ब्याडमिन्टन छाँडेर क्रिकेट खेल्न थालेकी ज्योती

लक्ष्मी शाक्य

काठमाण्डौं । सन् २००७ मा मलेसियामा आयोजना भएको ‘एसियन क्रिकेट काउन्सिल महिला’ प्रतियोगिताबाट नेपाली महिला क्रिकेट टिमले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न शुरु गरेको हो ।

पहिलो प्रतियोगितामा नै फाइनलसम्मको यात्रा तय गर्नु सहज पक्कै थिएन । तर, नेपाल सो प्रतियोगितामा उप–विजेता बन्दै अन्तर्राष्ट्रिय महिला क्रिकेटमा आफ्नो नाम चिनाउन सफल बनेको थियो ।

नेपालले अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्न सुरु गरेको एक बर्षपछि सन् २००८ मा महिला क्रिकेट टोलीले अर्को सफलता हात पार्यो । नेरी थापाको कप्तानीमा नेपाली यु–१९ महिला टोलीले थाइल्याण्डमा सम्पन्न एसीसी यु–१९ महिला च्याम्पियनशिपको उपाधि जित्न सफल बन्यो ।

त्यस्तै सन् २०१० मा सम्पन्न एसीसी यु–१९ महिला च्याम्पियनशिप, सन् २०१२ को महिला एसिया कप, २०१४ को एसियाली खेलकुद, २०१६ को महिला विश्वकप एसियाली छनौट, महिला एसिया कप हुँदै सन् २०१७ को महिला विश्वकप एसियाली छनौट र २०१८ को एसीसी महिला कप, डेढ वर्षअघि घरेलु भुमिमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग),गत पुषमा दाङ्गको लमहीमा सम्पन्न् प्रधानमन्त्री कप महिला टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता र एक महिनाअघि मात्र सम्पन्न ललितपुर मेयर्स कप महिला टी–२० क्रिकेट प्रतियोगितासम्म आइपुग्दा नेपाली राष्ट्रिय महिला टोलिमा धेरै प्रतिभावान खेलाडीहरु जन्मीएका छन् । जस मध्येकै एक हुन, ज्योती पाण्डे ।

विराटनगर जिल्लामा जन्मिएकी पाण्डेलाई लागेको थिएन की क्रिकेट नै खेल्छु, क्रिकेटमै आफ्नो भविष्य बनाउँछु । बाल्यकाल उनले टेबल टेनिस र ब्याडमिन्टन खेलेर बिताईन् । यति मात्र होईन, ज्योतीले क्रिकेट खेल्नु पहिले टेबल टेनिस बाट राष्ट्रिय प्रतियोगिता समेत खेलिसकेकी थिईन् ।

ब्याडमिन्टनबाट राष्ट्रिय प्रतियोगिता खेलिसकेकी पाण्डेको रुची पछि क्रिकेटतर्फ मोडियो । कारण थियो उनको आफ्नै बुबा प्रदिपराज पाण्डे महिला क्रिकेट टिमको प्रशिक्षक हुनु । ज्योती त्यसपछि बुबाकै सल्लाहमा विस्तारै टेबल टेनिस छोडेर क्रिकेट खेल्न थालिन् ।

‘म पहिले ब्याडमिन्टन र टेबल टेनिस खेल्थे, मेरो बुबा महिला क्रिकेट टिमको प्रशिक्षक हुनुहुन्थ्यो, ज्योतीले भनिन्,‘बुबाले महिलाले पनि क्रिकेट खेल्न सके भविष्य राम्रो छ, तिमिलाई पनि रुची छ भने क्रिकेट खेल भन्नुभयो । त्यसपछि मैले बुबाकै प्रेरणामा अरु खेल छोडेर क्रिकेट खेल्न सुरु गरेकी थिएँ ।’

१८ वर्षको उमेरबाट क्रिकेट खेल्न सुरु गरेकी ज्योती वर्तमान समय नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी उत्कृष्ट ओपनर ब्याट्स वुमनको नामले चर्चित छिन् ।

लामो समयको प्रतिक्षपछि ज्योती नेपाली राष्ट्रिय महिला क्रिकेट टिममा परेकी थिईन् । क्रिकेट खेल्न सुरु गर्दाका ति दिनहरु सम्झदै ज्योतीले भनिन्,‘मेरो आफ्नै बुबा प्रशिक्षक भएपनि मलाई सुरुवाती दिनमा क्रिकेट खेल्न र राष्ट्रिय टिममा पर्न त्यति सहज भएन ।

सात वर्षको कठिन मेहनत र प्रतिक्षापछि मात्र मैले राष्ट्रिय टिममा स्थान पाएको थिएँ । धेरै मिहिनेत गर्दा– गर्दै पनि राष्ट्रिय टिममा पर्न नसक्दा मलाई निकै दुःख लाग्थ्यो तर पनि मैले हिम्मत हारिन, अन्त्यमा राष्ट्रिय टिममा परेर नै छोडे ।’

ज्योतीले खेलेका खेलहरु :
सन् २००९ मा राष्ट्रिय टिममा डेब्यु गरेकी ज्योतीले अन्तर्राष्ट्रिय क्रिकेटमा भने सन् २०१६ मा हङकङमा भएको महिला विश्वकप एसियाली छनौट प्रतियोगिताबाट डेब्यु गरेकी थिईन् । जुन प्रतियोगितामा उनी नेपाली ब्याटिङ्गमा दोहोरो अङ्क छुने एक मात्र खेलाडी समेत बनेकी थिईन् ।

त्यस्तै २०१६ मा थाइल्याण्डमा भएको एसियन कप क्वालिफायर, २०१७ मा थाइल्याण्डमा सम्पन्न महिला टि–२० बिश्व कप क्रिकेट एसियाली छनौट, २०१८ मा बङ्गलादेशमा भएको महिला टि–२० बिश्व कप क्रिकेट एसियाली छनौट र १३ औं साग गरी ५ वटा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकी ज्योतीले धेरै राष्ट्रिय प्रतियोगिताहरु खेली सकेकी छिन् ।

ज्योतीले २०१८ को महिला टि–२० बिश्व कप क्रिकेट एसियाली छनौटमा बङ्गलादेश विरुद्धको इनिङ अहिलेसम्कै उत्कृष्ट इनिङ लाग्ने बताईन् । ज्योतीले अहिलेसम्म खेलेको राष्ट्रिय प्रतियोगितामा पाँच अर्धशतक र एक सेन्चुरी हान्न सफल भएकी छिन् ।

सन् २०१५ मा एपीएफ क्लबमा आवद्ध भई एपीएफबाट घरेलु प्रतियोगिता खेल्दै आएकी ज्योती एपीएफकी समेत भरपर्दी ओपनर हुन् । ज्योतीले प्रधानमन्त्री कप राष्ट्रिय महिला टि–२० प्रतियोगितामा समेत एपीएफ क्लबबाटै खेलेकी थिइन् । उनकै प्रदर्शनको दममा एपीएफले समूह ए को विजेता बन्दै फाइलनसम्मको यात्रा तय गरेको थियो । साविक विजेता एपीएफ प्रतियोगिताको फाइनलमा भने प्रदेश नम्बर १ सँग ६ रनले पराजित भएको थियो ।

यस प्रतियोगितामा ज्योतीले आफ्नो टिमको लागि कर्णाली प्रदेश विरुद्धको पहिलो खेदको ३० बलका ३२ रन, प्रदेश नम्बर २ विरुद्धको दोस्रो खेलको ४० बलमा ३० रन, लुम्बिनी प्रेदश विरुद्धको तेस्रो खेलको ५४ बलमा ४९ रन खर्चिएर एपीएफलाई सेमिफाइनलमा प्रवेश गर्न सफल गराएकी ज्योतीले प्रदेश नम्बर १ सँगको फाइनल खेलमा १४ रनसहित प्रतियोगिता अवधिभर १ सय ४२ रन बनाएकी ज्योती प्रतियोगिताकै उत्कृष्ट ब्याट्सवुमन समेत घोषित भएकी थिइन् ।

यस्तै चैतमा सम्पन्न ललितपुर मेयर्स कपको उपाधि एपीएफले जित्दा समेत ज्योतीको भुमिका महत्वपूर्ण रहेको थियो । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको सो प्रतियोगिताको फाइनलमा एपीएफले सुदूरपश्चिम प्रदेशविरुद्ध आठ विकेटको जित निकाल्दै उपाधि आफ्नो पक्षमा पारेको थियो ।

एपीएफलाई उपाधि दिलाउन महत्वपूर्ण भुमिका खेलेकी ज्योतीले प्रतिगोगिताको पहिलो खेलमा प्रदेश १ बिरुद्ध ३६ र दोस्रो खेलमा सुदुरपश्चिम प्रदेशबिरुद्ध ५९ रन बनाएर खेलको प्लेयर अफ दि म्याच समेत बनेकी थिइन् ।

यस्तै प्रतियोगिताको तेस्रो खेल गुमाएकी ज्योतीले चौंथो खेलमा लुम्बिनी प्रदेशबिरुद्ध ५ रन र प्रतियोगिताको फाइनल खेलमा सुदुरपश्चिम प्रदेशबिरुद्ध ३६ रन बनाएर फाइलन खेलमा समेत प्लेयर अफ दि म्याच बनेकी थिइन् ।

कोरोना महामारीले गर्दा लामो समयपछि प्रतियोगितामा फर्किने मौका पाउँदा खेल स्तरमा सुधार हुने आशामा रहेकी ज्योतीलाई कोरोनाको दोस्रो लहरले पुनः प्रतियोगिताहरु प्रभावित हुने विषयले गत वर्ष जस्तै चिन्तित बनाएको बताउँछिन् । उनी अहिले काठमाडौंमै रहँदै आएकी छिन् ।

नेपाली महिला क्रिकेट टिम विकासका लागि के गर्नु जरुरी छ ?
नेपाली महिला क्रिकेट टिमको स्तर खस्कँदै गएको स्विकार गर्दै ज्योतीले राष्ट्रिय महिला क्रिकेट टिम सुधारको लागी वर्षमा एक दुई वटा राष्ट्रिय प्रतियोगिता पर्याप्त नहुने बताइन् ।

नेपाली महिला क्रिकेट टिम विकासका लागी नेपाल क्रिकेट संघ (क्यान) ले वर्षमा कम्तिमा पनि ४ देखी ५ वटा राष्ट्रिय प्रतियोगिता खेलाउनु पर्ने ज्योती बताउँछिन् । यस्तै धेरै भन्दा धेरै अन्तर्राष्ट्रिय प्रतियोगिताहरु खेल्ने वातावरण मिलाउने, उच्चस्तरीय र अनुभवी प्रशिक्षकको व्यवस्थापन, तलब बृद्धि, महिला क्रिकेटरलाई प्रोत्साहन र प्रचार–प्रसार लगायतका कुरामा ध्यान दिनुपर्ने ज्योतीले बताईन् ।

गत वर्ष असोज महिनाको ६ गते बसेको क्यानको बोर्ड बैठकले पहिलो पटक महिला क्रिकेटरलाई सेन्ट्रल कन्ट्रयाक्टमा राखेको थियो । चितवनमा बसेको क्यानको बोर्ड बैठकले १७ महिला क्रिकेटरलाई सेन्ट्रल कन्ट्रयाक्टमा राखेको थियो ।

महिला खेलाडीलाई तीन समुहमा वर्गिकरण गर्दै क्यानले कन्ट्रयाक्ट सुची सार्वजनिक गरेको हो । क्यानको निर्णय अनुसार खेलाडीको वर्गीकरण अनुसार ‘ए’ श्रेणीका खेलाडीले १५ हजार, ‘बी’ श्रेणीकाले १२ र ‘सी’ श्रेणीका खेलाडीले १० हजार मासिक पाउने भएका थिए ।

लामो सङ्घर्षपछि क्यानले गरेको त्यो ऐतिहासिक कार्य स्वागत योग्य भएपछि यो तलब ज्यादै न्युन रहेको भन्दै ज्योतीले महिला क्रिकेटरको तलब वृद्धि गर्नुपर्ने समेत बताईन् । आफु एपीएफ क्लबमा आवद्ध भएकोले केहि हदसम्म सहज भएको बताउँदै ज्योतीले भनिन् विभागिय टिम बारिहका राष्ट्रिय टिमका खेलाडी साथीरुहलाई क्यानले दिएको तलबले आफ्नो व्यक्तिगत खर्च धान्न निकै कठिन पर्ने र तलब बृद्धि निकै आवश्यक पार्टो रहेको उनले जिकीर गरिन् ।

बैबाहिक सम्बन्ध बारे के भन्छिन् ज्योती ?
क्रिकेट खेलबाटै आफु आत्मनिर्भर बनेको भन्दै यसका लागि एपिएफले धेरै सहयोग पुर्याएको ज्योतीले बताईन् । समयले साथ दिए सम्म अझै २ देखी ३ वर्षसम्म राष्ट्रिय टिमबाट क्रिकेट खेल्ने योजनामा रहेको ज्योती आफ्नो फिल्डलाई बुझ्ने, आगामी दिनमा खेलमा राम्रो गर्न सपोर्ट गर्ने र आफु उपयुक्त जीवन साथी भेटिएमा अब छिट्टै वैबाहिक सम्बन्धमा बाँधिने सोचमा समेत रहेकि छिन् ।

‘जीवनमा एकपटक विबाह गर्नु नै पर्छ, अब उमेर पनि भयो जस्तो लाग्छ, विवाहका लागि धेरै प्रस्तावहरु आएपनि, तर अहिलेसम्म मैले खोजेको जस्तो व्यक्ति भेटिएको छैन । उपयुक्त व्यक्ति भटिएको खण्डमा अब छिट्टै बैबाहिक सम्बन्धमा बाधिने तयारीमा छुु हेरौं के हुन्छ ’,अन्त्यमा ज्योतीले थपिन् ।’

यो पनि पढ्नुहोस् : भाग्य नै रहेनछ भनेर चित्त बुझाउने छुः गोपीचन्द्र पार्की

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :