कोपा अमेरिकमा ब्राजिलको शानदार शुरुवात

भेनेजुएलामाथि शानदार जित निकाल्दै साविकको विजेता ब्राजिलले कोपा अमेरिका फुटबल प्रतियोगितामा विजयी शुरुवात गरेको छ ।

सोमबार बिहान भएको खेलमा उपाधि रक्षा गर्नै दाउँमा रहेको घरेलु टोलि ब्राजिलले भेनेजुएलालाई ३ ० गोल अन्तरले पराजित गरेको हो ।

उसको जितमा मार्किन्होस्,नेयमार र बार्बाेसा अल्मेडाले एक एक गोल गरे ।

खेलको २३औं मिनटमा डिफेन्डर मार्किन्होसले कर्नर किकलाई गोलमा परिणत गर्दै ब्राजिलका लागि शुरुवाती अग्रता दिलाएका थिए ।

पहिलो हाफमा एक गोलको अग्रता लिएको ब्राजिलले दोश्रो हाफमा थप दुई गोल गरेको थियो ।

खेलको ६४औं मिनटमा भेनेजुएलाका योहान कुमानाले डानिलोलाई फाउल गर्दा ब्राजिलले पेनल्टीको अवसर प्राप्त गर्याे । यस अवसरलाई नेयमारले सदुपयोग गर्दै ब्राजिललाई २ ० गोलको अग्रता दिलाए ।

यो नेयमारको ६७औं अन्तराष्ट्रिय गोल हो । उनी ब्राजिलका लिजेण्ड पेलेभन्दा अन्तराष्ट्रिय गोल संख्यामा अब जम्मा १० गोल पर रहेका छन् ।

यसपछि खेलको निर्धारित समय सक्किन एक मिनट मात्र बाँकी रहँदा नेयमारको पासमा बार्बाेसाले गोल गर्दै ब्राजिललाई भेनेजुएलमाथि ३ ० गोल अन्तरको जित दिलाए ।

जितसँगै समूह ए मा रहेको ब्राजिल ३ अंक जोड्दै शिर्षमा रहेको छ भने उद्घाटन खेलअघि खेलाडी र स्टाफ गरी १२ जनामा कोरोना संक्रमण देखिएको भेनेजुएला समूह एको पाँचौमा रहेको छ ।

यस समूहमा यी दुई राष्ट्रसँगै कोलम्बिया,इक्वेडोर र पेरु रहेका छन् ।

ब्राजिलले १२ वर्षको अवधि पछि सन् २०१९ मा कोपा अमेरिकाको उपाधि जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :