नेदरल्यान्ड्सको विजयी शुरुवात

नेदरल्यान्ड्सले युरोकप फुटबल अन्तर्गतको आफ्नो पहिलो खेल जित्दै प्रयितयोगितामा विजयी शुरुवात गरेको छ ।

आम्स्टरडामस्थित जोहन क्रुफ एरिना स्टेडियममा आइतबार तारी भएको समूह सी को पहिलो खेलमा युक्रेनलाई ३-२ गोल अन्तरले पराजित गर्दै नेदरल्यान्ड्सले विजयी शुरुवात गरेको हो ।

नेदरल्यान्ड्सलाई जित दिलाउने क्रममा जर्जिनियो विनाल्डम, वाउट वेगहोर्स्ट र डेन्जल डम्फ्राइजले एक एक गोल गर्दा युक्रेनको तर्फबाट एन्ड्री यार्मोलेन्को र रोमन यारेमचुकले एक एक गोल फर्काए ।

पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा नेदरल्यान्ड्सका जर्जिनियोले खेलको ५२ औं, वाउटले ५९ औं र डेन्जल ८५ औं मिनटमा गोल गरेका हुन् । यस्तै युक्रेनका एन्ड्रीले ७५ औं तथा रोमनले ७९ औं मिनटमा गोल गरेका थिए ।

यस जितसँगै महत्वपूर्ण ३ अंक जोडेको नेदरल्यान्ड्स समुहको दास्रो स्थानमा रहेको छ । समान खेलबाट ३ अंक जोडेको अष्ट्रिया गोल अन्तरमाअघि रहँदै समूह सी को शिर्ष स्थानमा रहेको छ । यता हारबाट प्रतियोगिताको शुरुवात गरेको तेस्रो स्थानमा रहेको छ ।

१६ औं संकरणको यस युरोकप सन् २०२० मै हुने भनिएपनि कोरोना महामारीका कारण एक वर्ष ढिला गरि शुरु भएको हो । यस संस्करणको युरोकप युरोपको विभिन्न देशको ११ शहरमा आयोजना हुनेछ । युरोकप शुरु भएको ६० वर्षको अवसरमा यो प्रतियोगिता धेरैवटा देशमा आयोजना गर्न लागिएको हो ।

प्रतियोगितामा सहभागी २४ राष्ट्रलाई ६ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको समूह विजेता र समूह उपविजेतासँगै तेस्रो हुनेमध्येको उत्कृष्ट चार टोलीले प्रिक्वाटरफाइनलमा प्रवेश गर्नेछन् ।

यस पटक युरोकपमा समूह चरणमा ३६ र नकआउट चरणमा १५ गरी कुल ५१ खेल हुनेछन् । प्रतियोगिताको फाइनल खेल जुलाई ११ मा लण्डनको वेम्बली स्टेडियममा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :