गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य एक बर्ष पुरा , महामारीकाबिच निकै लोभलाग्दो काम

सुबास रोकाया

धुर्मुस सुन्तली फाउन्डेसनले जनस्तरबाट चितवनस्थित रामपुरमा निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य एक बर्ष पुरा भएको छ ।

२०७७ श्रावण १ गते शिलान्यास गरिएको बहुउद्देश्य परियोजनाको निमार्ण कार्य आज २०७८ श्रावण १ का दिन,एक बर्ष पुरा भएको हो ।

२०७५ साल माघ १६ गते काठमाडौंमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला समेतको ऐक्यबद्धतामा भरतपुर महानगरपालिका र धुर्मुस सुन्तली फाउन्डेसनबीच सहमतिपत्रमा हस्ताक्षर भएपछि गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको कागजी काम सुरु भएको थियो । काठमाण्डौंमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगाला निर्माण घोषणा भएको चार दिनपछिनै फाउण्डेसनको एउटा टोलीले चितवनमा सम्भाव्यत्ता अध्ययनको काम थालेको थियो ।

२०७५ साल माघ २० गते फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल र उपाध्यक्ष कुञ्जना घिमिरे सहितको टोलीले चितवन यात्रा गर्यो । महानगरले उपलव्ध गराएको जग्गा निरिक्षणका लागि टोली रंगशाला निर्माण घोषणाको चार दिन पछिनै चितवन पुगेको थियो । त्यही दिन फाउण्डेसनले कम्तिमा ६ महिनामा रंगशालाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने बताएको थियो ।

डीपीआर तयार भएको ६ माहिना अर्थात २०७८ श्रावण १ परियोजनाको शिलान्यास गरिएको थियो ।

गौतम बद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला जति ठुलो र महत्वकांक्षी योजना थियो त्यतिनै धेरै विवाद र चर्चा पनि बाहिरिएका थिए, तर त्यस्ता हल्ला र चर्चाले धुर्मुस सुन्तली फाउण्डेसनले रंगशाला निर्माणमा देखाएको अठोट हलचल गर्न सकेन ।

नागरिकको सहयोगमा निर्माण गरिने रंगशाला भनेपछि एकपक्ष फाउण्डेसनको साथमा थियो भने अर्को पक्षले ‘यो भौतिक पूर्वाधार निर्माणको गलत संस्कार हो’ भन्न पनि भ्याएको थियो । त्यसहीबीचमा भरतपुर महानगरपालिकाले उपलव्ध गराएको जग्गाको विवाद पनि नबाहिरिएको होइन ।

यस्ता धेरै आरोह अवरोहकाबीच सुरु भएको रंगशाला निर्माणको काममा एक समय स्थानियको असहमती देखियो । स्थानियहरु फाउण्डेसनसँग रुष्ठ देखिए । निर्माणस्थलको पश्चिम तर्फ घेराबारा गर्दैगर्दा स्थानीयले काममा अवरोध जनाए । स्थानीयले बारनै भत्काएर फउण्डेसनसँग बार्गेनीङ् गरे ।

‘त्योबेला साँच्चै कठिन भएको थियो, हामीबीच केही असमझदारी देखिएका थिए’, फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेलले भने, ‘पछि हामीलाई स्थानीयहरुले पनि सहयोग गर्नुभयो, हामीबीचका धेरै असमझदारी अन्त्य भए ।’

स्थानीय र फाउण्डेसनबीच विवाद बढेपछि रंगशाला निर्माणको क्रममा धेरै सङ्का उत्पन्न भएका थिए, तर महानगरले आफै अग्रसर भएर जिल्ला समन्वय समिति र फाउन्डेसनलाई छलफलमा राखेपछि कामले फेरि गति लियो ।

डीपीआर तयार भएपछि श्रावण १ गतेदेखि रंगशाला निर्माणको औपचारिकक्रम सुरुभयो । नगरिकले सहयोग गर्नेक्रम सुरुभयो । देशविदेश बाट रकम जम्मा हुन थाल्यो । कर्मचारि तथा कामदार निर्माण केन्द्रित भए । काठमाण्डौंका केही बुद्धिजीवी चितवन झरेर सहयोग गर्न भयाए भने धेरैले समाजिक सञ्जालमा फोटो राख्नमात्र भए पनि रंगशाला निर्माणक्षेत्रको भ्रमण गरे । जसले फाउण्डेसनलाई धेरै सहयोग पुर्यायो भने रंगशाला निर्माणको कामले चर्चा पनि बटुल्यो ।

काम हुँदैजाँदा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण सुरु भयो । नेपालमा पनि यसको महामारी देखियो । देश पुरै लकडाउन भयो । जसले फेरि निर्माणमा अवरोध गर्यो । दुई महिना कोरोना प्रभावका कारण रोकिएको निर्माणमा दोस्रो चरणको निषेधाज्ञाले पनी केही असर गर्यो । विविध अवरोधकाबिच फाउन्डेसनले निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम अहिले पनि धमाधम भईरहेको छ ।

जनस्तरबाट चितवनको रामपुरमा निर्माणाधिन रंगशालाको काम बिभिन्न चुनौतीका बीचमा पनि चलिरहेको छ । कोरोना महामारीको समयमा पनि नरोकिएको रंगशाला निर्माणको काममा अझै धेरै चुनौती देखिन थालेका छन् ।

पहिलो चरणको लकडाउनको समयमा दर्शक बस्ने प्यारापिट निर्माणदेखि क्रिकेट मैदानमा पिच निर्माण सम्मका काम भए । बैशाख २० गतेदेखि सावधानीपुर्वक १ सय ५२ मजदुर रंगशाला निर्माणको काममा प्राथमिक्तका साथ खटिए । केही अवरोधहरु आए पनी निमार्ण कार्य भने निरन्तर चलि रहयो ।

यस एक बर्षको अवघिमा सिम्सार क्षत्रमा रहेको बन विश्व बिद्यालयको जमिनले निकै आकार पाईसकेको छ ।

यसअघि नै अभ्यास मैदान निमार्णको कार्य सम्पन्न गरिसकेको फाउण्डेसनले मुख्य मैलानमा पिच बनाउने देखि दुवो रोप्ने कार्य सम्पादन गरिसकेको छ । फिनिसिङ गर्न मात्र बाँकी रहेको मैलानको मात्र ५ प्रतिशत काम गर्न बाँकी छ ।

भिआई पी स्ट्याण्ड ‘ए’ र ‘बी’ को प्यारापिट ढलानको काम सकिसकेको छ । क्रिकेट रंगशाला तिस हजार दर्शक क्षमताको हुनेछ । निर्माणाधिन रंगशालामा ७ हजार ५ सय दर्शक क्षमताका दुई स्ट्याण्ड ‘ए’ र ‘बी’ को निमार्ण सम्पन्न भईसकेको छ । यस्तै बाँकी स्ट्याण्डहरुको ढलानको काम पनी सम्पन्न भई सकेको छ ।

‘ महामारीका बावजुद रंगशालाको निर्माण कार्य तिब्र गतिमा भईरहदा जती खुुसी लाग्छ त्यती नै चुनौती सामना गरेको छु, ’ कट्टेल भन्छन्, ‘कोरोना प्रभावका कारण कामदारको अभाव, बिपत्ति र आर्थिक संकट सबै भन्दा ठुला चुनौती रहे ।’

हाल फाउन्डेसनले कामदार लगायत विभिन्न क्षेत्रमा १४ करोड ४० लाख ६२ हजार ७ सय ११ रुपयाँ ९४ पैसा भुक्तानी गर्न बाँकी छ ।

हालसम्म रंगशाला निर्माणको कार्यका लागी विभिन्न दाताहरुबाट ३८ करोड ४८ लाख ३८ हजार ३ सय ६७ रुपयाँ ६७ पैसा संकलन गरेको फाउन्डेसनले कुल ५२ करोड १ हजार १ सय १२ रुपयाँ ६१ पैसा खर्च गरेको छ ।

फाउन्डेसनले यो रकम विभिन्न सरकारी र गैर सरकारी निकायले गरेको दान, देश विदेशमा रहेका नेपालीहरुले गरेको सहयोग फाउन्डेसनको मेरो रंगशाला मेरो कुर्चि अभियान र मेचि महाकाली अभियानबाट संकलन गरेको हो ।

लगभग साढे १४ करोड ऋणमा रहेको फाउन्डेसनलाई धेरै ठाउबाट सहयोग आएको छ भने प्रतिवध्ता गरेका धेरै स्थानबाट रकम संकलन हुन सकेको छैन ।

समग्रमा ८५ प्रतिशत निमार्ण कार सम्पन्न भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बहु प्रयोगात्मक परियोजना हो ।

मुल रुपमा क्रिकेटका लागी निर्माण हुन लागेको यस परियोजनामा भलिवल, फुटबल, पौढी, बास्केटबल, ब्याटमिन्टन लगायत २२ प्रकारका आउटडोर र ईनडोर खेलहरु खेलाउन सकिने छ ।

यस सामाग्रीमा प्रयोग गरिएका तस्विर र भिडियोहरु धुर्मुस सुन्तली फाउन्डेसनको पेजबाट साभार गरिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :