सामाजिक सञ्जालमा नायक बनेका प्रशिक्षक अल्मुताइरीको अग्नि परिक्षा आजबाट

बिभा थापा

काठमाण्डौ । कुवेतका नागरिक अब्दुल्लाह अल्मुताइरी नेपाली राष्ट्रिय फुटबल टोलिको प्रमुख प्रशिक्षकको रुपमा नेपाल भित्रिएको २ महिना बढी भएको छैन । तर नेपाली राष्ट्रिय फुटबल टोलिका अनुभवी र सिनियर खेलाडीलाई हटाउँदै नयाँ तथा युवा खेलाडीलाइ राष्ट्रिय टोलिमा स्थान दिदैं एकाएक सामाजिक सञ्जाल मार्फत निक्कै चर्चाको पात्र बनेका छन् प्रशिक्षक अल्मुइतारी ।

उनले कोरोना महामारीका कारण निषेधाज्ञा जारी रहेकै समयमा संचालनमा आएको नेपालको पहिलो फ्रेन्चाइ फुटबल लिग नेपाल सुपर लिगमा खेलाडीले देखाएको प्रदर्शनको आधारमा नयाँ र पुराना खेलाडीको मिश्रणसहितको राष्ट्रिय टोलि घोषणा गरे । जसमा बालगोपाल महर्जनको प्रशिक्षकत्वमा केही महिनाअघि मात्र नेपालमा सम्पन्न थ्री नेशन्स् कपको उपाधि जितेका १३ जना खेलाडीलाई टोलिमै अटाएनन् ।

उनले आफ्नो पहिलोे पत्रकार सम्मेलनमा भनेका थिए,‘नेपालीहरु फुटबलको मामिलामा निक्कै पागल छन् तर म त्यो भन्दा बढी नै पागल छु ।’

उनको यो उक्ति र फिफा विश्वकप २०२२ र एशियन कप २०२३ को छनौटका लागि राष्ट्रिय टोलिको छनौटमा रातारात गरेको परिवर्तनले केही गर्न सक्नेभन्दा पनि केही गर्न खोज्ने प्रशिक्षकको ट्याग भने सामाजिक सञ्जालमार्फत फुटबल समर्थक र जानकाररुहले सजिलै भिडाइदिए ।

यतिबेला पहिलोपटक उनको नेतृत्वमा राष्ट्रिय टोलि इराकको भ्रमण सक्काएर कुवेतमा विश्वकप छनौट र एशियन कप छनौट खेल्ने संघारमा छ । तर उनले यो दुबै भ्रमणलाई खेलाडीको पहिचान र उनीहरुलाई तिखार्ने तयारी भन्दै आफूलाइ केही सहज परिस्थीतमा राखिसकेका छन् ।

उनले नेपाल आउँदै आफ्नो पहिलो प्राथमिकता यसै वर्ष बंगलादेशमा हुने भनिएको साफ च्याम्पियनसिपको उपाधि जित्नु रहेको बताएका थिए ।

नेपालले उनको नेतृत्वमा गत शनिबार अर्थात जेठ १४ गते आफूभन्दा निक्कै बलियो मानिएको इराकसँग मैत्री खेल खेल्यो जसमा नेपाल ६–२ गोल अन्तरले पराजित बन्यो । उक्त खेललाई नेपाली फुटबल समर्थक र फुटबलका जानकारहरुले नेपालको अट्याकिङ्ग लाइनले अन्य समयको भन्दा सुधारिएको प्रदर्शन गर्याे भन्दै टिप्पणी गरे । हुन पनि हो अधिकांश बलियो टोलिसाग फुटबलको मैदानमा उभिदाँ नेपालको अग्रपंक्तिले बललाई गोलमा परिणत विरलै गरेको देख्न पाइन्थ्यो ।

तर अल्मुताइरीले इराकबिरुद्धको खेलमा तीन जना स्ट्राइकर मैदानमा उतारेर अट्याकिङ्ग खेल नै अहिलेको फुटबलको शैली हो भन्ने पुष्टि गर्न खोजे र त्यसमा केही हदसम्म सफल नै रहे ।

६ जना नयाँ अनुहारसहित कुवेतमा आजबाट शुरु हुने विश्वकप छनौट र एशियन छनौटका खेलहरुमा उनको बोलिको केही हदसम्म छनकको चाँजो पाँजो आउने नआउने झल्किनेछ । आजबाट नेपालले चाइनिज ताइपेइसँग खेल्दै प्रतियोगिताको आगाज गर्नेछन् ।

यसै खेलबाट अल्मुइतारीले नेपालमा बोल्दै आएको हुंकारको गतिको मापन हुने निश्चित छ । नेपाली राष्ट्रिय फुटबल टोलिले यसै प्रतियोगिताको पहिलो चरणमा आजको प्रतिद्वन्दीको रुपमा रहेको चाइनिज ताइपेइबिरुद्धको खेलमा २–० गोल अन्तरको शानदार जित निकालेको थियो ।

उक्त जितमा अहिले अल्मुताइरीले स्ट्राइकिङ्ग लाइनमा सबैभन्दा भर गरेका अन्जन विष्टले नै दुबै गोल गरेका थिए ।

यही एक मात्र जितको अंकका कारण यतिबेला नेपाल प्रतियोगिताको अंकतालिकामा नेपाल ५ राष्ट्र सम्मिलित समूह बी मा ३ अंकसहित चौथो स्थानमा छ भने चाइनिज ताइपेइ अंकविहिन रहँदै पुछारमा छ । नेपालले पहिलो चरणमा चाइनिज ताइपेइलाई हराउँदा नेपालका प्रशिक्षकको रुपमा स्विडेनका नागरिक योहान कालिन थिए । कालिनले गत सेप्टेम्बरमा राष्ट्रिय टोलिको प्रशिक्षकको जिम्मेवारीबाट राजिनामा दिएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले कुवेती अल्मुताइरीलाई सोही पदका लागि नेपाल झिकाएको हो ।

अल्मुइतारीले भनेका छन्,‘मलाई समय र काम गर्नै वातावरण दिनुस्,म नेपाली फुटबललाई परिवर्तन गरेर देखाउँछु ।’

उनले ल्याएको ‘वान टिम वान नेपाल‘को नारा यतिबेला हरेक नेपाली फुटबल समर्थकको मथिंगलमा स्टोर भएर बसेको छ । उनको यो नाराले नेपालको फुटबलमा नयाँ आशको उज्यालो किरण छरेको छ । र यो आश लाखौं फुटबल समर्थकहरुले कपोकल्पित हुनेछैन भन्ने विश्वास लिएर बसिसकेका छन् ।

तर एउटा यथार्थ के पनि हो भने, अल्मुताइरीको आगमन पश्चात खेलाडीहरुको बडी ल्याङ्गवेृज र हाउभाउमा भने केही सकारात्मक उर्जा भने देखिएको छ । यसको पुष्टि लामो समयदेखि नेपालको टोलिमा पर्दै र खेल्दै आएका तर यसपटक भने टोलिमा नअटाएका खेलाडीले पनि अल्मुताइरसिँगको केही दिनको प्रशिक्षणमा भने आफूले केही नयाँपन र उर्जा पाएको स्विकार्नु हो ।

कोरोना महामारीको बढ्दो अवस्थामा देश नै त्राहीमान रहेको बेला पनि नेपाल जस्तो फुटबलको बामे सर्दै गरेको राष्ट्रले इराकमा पुगेर उसैलाई कहेी हदसम्म आछ्यु आछ्यु पार्नु चानचुने कुरा त थिएन । र त्यसमाथि कुनै पनि ब्यक्तिले गर्न खोजेको परिवर्तनलाई रातारात आश गर्नु पनि बेवकुफिभन्दा अरु केही हुन्न ।

आबजाट शुरु हुने विश्वकप छनौटको तीन खेलमा नेपालले ल्याउने नतिजा कै आधारमा अल्मुताइरीलाइ मुल्यांकन गर्नु त झनै ठूलो बेवकुफि हुनेछ । तर आज नेपाली खेलाडीले मैदानमा जर्सि लगाउर बिताउने ९० मिनटको शारिरिक हाउभाउ र यसअघिको नतिजा नल्याएपनि उसले दिने चुनौतिले पनि धेरै कुराको संकेत भने देखाउँनेछ । एउटा भनाइ नै छ नि ‘बिहानीको किरणले दिनको संकेत गर्छ’ ।

चाइनिज ताइपेइसँगको खेल अघि भएको भर्चुअल पत्रकार सम्मेलनमा पनि अल्मुताइरीले नेपालले जितको लागि खेल्ने बताएका थिए । हुन त सबै खेल जितकै लागि खेल्ने हो तर यसपटक उनले जित को अर्थ कुनै पनि हालतमा जित नै भन्ने अर्थ लाग्ने गरी आफ्नो अभिब्यक्ति दिएका छन् ।

सम्भवत उनमा उनको आफ्नै आत्मविश्वास त होला नै त्यसलाई थप उर्जा यसअघिको इराकसँगको खेल र पहिलो चरणमा ताइपेइबिरुद्ध निकालेको २–० गोल अन्तरको जित पनि हो ।

चाइनिज ताइपेइको टोलिमा पुराना केही खेलाडीहरु कोरोना संकटका कारण यस चरणमा सँगै नहुनु र प्रशिक्षक पनि नयाँ हुनु्ले अवश्य पनि आजको खेलमा नेपाललाई केही सहज हुने नै छ ।

बोलेर सामाजिक सञ्जाल जति तताए पनि अन्तत चाहिने त नतिजा नै हो । तसर्थ बोलिबाट नेपाली फुटबलमा आशाको राँको बालेका अल्मुताइरीको आज भने साच्चै नै अग्नि परिक्षा नै हो । यस अग्नि परिक्षमा अल्मुताइरी पास भएमा बोलिमा केही दम छ भन्ने संकेत गर्ने नै छ,होइन भने उही केही परिवर्तनको लागि समय दिनै पर्छ,कुर्नै पर्छ भन्ने र अर्काे गन्तब्यको हिडाइमा लम्कनुको विकल्प नै रहँदैन ।

जे जस्तो भएपनि लामो समयदेखि हिड्न त हिडेको तर कता र के प्राप्तिका लागि स्पष्ट नभएको नेपाली फुटबललाई अल्मुताइरीले बोलेको झै गरेर पनि देखाउनेछन् भन्ने आश अझै जिवित नै छ ।

तपाइलाई मेरोखेल डटकममा प्रकाशित भएको यो सामाग्री कस्तो लाग्यो ? कृपया तल राखिएको कमेन्ट बक्समा प्रतिक्रिया दिनुहोला ।

यो पनि पढ्नुहोस् : चाइनिज ताइपेइबिरुद्ध जित निकाल्नेछौ–प्रशिक्षक अल्मुताइरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :