नेपाली भलिबलमा उदाउँदो दोश्रो “प्रतिभा माली”

लक्ष्मी शाक्य

काठमाडौं । झट्ट हेर्दा विदेशी पो हुन् की जस्तो,अनि हाइट पनि ५ फिट ६ इन्च र मिल्दो जिउडाल र उत्तिकै मनमोहक रुप । आउँदो असार ९ गते बल्ल १४ पूरा भई १५औं वसन्तमा टेक्ने तयारी गर्दैछिन् । यो वर्णन् कुनै चलचित्र अभिनेत्री वा अभिनयमा पाइला टेक्न लागेकी युवतीको बारेमा होइन । यो कथाको बुनाइ अबको निकट भविष्यमै नेपाली महिला भलिबलमा स्टारको रुपमा उदाउँने तयारीमा रहेकी १४ वर्षिय महिला भलिबल खेलाडी रिया कुँवरको बारेमा हो ।

माथि उल्लेख गरिएको श्रृंगारिक शब्द उनको ब्यक्तित्वको बारेमा मात्र भनेर बुझुन सायद अन्यायिक नै हुन्छ । १४ वर्षिया रियालाई आगामी भदौमा फिलिपिन्समा हुने एशियन च्याम्पियनसिप महिला भलिबलको निम्ति नेपाल भलिबल संघले पहिलोपटक राष्ट्रिय टोलिको बन्द प्रशिक्षणका निम्ति डाँकेको छ ।

कुनै पनि खेलाडीको एउटा सपना अन्तत्व राष्ट्रिय जर्सि पहिरिएर नेपालको लागि मैदानमा उत्रने नै हुन्छ । र पहिलोपटक राष्ट्रिय टिममा छनौटका लागि नाम छनौट भएको भन्दा कोही पनि निक्कै उत्साहित हुने गर्छ । तर हाम्रो पात्र रियालाई त्यसो भएन अरे । उनको सपना र इच्छा बन्द प्रशिक्षणसम्मको यात्राले तय गर्दैन अरे । उनी नेपाली महिला भलिबलको अर्को ‘प्रतिभा मालि’ भएर देशको नाम भलिबलको माध्यमबाट निक्कै उचाइमा पुर्याउन चाहन्छिन् ।

भलिबलको कोर्टमा खेल चलिरहेको बखत चिच्याएर, बोलेर खेल्न मन पराउँछु भन्ने रिया खासमा स्वभावत निक्कै लजालु छिन् । रियालाई राष्ट्रिय टोलिको बन्द प्रशिक्षणमा नाम निस्किएको छ भनेर सन्देश दिने पनि प्रतिभा मालि नै थिइन् ।

लजाउँदै रियाले भनिन्,‘प्रतिभा दि ले नेशनल टिमको क्लोज क्याम्पमा तिम्रो नाम पनि छ भनेर मेसेज पठाउनु भयो तर लकडाउनेले गर्दा खासै एक्साइट्मेन्ट त भएन ।’

लजावती स्वभावको भएपनि रियाँ पूर्ण विश्वासको साथमा आफू यसैपटक राष्ट्रिय टिममा नपरेपनि आफ्नो लगन,मिहिनेत,क्षमता र विश्वासका कारण राष्ट्रिय टोलिमा पर्ने बताउँछिन् । ‘यसपटक नै त भन्न सक्दिन तर म भित्र भएको लगनशिल,मिहिनेत र क्षमताका कारण मलाई विश्वास छ म नेशनल टिममा पर्छु’,विश्वासका साथ रियाले सुनाइन् ।

रिया ब्याक र ओपन स्पाइक दुबैबाट उत्तिकै उम्दा प्रकारले फिट हुन सक्ने खेलाडी पनि हुन् । यो उनले अहिले राष्ट्रिय स्तरको प्रतियोगितामा गरिरहेको प्रदर्शनहरुबाट प्रमाणित समेत हुन्छ।

यसको थप पुष्ट्याइ रियालाई ८ वर्षको उमेरबाट भलिबल प्रशिक्षण दिरहेका प्रशिक्षक कुमार राईको भनाइबाट हुन्छ । रियालाई यो पथप्रति लाग्न प्रेरणा दिने र सानै उमेरमै उनको खेलमा यत्तिको निखारपन ल्याउनुमा कुमालेको भुमिका निभाए उनका प्रशिक्षक कुमार राईले । प्रशिक्षक राईकै प्रेरणामा रियाले भलिबल खेल्न थालेकी थिइन् । प्रशिक्षक राई समेत रिया आगामी दिनमा राष्ट्रिय टिमको महत्वपूर्ण हिस्सा बन्नेप्रति आफू विश्वस्त रहेको बताउँछन् ।

राई रियाको बारेमा यसो भन्छन्,‘म एउटा अर्को प्रतिभा मालि तयार पार्दैछु । ब्याक र ओपन स्पाइबाट उत्तिकै चुस्त भएर खेल्न सक्ने खेलाडी निक्कै कम हुन्छ र रिया कुँवरमा त्यो गजबको प्रतिभा छ र अबको केही वर्षमा रियाले राष्ट्रिय टिमलाई ठूलो योगदान गर्नेछिन् ।’

र संयोगले रियाको भलिबल आइडल पनि अहिलेकी भलिबल स्टार प्रतिभा मालि नै हुन् । पछिल्लो समय राष्ट्रिय स्तरको नेपाली महिला भलिबलमा रियाको चर्चा पनि गुन्जिदैछ । न्यु डायमण्ड भन्ने बित्तिकै सम्भवत विद्यालयभन्दा पनि भलिबल क्लबको रुपमा आम मानिसमा बढी चर्चित छ । न्यु डायमण्डलाई नेपाली भलिबलमा महिला भलिबाल खेलाडी उत्पादन गर्ने कम्पनी पनि भन्ने गरिन्छ । यही कम्पनीको उत्पादन हुन् रिया कुँवर ।

रिया त उदाउँने तयारीमा रहेकी छिन् तर यो विद्यालयबाट नेपालले रमिला तण्डुकार,प्रतिभा मालि,रेशमा भण्डारी,कृपा अधिकारी र सलिना श्रेष्ठले आ-आफ्नो स्थानमा नाम बनाइसकेका छन् । घरपरिवार अनि पढ्ने विद्यालय समेत भलिबलमय वातावरको भएकोले पनि रियाको लागि भलिबललाई तदारुकताको साथ अघि बढाउन सहज भएको हो भन्दा, कसैको दुई मत नरहँला ।

वि.सं ६२ साल असार ९ गते बुबा हेम जंग कुवर र आमा बिना कुवरको कोखबाट जन्म लिएकी हुन् । स्थायी घर गोरखा भएपनि रियाको परिवार यतिखेर काठमाडौंस्थित पुरानो नैकापमा बसोबास गर्दै आएको छ । कक्षा पाँचमा भलिबल खेलको शुरुवात गरेकी रियाको कक्षा ६ मा रुखको हाँगा खसेर हात भाँच्चिन पुग्यो । यसपछि घरबाट उनलाई भलिबल खेल्न रोक लगाइयो । तर,ठूलो खेलाडी बन्ने लक्ष्ण बोकेकी रियालाई त्यो कहाँ सह्य थियो र एक वर्षसम्म भलिबल नछोएकी रियालाई अब निक्कै टिठ् लाग्न थालिसकेको थियो र कसैलाई नभनि भलिबल खेल्न शुरु गरिन् र त्यसपछि शुरु हुँदैछ रियाको भलिबल स्टार बन्ने यात्राको थालनी ।

राष्ट्रिय टोलिको बन्द प्रशिक्षणमा रियाको पहिलो अनुभव

रियासँगै न्यु डायमण्ड स्पोर्ट्स क्लबका बाल्मिका आचार्य, झरना श्रेष्ठ र रिमा कुवँर पहिलो पटक राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा परेका छन् । रिया पहिलो पटकको प्रारम्भिक छनौटबाट नै राष्ट्रिय टिममा पर्ने सम्भावना समेत बलियो रहेको छ । राष्ट्रिय टिमको बन्द प्रशिक्षणका लागि प्रारम्भिक छनौटमा परेकी रिया अहिले एशियन च्याम्पियनसिपका लागि राष्ट्रिय टिममा पर्ने उच्च मनोबलका साथ प्रशिक्षणमै व्यस्त छिन् । तर रिया आफै भने यसपटक नपरेपनि हार नमान्ने बताउँछिन् ।

एनभिएले त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा असार १ गतेदखी राष्ट्रिय टिमको बन्द प्रशिक्षण गराउँदै आएको छ । अहिले एनभीएको बिहानी र बेलुकी सत्रको प्रशिक्षणमा सहभागि हुने भलिबलसँग रमाउने, भलिबललाई थप नजिकबाट चिन्ने र आफूभन्दा सिनियरबाट भलिबलका लागि आवश्यक ज्ञान बटुलेर नै रियाको दैनिकी बितिरहेको छ ।

‘राष्ट्रिय टिमको जर्सीमा खेल्ने सुनौला सपना बुनेर नै मैले भलिबल खेल्न थालेकी थिएँ, भलिबल मेरो रुचिको क्षेत्र भएर होला राम्रो खेल पस्कन सफल हुँदै आएकी छु, रियाले निकै प्रफुल्लित स्वभावमा भनिन्, ‘तर अहिले नै राष्ट्रिय टिमको बन्द प्रशक्षिण टोलीमा पर्नेछु भन्ने लागेको थिएन । मलाई मेरो कोच र एशोसिएसनले विश्वास गरेर यो अवसर दिनुभएको छ, यो अवसरबाट म निकै खुशी छु र खुशीसँगै म मा जिम्मेवारी थपिएको महसुस गरेकी छु, यो अवसरलाई सहि सावित गर्नकै लागि निरन्तर अभ्यासमा जुटेकी छु ।’

पहिलो पटकको प्रारम्भिक छनौटबाट नै राष्ट्रिय टिममा पर्छु भन्ने कत्तिको विश्वास छ भन्ने मेरोखेल डटकमको प्रश्नमा रियाले बढो जोसिलो शैलीमा भनिन्,‘राष्ट्रिय टिमबाट खेल्ने मेरो सपनालाई साकार पार्ने मेरो पहिलो खुड्किलो प्रारम्भिक छनौटमा परेपछि पार गरेको छु, राष्ट्रिय टिममा पर्छु नै भनेर मेहनत गरी रहेको छु, राष्ट्रिय टिममा यो पटक परे भने परिहालें । यदि परिन भने पनि म हार मान्दिन अर्को पटक अवश्य राष्ट्रिय टिममा परेर देखाउने विश्वास म भित्र छ र म त्यो पुरा गर्नेछु ।’

रिया आफ्नो आइडल प्रतिभा मालिसँग राष्ट्रिय टोलिमा ट्रेनिङ्ग गर्न पाउँदा निक्कै खुशी छिन् । रिया प्रतिभाको मैदानभित्रको खेल्नै शैलीबाट जति प्रभावित छिन् उत्तिनै उनको मैदानबाहिरको ब्यवहारबाट पनि आकर्षित छिन् ।

‘राष्ट्रिय टिममा मलाई सबैभन्दा मन पर्ने खेलाडी प्रतिभा दि हो’,रियाले भनिन्,‘म प्रतिभा दि को खेल्नेशैली, कोर्टमा भलिबल खेल्दा सबैलाई समान व्यहार गर्ने, नजानेको कुरा सिकाइदिने र उहाँको अनुसाशित व्यहारको म फ्यान समेत हुँ, भोली राष्ट्रिय टिममा परिसेकपछि प्रतिभा दि कारणबस टिममा नहुँदा आम भलिबल समर्थकमा उहाँको कमीको महसुस हुन नदिनु नै मेरो राष्ट्रिय टिमबाट खेल्नुको एक मात्र लक्ष्य हुनेछ ।’ यसो त उनको खेल कौशलताले नेपाली भलिबलले भविष्यमा दोस्रो प्रतिभा माली पाउनेमा आम नेपाली भलिबल सर्मथकहरु पनि आशातित छन् ।

कसरी शुरु गरिन् रियाले भलिबल

न्यु डायमण्ड एकेडेमीबाट विद्यालयस्तरीय शिक्षा शुरु गरेकी रिया अबे कक्षा १० मा पुग्दैछिन् । त्यहाँ उनले पढाई सँगै भलिबल सिक्ने समेत राम्रो अवसर पाइन् । भलिबल खेल्न शुरु गर्दा ८ वर्षकी रिया कक्षा पाँचमा पढ्थिन् । उमेर सानै भएपनि हाइटको हिसाबले उनी कक्षामा अन्य विद्यार्थी भन्दा केहि ठूली नै देखिन्थन् । सोहि समय न्यु डायमण्ड एकेडेमीका प्रिन्सिपल समेत रहेका प्रशिक्षक कुमार राई राम्रो स्पाईकरको खोजीमा थिए र उनको नजरमा परिन् रिया ।

त्यसपछि कक्षाभित्र रहेको रियालाई प्रशिक्षक राईले आफ्नो कार्यकक्षमा बोलाए । रियालाई सोधे तिमिलाई भलिबल खेल्न मन पर्छ ? रियाले तत्कालै प्रशिक्षक राईको प्रश्नमा सहमती जनाइन् । त्यसपछि राईले उनको बुबाआमासँग अनुमती लिएर उनलाई भलिबल सिकाउन थाले । छोरीलाई भलिबल खेल्नको लागि रियाका बुबाले सहर्ष स्विकृती दिएपनि उनको आमाले भने तत्कालै अनुमती दिइनन् ।

रियाका बाबा हेमजंग भने स्वयं आफू पनि कुनै समय गोर्खाका राम्रो भलिबल खेलाडी भएकाले छोरीलाई हौसला थप्न भलिबल खेल्न अनुमति दिए । विद्यालयमा सिनियर दिदीहरुले बल खेलेको बेला बाहिरबाट सबै ‘हुटिङ्ग’ गरेको देख्दा रियालाई समेत मैदान भित्र छिर्न मन थियो । त्यसैले आमाको अनुमति बिना रियाले भलिबल खेल्न थालिन् ।

पहिलो दिनको प्रशिक्षणमा उनले सिनियर दिदीहरुले बल खेलेको देखिन् । सबैको हातमा बल थियो । उनीहरु एकअर्कासँग पास खेल्थे । सिनियरलाई देखेर उनलाई अझ उत्साह जाग्यो । प्रशिक्षक राईले रियालाई भलिबलको नियमबारे सिकाए । भलिबल समात्न लगाए, विस्तारै हान्न लगाए । उनको खेल निरन्तर राम्रो हुँदै गयो त्यसपछि रिया विद्यालयस्तरीय प्रतियोगितामा न्यु डायमण्ड टोलीमा अटाउन थालिन् । कुनै समय रमिला तण्डुकारले सम्हालेको न्यु डायमण्ड क्लबको स्पाइकरको भुमिकामा अहिले प्रतिभा माली छिन् । प्रतिभा पछि अब रियाले सो भुमिका निभाउने प्रति प्रशिक्षक राई ढुक्क छन् ।

रियाले अहिलेसम्म खेलेका प्रतियोगिताहरु

रियाले २०७३ सालमा भएको राष्ट्रपति रनिङ्ग शिल्डबाट वैकल्पिक खेलाडीको रुपमा न्यु डायमण्डबाट विद्यालयस्तरीय प्रतियोगितामा सहभागिता जनाएकी थिइन् । उनले कहिले काँही मात्र कोर्टमा छिर्ने मौका पाउथिन् । पाएको मौकालाई सहि सदुपयोग गर्नमा खप्पिस रियाको खेलमा निखारता थपिदै गएको थियो । तर, कक्षा पाँचमा पढ्दै गर्दा रुखको हाँगा खसेर उनको हात भाँच्चिन पुग्यो । त्यसपछि उनी चिकित्सकको सल्लाह अनुसार करिब एक वर्ष टिमबाट बाहिर रहन बाध्य भइन् ।

एक बर्षको विश्रामपछि उनी पुनः न्यु डायमण्डको प्रशिक्षणमा फर्किन् । त्यसपछिको विद्यालयस्तरको राष्ट्रपति रनिङ्ग शिल्डमा उनको प्रर्दशनले उनको बारेमा वर्णन गर्दै गयो । उनको प्रर्दशनले लोभिएका प्रशिक्षक राईले रियालाई राष्ट्रियस्तरको प्रतियोगितामा समेत टिमबाट डेब्यु गराउने तयारी गरे । रियाले २०७५ सालमा काठमाडौंमा भएको आदीअवादी महिला भलिबल लिगबाट राष्ट्रिय प्रतियोगितामा डेब्यु गर्ने मौका पाइन् । राष्ट्रियस्तरको डेब्यु खेलमै राम्रो खेल खेलेकी रियाले सो खेलबाट नै आफ्ना धेरै सपोटर्स भनौ वा समर्थक बटुल्न सफल बनिन् ।

यस्तै २०७६ सालमा भएको दोस्रो संस्करणको चन्द्रागिरी उपमेयर कप खुल्ला अन्तर विद्यालय छात्रा भलिबल प्रतियोगिता खेलेकी रिया प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी समेत बनेकी थिइन् । त्यसयता गत माघमा पोखरामा भएको टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप, फागुनमा नेपालगंजमा भएको सातौं संस्करणको प्रधानमन्त्री महिला भलिबल खेलिसकेकी छिन् ।

यस्तै गत चैतमा राजधानीमा सम्पन्न पाँचौ आरबिबि एनभिए राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल च्याम्पियनसिपको महिलातर्फको उपाधि डायमण्डले जित्दा रियाको समेत महत्वपूर्ण भुमिका रहेको थियो । यसैगरी उनले यहि बैशाखमा तातोपानिमा सम्पन्न भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल समेत खेलेकि थिइन् । यी सबै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएकी रियाको अबको योजना भनेको भरपर्दो रुपमा क्बलको नेतृत्व गर्ने हो । क्लबसँगै परिपक्क रुपमा राष्ट्रिय टिमको जिम्मेवारी सम्हाल्नका लागि समेत रिया अहिले निरन्तर कडा परिश्रममा जुट्दै आएकी छिन् ।

यो पनि पढ्नुहोस् : परिवर्तित सोचमा राष्ट्रिय महिला भलिबल टिम र ‘गज्जबका राई’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :