एशियन च्याम्पियनसिप भलिबलका लागि नेपालको प्रशिक्षण भोलीबाट

लक्ष्मी शाक्य

काठमाडौं । नेपाली राष्ट्रिय भहिला भलिबल टिमको प्रशिक्षण असार १ गते (भोली) बाट शुरु हुने भएको छ ।

नेपाल भलिबल संघ (एनभीए) का उपाध्यक्ष तथा राष्ट्रिय टिम व्यवस्थापक निरोज मास्केले राष्ट्रिय टिमको प्रशिक्षण मंगलबार (भोली) बाट शुरु हुने जानकारी गराएकी हुन् ।

नेपाली टिमले आगामी अगष्ट २९ देखि सेप्टेम्बर ५ तारिख अर्थात् भाद्र १३ गते देखि २० गतेसम्म फिलिपिन्समा आयोजना हुने एशियन सिनियर महिला भलिबल च्याम्पियनसिपको तयारीका लागि प्रशिक्षण गर्न लागेको हो ।

यसअघि गत जेठ २१ गतेबाट शुरु हुने भनिएको प्रशिक्षण काठमाडौंमा जारी निषेधाज्ञाका कारण बन्द प्रशिक्षणमा बोलाइएका १५ भन्दा बढि खेलाडी उपत्यका बाहिर रहेका कारण प्रशिक्षण एक साताका लागि स्थगित गरिएको थियो ।

यो एक साताको अवधिमा उपत्यका बाहिर भएका खेलाडी काठमाडौंमा झिकाएर एनभीएले प्रशिक्षण शुरु गर्न लागेको हो । एनभिएले बन्द प्रशिक्षणका लागि ३० खेलाडीलाई बोलाएको छ ।

‘कोरोनाको दोस्रो लहरसँगै सरकारले जारी गरेको निषेधाज्ञाका कारण बन्द प्रशिक्षणमा बोलाइएका अधिकांश खेलाडी उपत्यका बाहिर थिए, त्यसैले प्रशिक्षण एक साताका लागि स्थगित गरेका थियौं, अब प्राय सबै खेलाडी उपत्यका आइसकेका छन्, टिम व्यवस्थापक मास्केले भनिन्,‘केहि खेलाडीको कोरोना परिक्षणको रिपोर्ट आइसेकेको छ, बाँकी खेलाडीको परिक्षण आज हुनेछ र रिपोर्ट साँझसम्ममा आइसक्न्नेछ।’

मास्केले अहिलेसम्म कोरोना परिक्षण गरिएको सम्पूर्ण खेलाडीको रिपोर्ट नेगेटिभ आएको समेत जानकारी गराइन् । एनभीएले प्रशिक्षणका लागि खेलाडी लगायत सम्बन्धीत व्यक्तिको कोरोना परिक्षणका साथ साथै प्रशिक्षण स्थल त्रिपुरेश्वस्थित दशरथ रंगशालामा भएको कभर्डहलमा स्यानिटाइजिङको काम समेत सम्पन्न गरिसकेको मास्केले बताइन् ।

‘प्रशिक्षणका लागि खेलाडी लगायत सम्बन्धीत सबैको कोरोना परिक्षणसँगै हामीले कभर्डहलमा स्यानिटाइजिङको काम समेत पुरा गरिसकेका छौं, मास्केले भनिन्,‘कभर्ड हलमा अब म्याट ओछ्याउने काम बाँकी छ त्यो आज दिउँसो सम्ममा सकिनेछ। ’

सम्पूर्ण खेलाडीको पिसीआर परिक्षणको रिपोर्ट आएपछि खेलाडीलाई मंगलबारबाट त्रिपुरेश्वरस्थित युनाइटेड विजनेश होटलमा राखेर प्रशिक्षण गराउने तयारी एनभीएले गरेको संघकी उपाध्यक्ष तथा टिम व्यवस्थापक मास्केले मेरोखेल डटकमलाई बताइन् ।

प्रशिक्षणका लागि एनभीएको तयारी अन्तिम चरणमा पुग्दा राष्ट्रिय टिमका मुख्य प्रशिक्षक जगदिश भट्ट भने यतिखेर उपत्यका बाहिर महेन्द्रनगरमा छन् । संघको जेठ १४ गते बसेको भर्चुअल बोर्ड बैठकले टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी भट्ट र ट्रेनरको जिम्मेवारी अन्जु श्रेष्ठलाई दिएको थियो । यसैगरी टिमको व्यवस्थापकको जिम्मेवारी संघका उपाध्यक्ष समेत रहेकी निरोज मास्के दिएको थियो।

करिब एक महिनाअघि गृहनगर महेन्द्रनगर गएका प्रशिक्षक भट्ट निषेधाज्ञाकै कारण महेन्द्र नगरमा रोकिएको र उनी अबको केहि दिनमा काठमाडौंमा आइपुग्ने मास्केले बताइन् । मुख्य प्रशिक्षक भट्ट काठमाडौं आउनुअघि केहि दिन राष्ट्रिय टिमले भलिबल संघकी ट्रेनर अन्जु श्रेष्ठ र न्यु डायमण्ड एकेडेमीका भलिबल प्रशिक्षक कुमार राईको नेतृत्वमा प्रशिक्षण गर्ने समेत सामस्केले जानकारी गराइन् ।

एनभीएले गत चैतमा काठमाण्डौमा सम्पन्न पाँचौं संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपका आधारमा उत्कुष्ट ३० खेलाडीलाई प्रशिक्षणमा बोलाएको छ ।

एनभीएले प्रशिक्षणमा बोलाइएका खेलाडीमा विभागिय टिमको बाहुल्यता रहेको छ। जसमा तीन विभागिय टिम त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्लबबाट २२ खेलाडी बन्द प्रशिक्षणमा छनौट हुँदा न्यु डायमण्डका ७ र भरतपुर मेट्रो खेलकुद परिषद्का १ खेलाडीले राष्ट्रि टिमको बन्द प्रशिक्षणमा स्थान बताएका छन्।

न्यु डायमण्ड स्पोर्ट्स क्लबबाट रिमा कुवँर, रिया कुँवर,झरना श्रेष्ठ र बाल्मिका आचार्य पहिलो पटक बन्द प्रशिक्षणमा परेका छन् । यस्तै एनभीएले ५ खेलाडीलाई वैकल्पिक खेलाडीको रुपमा राखेको छ ।

संघले बैकल्पिकमा रोखेको खेरुलाडीमा नेपाल पुलिसकी पुष्पा चौधरी,डायमण्डकी प्रगती नाथ, भरतपुर मेट्रोबाट आरती सुवेदी र निशा चौधरी तथा ढोरपाटनकी पुष्पा शाही रहेका छन् ।

बन्द प्रशिक्षणमा बोलाइएका ३० खेलाडीः

आर्मी क्लब: सरस्वती जैसी, सुनिता खड्का, कृपा अधिकारी, सोफिया पुन, संगम महतो, जानकी भण्डारी, शान्ति थारु, सृष्टि खड्का

न्यु डायमण्ड: प्रतिभा माली, अरुणा शाही, रिया कुवँर, झरना श्रेष्ठ, सलिन श्रेष्ठ, बाल्मिका आचार्य, रिमा कुँवर

नेपाल पुलिस: मनिषा चौधरी, कमला पुन, पुनम चन्द, शान्तिकला तामाङ, लक्ष्मी चन्द, कामना बिष्ट, उषा भण्डारी

एपीएफ: सरस्वती चौधरी, रेश्मा भण्डारी, हिरा केसी, निरुता ठगुन्ना, उषा कुमारी बिष्ट, कविता भट्ट, पुजा चौधरी

भरतपुर: सरस्वती कट्टेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :