अल्मुताइरीले इतिहासलाई अवमुल्यन गर्दा मन दुखेको छ–राजुकाजी शाक्य

बिभा थापा

काठमाण्डौ । नेपाली फुटबलको पाना पल्टाउँन पर्दा सम्भवत सबैभन्दा सुन्दर पानामा कोरिएको सुन्दर नामध्येका एक हुन् राजुकाजी शाक्य । उनलाई नेपाली फुटबको जिउँदो इतिहासको उपमा दिदाँ फरक नपर्ला ।

राजुले खेलाडीको रुपमा मात्र नेपाली राष्ट्रिय फुटबल टोलिबाट १७ वर्ष लामो जिवन बिताएका छन् । अझ भनौ यो समयावधिको हिसाबकिताब मात्र नभएर नेपाली फुटबलमा बिताएका यत्तिका वर्षमा राजुकाजीले छुट्टै इतिहास समेत बनाएका छन् ।

नेपाली फुटबलको सम्पूर्ण गतिविधिसँग वाकिफ रहेका फुटबल समर्थकलाई राम्रो ज्ञान छ कि राजुकाजीले नेपालको फुटबल इतिहासको सुनौलो किताबमा आफ्नो नाम दर्बिलो रुपमा दर्ज गराएका छन् ।

उनी नेपालका एक मात्र यस्ता ब्यक्तित्व हुन् जसले नेपालको राष्ट्रिय खेलाडी,कप्तान र प्रशिक्षकको तीनवटै भुमिकामा नेपालले खेल्ने एक ठूलो प्रतियोगिता अहिलेको साग र तत्कालिन समयको साफ गेममा नेपाललाई स्वर्ण पदक दिलाएका छन् ।

तर पछिल्लो समय नेपालको राष्ट्रिय टोलिको प्रशिक्षकको रुपमा आएका कुवेती नागरिक अब्दुल्लाह अल्मुताइरीले नेपाली फुटबलको सुनौलो इतिहासमाथि गरेको प्रहारले राजुकाजीलाई निक्कै मर्माहत बनाएको छ । उनले अल्मुताइरीको पछिल्लो अभिब्यक्ति नेपालको फुटबलमात्र होइन गर्विलो स्वाभिमानी इतिहासमाथिको प्रहारको रुपमा बुझेका छन् ।

अल्मुताइरीले एक अनलाइनललाई दुई साताअघि दिएको एक भिडियो अन्तरवार्तामा आजभन्दा ३० वर्षअघिसम्मको नेपाली फुटबलका खेलाडीहरु नतिजाका लागिभन्दा पनि नयाँ देश हेर्न र घुम्न मात्र जाने गर्दथे तर आफ्नो आगमनपछिको नतिजामा फरक आएको जिकिर गरे ।

सोही अन्तरवार्तामा अल्मुताइरीले नेपालले इराकसँग ६–२ गोल अन्तरले हार्दा सबै खुशी हुने गरेको तर बंगलादेशलाई २–१ गोल अन्तरले हराउँदा किन खुशी नभएको भन्दै नेपाली फुटबल प्रति कटाक्षपूर्ण अभिब्यक्ति समेत दिन भ्याए ।

तर प्रो लाइसेन्सको भरमा मात्र उम्दा प्रशिक्षक हुँ भनेर प्रचारप्रसारमा आइरहेका अल्मुताइरीलाई उनको कार्यकालभन्दा नेपालको यसअघिको इतिहासमा नेपालको तत्कालिन हैसियत,सेवा सुविधा र समयपरिस्थिती अनुसार प्राप्त गरेको सुनौलो इतिहासमाथि बोल्ने कुनै अधिकार नरहेको भन्दै राजुकाजिले आपत्ति जनाएका छन् । उनले तत्कालिन समयमा हामीले हाम्रो बलबुतामा सक्दो प्रयास र प्राप्त सुविधा र भौतिक संरचना अनुसार गरेको उपलब्धिमाथि अल्मुताइरीले दिएको प्रतिक्रियाले मन दुखेको बताए ।

राजुकाजीले पछिल्लो समय अल्मुताइरी आफ्नो कार्यक्षेत्रमा भन्दा बढी फुटबलको बाहिरि भागमा सक्रिय रहेको प्रष्ट देखिएको बताए । उनले कुनै पनि प्रशिक्षकले बोलेरभन्दा मैदानमा उपलब्धि र नतिजा ल्याएर देखाउनु नै उत्तम रहने धारणा ब्यक्त गरे ।

राजुकाजी भन्छन्,‘अल्मुताइरी प्रो लाइसेन्स प्रशिक्षक हुन् तर उनको ब्यवहार प्रो देखिएन । उनमा अनुभवको कमि देखियो । उनले नेपाली फुटबलको इतिहास नपढि अनावश्यक टिकाटिप्पणी गर्नु भनेको उनको अपरिपक्वता र आउने दिनमा आफ्नो कमजोरी ढाकछोप गर्ने माध्यमको रुपमा समर्थकको साथ बटुलेका हुन् ।’

‘मेरो मात्र कुरा होइन,म भन्दा अघि र म पछिको नेपाली फुटबल कसरी अगाडी बढीरहेको छ र बिस्तारै होला,कुन स्तरबाट कहाँ पुगेका छौ भन्ने इतिहासमाथि अल्मुताइरीले गरेको टिप्पणी खेदजनक नै हो’,राजुले भने,‘उनले आफ्नो काम गरेर देखाउनुपर्ने अवस्था छ र राम्रो गरोस् भन्ने शुभकामना दिन चाहन्छु ।

राजुकाजीले सन् १९८४ मा नेपालमा आयोजना भएको पहिलो साफ गेममा खेलाडीको रुपमा नेपाललाई स्वर्ण पदक दिलाएका छने भने १९९३ मा बंगलादेशमा भएको छैठौं साफमा कप्तानको रुपमा नेपाललाई स्वर्ण पदक दिलाए । यस्तै २०१६ मा भारतको गुवाहाटीमा भएको १२औं साग गेम्समा नेपालको प्रशिक्षक रहँदा स्वर्ण पदक दिलाउन सफल भए ।

राजुकाजी भन्छन्,‘अब यतिबेला हाम्रो जवानाको कुरा गरेर म आफूले गरेको भुमिकाको गुच्छा सजाउनुभन्दा पनि त्यो इतिहास हो र इतिहास गर्विलो पनि हुन सक्छ अथवा बिर्सनलायक पनि हुन सक्छ । यो एक सच्चा फुटबल समर्थकले छर्लङ्गै छुट्याउने छन् । कुनै एक ब्यक्तिले नेपाली फुटबलको इतिहासमाथि प्रश्न उठाउँदैमा फरक पर्दैन । यो उसको कमजोरी हो र समयकालसँग अनुभव हुँदै जादाँ बुझुनेछ । ’

राजुकाजिले नेपाली राष्ट्रिय फुटबल टोलिको प्रशिक्षणको जिम्मेवारीमात्र नभएर शुरुवातमा उनले एन्फा एकेडेमीका खेलाडीहरुलाई समेत प्रशिक्षण दिइसकेको अनुभव छ । यसबाहेक नेपालका ठूला ए डिभिजन क्लबमा समेत प्रशिक्षक रहेर काम गरेको अनुभव छ ।

उनले नेपाली फुटबलमा विगत देखि वर्तमान खेलाडीहरुको संघर्ष र फुटबल प्रतिको योगदानलाई अवमुल्यन गर्नु उचित नरहेको बताउँदै आफूले तीनसय रुपैयाँ पारिश्रमिक लिएर ब्यवसायिक फुटबल शुरु गरेको र अहिले खेलाडीहरुले लाख रुपैयाँ लिने हैसियत त्यसै बनेको हो र ? भन्ने प्रश्न गरेका छन् ।

राजुले भने,‘विदेशी प्रशिक्षक आएर नेपाली फुटबल विकास हुन्छ भने हाम्रो पनि साथ र सहयोग नै रहन्छ । उसले पनि यहाँ आएर दिने देनलाई हामी सबैले स्विकार गर्दै समर्थन गर्नुपर्छ । र सँगै उसले पनि विगतमा भएका उपल्िरब्धलाई सम्मान गर्नुपर्छ ।’

प्रशिक्षक आउने जाने फुटबलको प्रकृति हो तर हामी त खेलाडीमात्र होइनौ,त्योभन्दा माथि हामी एक नेपाली पनि हौं ’,राजुले आग्रह गर्दै भने,‘भरै यही माटोमा मर्नुपर्छ,हामी कसैको कुभलो चिताउँदैनौ र भरै उसले नराम्रै नतिजा दिएर गए पनि हामी त उसलाई सम्मानपूर्वक नै बिदाई गर्ने देशका नागरिक हौ । यो मनोभावनालाई अल्मुताइरीले सस्तो रुपमा दिन भने कदापि हुन्न ।’

उनले नेपालीहरुको फुटबल प्रतिको मायालाई गलत प्रयोग गरेमा कसैले त्यसको सजाय समयकालसँगै पाउने बताए ।

राजुले कटाक्ष गर्दै भने,‘जति सजिलै फुटबल समर्थकहरुले विश्वास र माया प्रदान गर्दछन्,यदि त्यसको गलत उपयोग गर्दैमा गएमा ढिलोचाँडो तिनै समर्थकले त्यसको मुल्यसहितको ब्याज पनि तिर्न बाध्य बनाउने छन् ।’

उनले आफूले पहिलो साफमा स्वर्णपदक जित्दाको जर्मन प्रशिक्षक जोन फिजी,त्यपछि आएका बेलायतका जो केनर,जर्मन रोइन हार्ट र छैठौमा साफमा स्वर्ण पदक हात पार्दा प्रशिक्षणको जिम्मेवारीमा रहेका धनबहादुर बस्नेतको मिहिनेत र प्रतिफललाई कसैले नजरअन्दाज गर्न नमिल्ने बताए ।

अल्मुताइरीले नेपाली फुटबलका पूर्व खेलाडी र प्रशिक्षकहरुको उपलब्धिमाथि गैरजिम्मेवार अभिब्यक्ति दिइरहँदा नेपालका लागि पहिलो आधिकारिक अन्तराष्ट्रिय गोल गरेका वाइबी घलेको त्यो सुन्दर इतिहासलाई के भन्ने ? सन् १९८२ मा भारतको दिल्लीमा आयोजना भएको एशियन गेम्सको फुटबलमा घलेले यिनै अल्मुताइरीको देश कुवेतबिरुद्ध एक गोल गर्दै इतिहास बनाएका थिए । भलै यस खेलमा नेपाल कुवेतसँग ३–१ ले सो खेल हार्न पुगेको थियो ।

समयकाल र फुटबलको विकास क्रमसँगै खेल्ने शैलीमा आमुल परिवर्तन भएको छ । खेलाडीले पाउने सेवासुविधा,नयाँ आधुनिक प्रविधि,प्रशिक्षकहरुमा देखिएको फड्कोले नै त फुटबललाई रोचक बनाउँदै लगेकोमा दुईमत छैन । तर नयाँ शैली र आधुनिकिकरणको नाममा विगतलाई केही होयन भन्दै हिड्नु एक ब्यवसाियक प्रशिक्षकको सोभनिय ब्यवहार भने कदापि होइन । त्यसमाथि अन्तराष्ट्रिय स्तरको सिनियर टोलिको प्रशिक्षणमा पहिलो पाइला टेकेका अल्मुताइरीले त अझै सुहाउँदैन । किनकी उसले आफ्नो विगतको कथा सुनाएर ठूलो पल्टने यात्रामा पनि तय गरेका छैनन् । अल्मुताइरी आफै पनि यस क्षेत्रका बिल्कुलै नयाँ र अनुभवहिन यात्री हुन् । उनले यो समयलाई आफ्नो करियर निर्माणमा केन्द्रित गर्नुको सट्टा अनेक बक्तब्यबाजी गर्दै सस्तो लोकप्रियता कमाउने जोहोतर्फ अग्रसर हुुनुभन्दा आफ्नो कार्यक्षेत्रमा अब्बल काम गरेर देखाउनु नै नेपाली फुटबल टोलि र उनको ब्यक्तिगत करियलाई फाइदाजनक हुनेछ ।

यसबाहेक राजुकाजीले प्रशिक्षकको भुमिकामा रहेका ब्यक्तिले एन्फाको संस्थागत निर्णयसागै पदाधिकारीमाथि दोष लगाउनु गैरजिम्मेवार टिप्पणी रहेको समेत बताए । उनले पदाधिकारीबाट काम गर्न असहज भएको भएपनि विभिन्न माधयम र प्रक्रियामार्फत आफ्नो समस्या राख्नु उचित हुने जिकिर गरे ।

उनले नआउनु समस्या आइसकेपछि एन्फाले पनि समाधान आन्तरिक रुपमा खोज्नुको सट्टा बाहिरबाट समाधान खोज्नु संस्थाको गरिमामाथि आँच आउने काम गरेको बताए ।

राजुकाजिले भने,‘हरेक समस्याको समाधान हुन्छ र परिवारभित्रको समस्या अनय निकायबाट खोजिनु उचित होइन । यसले संस्थाकै औचित्यमाथि प्रशन उठाउँछ । अनुशासनभित्र जो सुकै भएपनि रहन पर्छ ।’

सन् १९९९ मा साफ गेमको समयमा नेपाली टोलिका बेलायती प्रशिक्षक स्टेफन कन्स्टेन्टाइनले नेपालका लागि २ वर्ष काम गरे । उक्त प्रतियोगितामा नेपाल बंगलादेशसँग फाइनलमा १-० गोल अन्तरले हार्दै दोश्रो स्थान (रजत पदक) मा रहेको थियो । सो समयमा उनलाई तत्कालिन राजा विरेन्द्रले तक्मासहित सम्मान पनि गरेका थिए । त्यसपछि सन् २००२ देखि २००५ मा पहिलो कार्यकाल र त्यसपछि पुनः २०१५ देखि २०१९ सम्म भारतको राष्ट्रिय टोलिको मुख्य प्रशिक्षकको रुपमा कार्य गरे । उनलाई भारतले २२ हजार अमेरिकी डलरमा अनुबन्धन गरेको थियो ।

तातपर्य के हो भने कुनै पनि ब्यक्तिले गफले भन्दा कामले आफूलाई प्रमाणित गर्दै जानुपर्छ । आफ्नो कार्यक्षेत्र भन्दा बाहिर निस्किएर अनेकन क्रियाकलापमा आफूलाई सक्रिय बनाउने ब्यक्तिले आफ्नो दख्खलतामा समेत सफलता हासिल गर्दैन ।

अल्मुताइरी प्रशिक्षकको रुपमा अहिले भर्खर केही गरौ भन्ने बाटोमा रहेकोले सजग र नरम भएर अघि बढ्नुपर्ने राजुकाजीको सुझाव समेत छ ।

नेपालमा पहिला प्रो लाइसेन्सको मापदण्ड नरहेको र पछिल्लो समय फिफाले राष्ट्रिय टोलिको प्रशिक्षक बन्न प्रो लाइसेन्स अनिवार्य गरेपछि कतार फुटबल संघले एन्फालाई सहयोगको रुपमा अल्मुताइरीलाई नेपालमा पठाएको हो । तर अल्मुताइरीमा प्रशिक्षण कलाको अनुभव भने निक्कै कम छ ।

उनले यसअघि किर्गिस्तानको उमेर समूहलाई प्रशिक्षण दिएका थिए भने कुवेत र साउदी अरेबियाका केही क्लबहरुमा प्रशिक्षणको सामान्य अनुभव मात्र छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :