नेपालका पौडी खेलाडी एलेक्सको ओलम्पिक प्रतिस्पर्धा आज

काठमाण्डौ । जापानमा जारी टोकियो ओलम्पि २०२० मा मंगलबार अर्थात आज पौडीतर्फ नेपालका एलेक्जेन्डर शाहले प्रतिस्पर्धा गर्दैछन् ।

शाहले आज ओलम्पिकको पौडीतर्फ १०० मिटर फ्रि स्टाइलमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।

शाहले पौडीको १०० मिटर फ्रि स्टाइलको हिट नम्बर एक मा अन्य ६ राष्ट्रका पौडीबाजसँग प्रतिस्पर्धा गर्नेछन् ।

शाहले भुटान,माल्दिभ्स,कोसोभो,गुयना,प्यालेस्टिन र सोलोमोन आइल्याण्डका खेलाडीसँग हिट नम्बर एक मा प्रतिस्पर्धा गर्ने भएका हुन् ।

शाहको यो पहिलो ओलम्पिक सहभागिता हो । शाहको आजको स्पर्धा नेपाली समयानुसार दिउँसौ पौने चारबजे हुनेछ ।

यस्तै पौडीमा महिला १०० मिटरतर्फ नेपालकी गौरिका सिहंको पनि सहभागिता रहेको छ । उनको प्रतिस्पर्धा भोलि अर्थात बुधबार रहेको छ ।

गौरिकाको यो दोश्रो ओलम्पिक सहभागिता हो । यसअघि सन् २०१६ मा ब्राजिलको रियोमा गौरिकाले पहिलोपटक ओलम्पिकमा सहभागिता जनाएकी थिइन् ।

कुल २०५ राष्ट्रको सहभागिता रहेको ओलम्पिक खेलकुदमा नेपालका दुई खेलाडी सुटिङ्गकी कल्पना परियार र जुडोकी सोनिया भट्ट प्रतियोगितामा आ आफ्नो पहिलो खेलमा पराजित हुँदै बाहिरिसकेका छन् ।

शनिबार दोश्रो दिन सुटिङ्गकी परियारले १३औं दक्षिण एशियाली खेलकुद (साग) मा आफैले बनाएको राष्ट्रिय किर्तिमानलाई भंग गर्दै नयाँ किर्तिमान स्थापित गरेकी थिइन् । उनले महिला १० मिटर एयर राइफलमा ६१६ दशमलव ८ अङ्क बनाउँदै राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । यसअघि उनको नाममा ६१४ दशमलव ५ अङ्कको किर्तिमान थियो ।

यस्तै जुडोकी भट्टले महिला ४८ किलो तौल समूहमा विश्व वरियातको ९औं स्थानकी रुसी खेलाडी इरिना डोल्गोभासँग पराजित भएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :