुने चाहनासहित अन्य १२ खेलाडी पनि अभ्यासमै छन् ।

ओलम्पिकका लागि नेपालबाट वाइल्ड कार्डका लागि तयारीमा रहेका १२ खेलाडीमा करातेका अनु अधिकारी र नविन रसाइली, तेक्वान्दोका विर बहादुर महरा,सुटिङ्गका सुष्मिता नेपाल र कल्पना परियार, आर्चरीका ज्ञानु अवाले र तिलक पुन मगर, जुडोका ईन्द्र श्रेष्ठ र सोनिया भट्ट, वेट लिफ्टिङ्गका सानु चौधरी र कमला श्रेष्ठ तथा बक्सिङ्गकी मिनु गुरुङ्ग रहेका छन् ।

नेपाल ओलम्पिक कमिटिको सहकार्यमा यी १२ खेलाडी निरन्तर अभ्यासमै रहि आएका छन् । नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्र राज श्रेष्ठका अनुसार वाइल्ड कार्ड मार्फत ओलम्पिकमा सहभागिता जनाउन आर्चरीका दुई जना खेलाडी ज्ञानु अवाले र तिलक पुन मगर यति बेला पोखरा रंगशालामा नै प्रशिक्षणमा व्यस्त छन् ।

यस्तै स्विमिङ्गको प्रशिक्षण झम्सिखेल स्थित लिंकन स्कूल, कराँते र शुटिङ्गको सातदोबाटोमा र जुडोको प्रशिक्षण प्रहरी प्रशिक्षण केन्द्र महाराजगञ्जमा सञ्चालन भइरहेको छ ।

वाइल्ड कार्ड मार्फत ओलम्पिकमा सहगागी हुने खेलाडीको टुङ्गो आगामी जुन अन्तिम सम्ममा लाग्ने एनओसीले बताउँदै आएको । सोहि अनुसार खेलाडीलाई कोरोनाको भ्याक्सिन लगाउने, जीवन विमा गर्ने लगायत अन्य जतिपनि प्राविधिक कामहरु छ कतिपय काम सकाईसकेको र बाँकी काम हुने अन्तिम तयारीमा रहेकोे महासचिव श्रेष्ठले बताए ।

यसरी सबै पक्षबाट ओलम्पिकका लागि तयारी अघि बढिरहँदा कोरोनाका कारण ओलम्पिक हुने नहुने पक्षमा अन्यौलता थपिदै जादाँ आयोजक, खेलाडी र सम्बन्धित सम्पूर्ण व्यक्तिको लागि चिन्ताको विषय अवश्य बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :