पलेशा टोकियो पारालिम्पक २०२० का लागि छनौट

काठमाण्डौ । नेपालकी पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन टोकियो पारालिम्पिक २०२० का लागि छनौट भएकी छिन् ।

नेपाल तेक्वान्दो संघले बुधबार विज्ञप्ति जारी गर्दै पलेशा जापानको टोकियो शहरमा आगामी भदौमा आयोजना हुने टोकियो पारालिम्पिक २०२० का लागि नेपालबाट छनौट भएकी जानकारी गराएको हो ।

पलेशा अन्तराष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले प्रदान गर्ने कोटा प्रणाली अर्थात वाइल्ड कार्डमार्फत पारालिम्पिकमा नेपालको तर्फबाट छनौट भएकी हुन् ।

पलेशा लगायत ६ जना नेपाली खेलाडीले गत जेठ ७ गतेबाट जोर्डनमा भएको छनौट प्रतियोगितामा जारी कोरोना महामारीका कारण बन्द हवाइ उडान र १४ दिनसम्म आइसोलेसनको नियमका कारण सहभागिता जनाउने अवसर गुमेको थियो ।

यसपश्चात नेपाल तेक्वान्दो संघ र राष्ट्रिय पारालिम्पिक संघले पलेशासहित रञ्जना धामीका लागि वाइल्ड कार्ड प्रवेशको निम्ति विश्व तेक्वान्दो महासंघसँगको लगातार प्रयास र समन्वय गरेको थियो ।

पलेशा विश्व तेक्वान्दो महासंघको वरियताको १३औं स्थानमा रहेको र नोलका लागि एउटा मात्र वाइल्ड कार्ड प्रदान गर्ने भएको कारण पलेशाले टोकियो पारालिम्पिकमा सहभागिताको मौका पाएकी हुन् ।

यसै वर्षको भदौ १७ देखि १९ गतेसम्म जापानको टोकियोमा हुने पारालिम्पिकमा पलेशाले के ४४,८५ केजी तौल मुनिको समूहमा सहभागिता जनाउने छिन् ।

पलेशाको यो पहिलो पारालिम्पिक सहभागिता हो ।

२०७२ सालबाट लगातार राष्ट्रिय तेक्वान्दो पारालिम्पक टिममा रहेर खेल्दै आएकी पलेशाले पहिलोपटक राष्ट्रिय झण्डाको मुनि सन् २०१७ मा दक्षिण कोरियामा आयोजना भएको तेश्रो एशियन अन्तगराष्ट्रिय पारा तेक्वान्दो ओपन प्रतियोगितामा सहभागिता जनाएकी थिइन् ।

उनले यसबाहेक विभिन्न अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएर सन्तोष जनक प्रदर्शन गरेपनि सन् २०१८ मा भियतनाममा भएको चौथो एशियन पारा तेक्वान्दो ओपन प्रतियोगिता पहिलोपटक कास्य पदक जित्न सफल भएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :