परिवर्तित सोचमा राष्ट्रिय महिला भलिबल टिम र ‘गज्जबका राई’

लक्ष्मी शाक्य

काठमाण्डौं । नेपाली राष्ट्रिय महिला भलिबल टोलि करिब डेढ वर्षको अवधिपछि पहिलोपटक विधिवत रुपमा राष्ट्रिय टोलिको प्रशिक्षणमा पुन मंगलबार फर्किएको छ । गएको डेढ वर्षलाई एकपटक फर्किएर हेर्ने हो भने नेपाली महिला राष्ट्रिय टोलिको प्रदर्शन निक्कै गर्विलो रहेको छ ।

२०७६ कार्तिक २८ गते बंगलादेशको ढाकामा सम्पन्न प्रथम एशियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराएर उपाधि जित्दै नेपालको भलिबल इतिहासमा ऐतिहासिक स्वर्ण अक्षर लेखाउन सफल भएका थिए । यसअघि नेपाली महिला भलिबल टोलिले दक्षिण एशियाली क्षेत्रको राष्ट्रहरुको ओलम्पिक मानिने सन् १९९९ मा भएको साग खेलकुदमा कास्य पदक,२००६ मा श्रीलंकामा भएको प्रतियोगितामा कास्य,२०१० मा बंगलादेशमा रजत र २०१६ मा भारतमा भएको सागमा कास्य पदकमा चित्त बुझाउँदै आएको थियो ।

यसबिचमा नेपालको महिला टोलिले सन् २०१४ मा नेपालमै आयोजना भएकोे दक्षिण एशियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसिपमा जत पदक जितेको थियो ।

करिब ६० वर्ष लामो इतिहास बोकेको भलिबलमा नेपालको महिला टोलिले अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन लागेको २२ वर्षमात्र भएको छ । यसबिचमा पुरुष टोलिले अहिलेसम्म एउटा पनि अन्तराष्ट्रिय उपाधि चुम्ने अवसर प्राप्त गरेको छैन ।

सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको उपाधि जितेको महिना दिन पनि नबित्दै सोही महिला टोलिले नेपालमा २०७६ को मंसिरमा आयोजना भएको दक्षिण एशियाली खेलकुद (साग) मा रजत पदक जित्यो । तर उक्त रजत पदक नेपाली भलिबल समर्थक र प्रेमिका निम्ति स्वर्ण पदक झै थियो । कारण थियो नेपाली महिला भलिबल टोलिले घरेलु दर्शक सामु प्रदर्शन गरेको उच्च स्तरीय भलिबल खेलको प्रदर्शन ।

र ठिक डेढ वर्षपछि सोही टोलि पुनः अर्काे एक महत्वपूर्ण र ठूलो प्रतियोगिता एशियन च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यसहित तयारीका निम्ति प्रशिक्षणमा उत्रिएको छ । तर यसपटक राष्ट्रिय टोलिलाई थप मजुबत बनाउने उद्देश्यका साथ तीन नयाँ अनुहारहरुलाई पनि प्रारम्भिक टोलिमा स्थान दिइएको छ ।

नयाँ र पुरानो अनुहारको मिश्रणसहित पुन केही उद्देश्य प्राप्तिका लागि कोर्टमा उत्रन पाउँदा कप्तान अरुणा शाही नयाँ जोश र उमंग थपिएको महससु गर्छिन् । डेढ वर्षपछि भलिबलमार्फत देशलाई अन्तराष्ट्रिय जगतमा पुनः एकपटक चिनाउने अवसर जुर्नु निक्कै आनन्ददायीका साथ मनोबल उच्च पनि भएको बताउँछिन् ।

एशियन च्याम्पियनसिपमा सहभागिता जनाउन पाउनु नेपाल जस्तो देशको लागि निकै ठूलो उपलब्धि हो’,अरुणा भन्छिन्,‘यो प्रतियोगितामा सहभागी हुनु नै हाम्रो लागि ठूलो कुरा हो । राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा केही नयाँ अनुहार थपिएको छ, उनिहरु नयाँ भए पनि उत्कृष्ट खेल्ने खेलाडीमा पर्छन्, त्यसैले एशियन च्याम्पियनसिपमा हाम्रो टिमले उत्कृष्ट खेल्न सक्छ भन्ने विश्वास छ ।’

एशियाली क्षेत्रका भलिबल पावर हाउसको सहभागिता रहने यत्तिको ठूलो प्रतियोगितामा नेपालबाट पहिलो सहभागिता मै ठूलो आँश गर्नु वान्छित हुनेछैन । तर महिला खेलाडीहरुको क्षमता र प्रदर्शनले भने पक्कै पनि तिर्खा मेटाउने छ भन्ने आश गर्न सकिन्छ ।

अरुणा थप्छिन्,‘एशियन च्याम्पियनसिपमा नेपालको यो पहिलो सहभागीता हुने भएकोले च्याम्पियन बन्ने भन्दा पनि स्वदेश तथा विदेशमा रहेका सम्पुर्ण भलिबल समर्थकहरुमा नेपाली टिमले राम्रो खेल्यो है भन्ने छाप छोड्ने छौं ।’

प्रारम्भिक राष्ट्रिय टोलिमा चार जना नयाँ अनुहारहरु थपिएका छन् । र यी चारै जना अहिलेका महिला टोलिका सहायक प्रशिक्षणको जिम्मेवारी समेत पाएका कुमार राइको भलिबल क्लब न्यु डायण्मण्डकै हुन् ।

चार जना नयाँ अनुहारमा ब्याक स्पाइकबाट खेल्ने रिमा कुँवर,ओपन स्पाइक र ब्याक स्पाइक दुबै पोजिसनबाट उम्दा रुपमा खेल्न सक्ने १५ वर्षिया रियाँ कुवँर,ओपन पोजिसनबाट खेल्ने झरना श्रेष्ठ र मिडल ब्लकरबाट खेल्ने बाल्मिका आचार्य छन् ।

लामो समयदेखि महिला भलिबल खेलाडी उत्पादनमा अतुलनिय योगदान दिँदै आएका राइलाई नेपाल भलिबल संघ (एनभिए) ले यसपटक मुख्य प्रशिक्षक जगदिश भट्टको अनुपस्थितीमा केही समयका लागि सहायक प्रशिक्षणको जिम्मेवारी सुम्पिएको छ ।

राई संघले सुम्पिएको यो जिम्मेवारीलाई आफूले निक्कै जिम्मेवारीका साथ बहन गर्ने र अवश्य पनि महिला खेलाडीहरुले केही सिक्नेमा विश्वस्त छन् ।

राईलाई नेपाली महिला भलिबल खेलाडी उत्पादनको जननी नै भन्दा पनि फरक नपर्ला । यसो त उनी उत्पादक भन्नाले उनको विद्यालयको खेलाडी भनेर मात्र होइन,राइ स्वयं महिला खेलाडीहरुको उम्दा प्रशिक्षक नै हुन् ।

उनले उत्पादन गरेका महिला खेलाडीहरुको सूचीमा प्रतिभा मालि,रेश्मा भण्डारी,कुपा अधिकारी र सलिना श्रेष्ठ पनि हुन् । यसबाहेक एकसमयकी चर्चित स्पाइकरको रुपमा कहलिएकी रमिला तण्डुकार पनि राइबाटै प्रशिक्षित खेलाडी हुन् ।

राई भन्छन्,‘अधिकांश राष्ट्रिय टोलिमा परेको नानीहरुलाई म नजिकैबाट चिन्छु र म बाट यिनीहरुले अवश्य केही सिक्ने नै छन् ।’

एशियन भलिबल च्याम्पियनसिप जस्तो सशक्त प्रतियोगितामा नेपाले खेल्न पाउन आफै पनि जित सरह नै भएको राइ बताउँछन् । यो प्रतियोगिता एशियाली भलिबलका धुरन्दर टोलिहरुको माँझ नयाँ अनुभव र अभ्यासको मौका रहेको राइको जिकिर छ । नेपाली भलिबलमा एक उच्च पहिचान बनाएका राइको अनुभव राष्ट्रिय टोलिसँग साट्ने मौकालाई राई आफूलाई पनि अहोभाग्य रहेको वर्णन गर्छन् ।

‘हुन त कुनै पनि प्रतियोगितामा सहभागि हुन भनेको जित्न नै हो तर एशियन च्याम्पियनसिप आफ्नो पूर्ण क्षमता दिएर नयाँ अनुभव बटुल्ने प्रयासको रुपमा मात्रै लियौं भने अवश्य टिमले सन्तुलित प्रदर्शन गर्न सक्छ । निक्कै महत्वकांक्षी हुँदा कहिलेकाँही घाटा पर्छ’,राइ भन्छन् ।

राइले अहिले राष्ट्रिय टोलिको प्रारम्भिक छनौटमा परेका नयाँ चार अनुहारहरु निक्कै प्रतिभावान छन् र अझै मिहिनेत गर्दै गएमा नेपाली महिला भलिबल टोलिको एक महत्वपूर्ण सदस्य बन्न सक्ने बताए । तर अहिले नै पूर्ण राष्ट्रिय टोलिमा नै परिहाल्छन् भन्नु केही हतारो हुने बताए ।

राइले भने,‘टोलिमा परेका चारै जना मेरै स्कुलको नानीहरु भएकोले म भन्दा नजिकबाट त कसले चिन्ला र त्यसै प्रारम्भिक टोलिमा परेका होइनन् । यसो भनिरहँदा अहिले नै राष्ट्रिय टोलिमा परिहाल्छन् भन्न त सकिदैन तर जिवनमा अनुभव भन्ने शब्द पनि हुन्छ र त्यो हासिल गर्नु पनि ठूलो सिकको रुपमा लिनुपर्दछ ।’

करिब डेढ वर्षअघि भएको पाँचौं आरबीबी एनभीए क्लब च्याम्पियनसिपको फाइनल खेलको दौरान खुट्टामा रगत जमेको कारण शल्यक्रियाबाट गुज्रिएकी प्रतिभा मालि पनि पुनः राष्ट्रिय टोलिमा फर्कने आँशमा छिन् । राष्ट्रिय टोलिका फिजियोले पनि ध्यान पूर्वक सम्हालिएर खेलेमा प्रतिभालाई कुनै समस्या नआउने बताउँछन् ।

घुडाको चोटलाई जितेर पुनः कोर्टमा फर्किएकि राष्ट्रिय टिमकी मुख्या स्पाइकर प्रतिभा मालिले पनि यस प्रतियोगितामा आफू पुरानै लयमा खेल्ने मनोबलमा रहेको बताइन् !

आफू अझैपनि पुर्ण रुपमा चोट मुक्त नभएको बताउदै प्रतिभाले भनिन्,‘पुर्ण रुपमा चोटमुक्त भइसकेकी छुइन, तर, म चोटमुक्त छु भन्ने मनोबलसहित एशियन गेममा उत्कृष्ट खेल्ले सोचमा राष्ट्रिय टिमको प्रशिक्षणमा फर्किएको छु,आशा छ म पहिलेकै लयमा खेल्न सक्ने छु ।’

नेपाली टिम पहिलो पटक एसियन गेमको लागि प्रशिक्षणमा जुटिरहदा यत्तिको तयारी मात्र नेपाली टिमलाई पर्याप्त नरहेको समेत प्रतिभाले बताइन् ।

एनभिएले नेपाली टिममा थप सुधारका लागि धेरैले भन्दा धेरै प्रशिक्षण गर्ने वातावरण सिर्जना गरिदिनुपर्ने प्रतिभाको माँग छ ।
अन्य राष्ट्रसङ्ग मैत्रीपुर्ण खेलको अवसर पाए नेपाली टिमले आफ्नो कमजोरी सुधार गर्ने मौका पाउने भन्दै एनभिएको ध्यान त्यसतर्फ केन्द्रित हुन जरुरी रहकोे प्रतिभा भन्छिन् ।

२०७६ साल माघमा भएको एनभिए कप क्लब च्याम्पियनसिपमा एपीएफविरुद्धको फाइनल खेल दौरान प्रतिभाको बायाँ घुँडामा चोट लागेको थियो । त्रिपुरेश्वरस्थित ब्लुक्रस हस्पिटलमा मा घुँडाको सल्यक्रिया गरिएपछि प्रतिभा करिब एक वर्षपछि कोर्टमा फर्किएकी हुन् ।

गत पुसमा पोखरामा भएको मैत्रीपूर्ण खेलबाट कोर्टमा पुनरागमन गरेकी प्रतिभाले गरेकी पोखरामै टाइगर कप र नेपालगञ्जमा प्रधानमन्त्री कप भलिबल खेलिन् । यस्तै गत चैतमा सप्पन्न आरबिबी एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल च्याम्पियनसिप खेलिसकेकी छिन् ।

नेपालले फिलिपिन्समा आगामी भदौको १३ देखि २० गतेसम्म आयोजना हुने एशियन महिला भलिबल च्याम्पियनसिपमा सहभागिता जनाउने भएपछि एनभिएले असार १ अर्थात मंगलबारबाट बन्द प्रशिक्षणको थालनी गरेको हो ।

(यस सामाग्रीमा प्रकाशित भएका अधिकांश् तस्विरहरु मेरोेखेल डटकमको नभई विभिन्न सामाजिक सञ्जाल तथा अन्य इन्टरनेट माध्यमबाट साबर गरिएको हो )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :