ओलम्पिकमा सहभागिता जनाउन नपाउदाँ कराते प्रशिक्षक श्रेष्ठ निरास

पूर्व कराते एथलिट, प्रशिक्षक र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ अध्यक्ष दीपक श्रेष्ठले नेपाली करातेले ओलम्पिकमा सहभागिता जनाउन नपाउदाँ दुख लागेको बताएका छन् ।

श्रेष्ठले नेपालबाट करातेमा ओलम्पिक प्रतिविधित्व नहुदाँ निरास भएको जनाएका हुन् ।

‘टोकियो ओलम्पिक सुरु हुन अब केहि दिनमात्र बाँकी छ । ओलम्पिकमा पहिलो पटक कराते खेललाई समावेश गराउँदा विश्वभरका कराते खेलाडी , त्यससँग सम्बन्धित प्रशिक्षक लगायत सबै अन्यन्तै खुसी भएका थियौं । स्वभाविक रुपमा नेपालको सफल खेल मध्येको एक कराते भएकाले टोकियो ओलम्पिकमा भाग लिन पाउने आशा खेलाडी र प्रशिक्षकमा हुनु स्वभाविक हुन आउँछ । त्यहि अनुसार तयारी पनि अघि बढेकै थियो ’, श्रेष्ठले भने ।

करातेबाट १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता २ खेलाडी अनु अधिकारी र नवीन रसाइली लाई ओलम्पिकलाई नै लक्षित गरेर प्रशिक्षणमा राखेको थियो । करातेको प्रिमियर लिग र ओलम्पिक छनोट गराउने तयारीका बीचमा कारोना र अन्य प्राविधिक कारणले कठिनाई भएको थियो ।

नेपालले भिसा समस्याका कारण अप्रिल ३० देखि २ मे सम्म पोर्चुगलमा सम्पन्न करातेको प्रिमियर लिगमा समेत सहभागिता जनाउने अवसर गुमाएको थियो । यो प्रतियोगिता खेलाडीहरुलाई वरियता प्राप्त गर्ने शुवर्ण अवसर थियो ।

तर, वरियता प्राप्त हुने त्यो प्रतियोगिता गुमाउँदा नेपाली खेलाडीहरु आफ्नो वरियतामा सुधार गर्ने अवसरबाट बञ्चितभएको श्रेष्ठले बताए ।

त्यस्तै फ्रान्समा ओलम्पिक छनोट खेल ११ देखि १३ जुनमा भएको थियो । कोरोना र अन्य कारणले त्यो प्रतियोगितामा पनि नेपाली खेलाडीले भाग लिन पाएनन् ।

नेपाल ओलम्पिक कमिटीले पहिलो पटक ओलम्पिकमा समावेश गरिएको करातेमा सहभागिता जनाउन वाइल्ड कार्डका लागि आफ्नो तर्फ सक्दो प्रयास भएको थियो । यद्यपी कमिटीको प्रयासले सार्थकता पाउन सकेन ।

ओलम्पिक अन्तर्गत अगस्ट ५ देखी ७ सम्म आयोजना हुने करातेमा विश्वभरका ६ तौल र काताका २ गरि ८० (पुरुष ४० र महिला ४०) खेलाडी प्रतिस्पर्धा गर्दै छन् ।

सहभागी हुने कुल ८० मध्ये ३२ खेलाडी वरियताका आधारमा र आयोजक ८ गरि ४० खेलाडी विश्वो कराते महासंघले छनोट गरेको थियो । त्यस्तै हरेक समूहका ३ हाइ पोजिसन खेलाडी फ्रान्समा भएको छनोट खेलबाट २४ जना छनोट भएका थिए । १२ खेलाडी महादेशबाट छनोट भएका थिए । बाँकी ४ खेलाडीलाई वाइल्ड कार्डको व्यवस्था गरिएको थियो । जसमध्ये एसियाली राष्ट्र कुवेत लाई एउटा वाइल्ड कार्ड प्राप्त भयो । र अन्य सबै युरोपलाई प्रदान गरियो ।

‘करातेमा राम्रो सम्भावना भए पनी ओलम्पिकमा स्थान बनाउन नपाउदाँ कराते परिवार निराश भएका छौं । यद्दपी हामीले आउने दिनका लागि निरास नभई हाम्रा खेलाडीलाई २०२२ मा चीनमा मा हुने १९ औं एशियाली खेलकुद २०२३ मा पाकिस्तानमा हुने १४ औं साग खेल र ओलम्पिक लगायतका अन्य प्रतियोगिताका लागि तयारी अवस्थामा राख्नुपर्ने र रहनु पर्ने हुन्छ । अन्त्यमा टोकियो ओलम्पिकमा भाग लिने खेलाडी, प्रशिक्षकलगायत टोलीलाई सफलताको शुभकामना दिन चाहन्छु’, श्रेष्ठले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :