युरोकप फुटबल अन्तर्गत आइतबार (आज) को अन्तिम खेलमा बलियो टिम नेदरल्याण्ड्स र युक्रेनको सामना गर्दैछ ।
जोहान क्रुजफ एरेना स्टेडियममा हुने नेदरल्याण्ड्स र युक्रेकनबीचको खेल नेपाली समयानुसार राती १२:४५ बजेबाट शुरु हुनेछ ।
नेदरल्याण्ड्स र युक्रेनबीचको यो खेल समूह सी को दोस्रो खेल हो । यस खेलमा दुवै टिम जितका साथ प्रतियोगितामा सुखद शुरुवात गर्ने योजनासहित मैदानमा प्रवेश गर्नेछ ।
समूह सी को उत्कृष्ट टिमको रुपमा हेरिएको घरेलु टोली नेदरल्याण्ड्स ७ वर्षपछि पहिलो पटक प्रतिष्ठित अर्थात् ठूलो प्रतियोगिता खेल्न लागेको हो ।
यसअघि नेदरल्याण्ड्स सन् २०१६ को युरोकप र २०१८ को विश्वकपको छनौट चरणबाट नै बाहिरीएको थियो । धेरै वर्षपछि प्रतिष्ठित प्रतियोगिता खेल्न लागेको नेदरल्यान्ड्स आजको खेल जित्दै आफ्नो पहिले कै लयमा फर्कने मनोबलमा छ ।
यता युक्रेन पनि नेदरल्याण्ड्सलाई हराएर प्रतियोगितामा सुखद शुरुवात गर्ने चाहनामा हुनेछ । यो नेदरल्याण्ड्स र युक्रेनबीचको तेस्रो खेल हुनेछ ।
यसअघि यि दुई टिमले एक आपसमा दुई खेल खेलेका छन् । सजमा नेदरल्याण्ड्सले एक जितेको छ भने एक बराबरीमा रोकिएको थियो ।
पछिल्लो पटक नेदरल्याण्ड्स र युक्रेनबीचको खेल सन् २०१० मा भएको थियो । सोहि खेल एक एक गोलको बराबरीमा सकिएको थियो ।