किन बनिरहेको छैन अल्मुताइरी र नेम्वाङ्गबिचको सहमति ? फुटबल राजनितिको भुमरीमा अल्मुताइरी पर्दैछन् ?

बिभु श्रेष्ठ

काठमाण्डौ । नेपाली राष्ट्रिय फुटबल टोलिका मुख्य प्रशिक्षक मोहम्मद अब्दुल्लाह अल्मुताइरी र अखिल नेपाल फुटबल संघका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ्गबिच आपसि समझदारी भएपनि सहमति हुन नदिने रस्साकस्सि चलिरहेको आशंका बढेको छ ।

मंगलबार दिउँसो ठमेलमा रहेको ए लफ्ट होटलमा नेपाली राष्ट्रिय फुटबल टोलिका मुख्य प्रशिक्षक मोहमद अब्दुल्लाह अल्मुताइरी र अखिल नेपाल फुटबल संघका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ्गबिच भएकोे वार्ताको निक्कै सुखद अन्त्य भएको थियो ।

प्रशिक्षक अल्मुताइरी र वरिष्ठ उपाध्यक्ष नेम्वाङ्गबिचको सामान्य भनिएको असमझदारी सुल्झाउनका लागि कतारी राजदूतावासले नेपालको तर्फबाट नेपाल इक्वेस्ट्रियन संघका अध्यक्ष रवि राजकर्णिकारलाई मध्यस्थकर्ताको भुमिका दिएपछि पछिल्लो समय अल्मुताइरी र नेम्वाङ्गबिचको वार्ताले सकारात्मक मोड लिने बताइएको थियो । तर दुइदिन बित्दा पनि सहमति गर्ने एक पात्रको रुपमा रहेका अल्मुताइरी यो सब विषयलाई पाखा लगाउँदै पोखरामा नै रुमलिरहेका छन् ।

एन्फाभित्र पछिल्लोसमय छताछुल्ल हुने गरी नै नेतृत्वमा कित्ता विग्रहको फ्रेम बाहिर आइसकेको छ । यतिबेला जुन सुकै पक्षले पनि आगामी बैशाखमा हुने आसन्न एन्फा निर्वाचनलाई मध्यनजर गर्दै आ–आफ्नो कदमहरु चाल्ने प्रक्रिया शुरु भइसकेको गन्ध हावामा तैरिरहेको स्पष्ट देख्न सकिन्छ ।

चेन्ज एन्फाको नारा बोकेर आएका अहिलेका अध्यक्ष कर्माछिरिङ्ग शेर्पा नेतृत्वको कार्यले एन्फाभित्र पहिलेको तुलानामा देखाउनका लागि केही परिवर्तनका उदाहरण पेश गरेपनि मुलभुत रुपमा फुटबल विकासको नाममा साधारण परिवर्तन मात्रै भएको छ । तर आर्थिक,पेशागत, ब्यवसायिक,नितिगत संस्कारमा भने परिवर्तन देखिएको छैन । यसको दोष नेतृत्वमा रहेकोले धेरै हदसम्म शेर्पामाथि नै थुपरिएपनि यसमा सहभागि सबै पात्रले यसको अंशबण्डाको रुपमा दोषको भागिदार हुनैपर्छ ।

पछिल्लो समय देखिएको एन्फा विवाद पनि सामान्य रुपमा भन्ने हो भने नितिगत र नैतिक समस्याको कमि मात्र त हो । एन्फाका कर्मचारीको रुपमा रहेका प्रशिक्षक अल्मुताइरीले लगाएको आरोपले कसैमाथि दाग लाग्ने निश्चित नै छ तर एउटा संस्थाको अध्यक्षको हिसाबले शेर्पाले चाल्नुपर्ने कदम र अग्रसरतामा शेर्पाले नैराश्ता देखाएकै हुन् ।

अल्मुताइरीले लगाएको आरोपको पुष्टि हुने गरी प्रमाण अल्मुताइरीसँग भए नेम्वाङ्गलाई कारवाही गर्न एन्फाले हिम्मत देखाउनुपर्छ र यदि अल्मुताइरीले लगाएको आरोपमा प्रमाण अपुग देख्ने भए एन्फाले अल्मुताइरीमाथि कारवाही गर्न सक्ने ल्याकत राख्नुपर्छ ।

यो एन्फाको घरभित्र उत्पन्न भएको समस्या भएकोले अध्यक्ष शेर्पाले दुई पक्षलाइ एक ठाउँमा बोलाएर आपसि समझदारी गराउन सक्ने क्षमता पनि राख्न सक्थ्यो । तर यी तीनै उपायहरुभन्दा फरक शेर्पाले आफू चोख्खिन समस्याको समाधान थर्ड पार्टीबाट खोज्ने प्रयास गरे । जुन फिफा र एन्फा दुबैको गाइडलाइनभित्र नअटाउने बाटो हो । यसको परिणाम स्वरुप नेपाली फुटबलमाथि फिफाको प्रतिबन्ध लाग्न सक्ने खतरा मडारिरहेको छ ।

तर किन शर्पा यो विषयमा जति लाग्नुपर्ने हो त्यति तात्तिएका छैनन् ? मुख्य प्रश्न यहीबाट शुरु हुन्छ । घटनाक्रमहरुलाई हेर्दा अल्मुताइरीले लगाएको आरोपमा उनले पेश गरेको दलिल निकै फितलो देखिन्छ । जसका कारण उनले आफूले लगाएको आरोपको प्रमाण पेश गर्ने ल्याकत राखेका छैनन् ।

एन्फाले यो समस्याको समाधान खोज्न थर्ड पार्टीलाई गुहारेकै दिन शेर्पा एन्फा नेतृत्वको हिसाबले असफल भएको बिम्ब आफै प्रस्तुत गरिसकेका छन् । विधि र विधान निर्माणकर्ताको अभियन्ताको प्रतिकको रुपमा आफूलाई अग्रपंक्तिमा राख्ने शेर्पाले सामान्य फुटबलको गाइडलाइन पनि आफ्नो बशमा राख्न सकेनन् । एन्फालाई विफल बनाउने बाटो शेर्पाले यो घटनाक्रममा कोरेकै हुन् । फिफाले फुटबलको विवाद आफैभित्र खोजिनुपर्छ भनेर स्पष्ट तोकेको छ भने एन्फा विधानले पनि सोही ब्याख्यालाई सदर गरेको छ ।

यदि अल्मुताइरीले भने जस्तै विगत तीन साता देखि नेम्वाङ्गले आफूलाई काममा अवरोध गर्न नाटक मञ्चन गरेकै हुन् भने उनले पेश गरेको प्रमाण त उनले स्टाटस लेखेपछि सिर्जना भएको घटनाक्रम पछि भएका श्रृंखलाहरु हुन् ।

अल्मुताइरीले मेरोखेल डटकमका पत्रकारले फेसबुकमा लेखेएको स्टाटसमा वरिष्ठ उपाध्यक्ष लगायत केही सदस्यले लाइक गरेकोले आफूले त्यो स्टाटस लेखेको भनि पुष्ट्याइ गरिरहेका छन् । यसबाहेक अल्मुताइरीले नेम्वाङ्गले मेरोखेल डटकमलाई आफूबिरुद्ध परिचालन गरिरहेको आरोप लगाएका छन् । यसमा अल्मुताइरीले एक स्वतन्त्र संचारमाध्यमाथि लगाएको आरोपमा पनि कुनै प्रमाण पेश गर्न सकेका छैनन् ।

अल्मुताइरीले पेश गरेको दलिलबाट कतै अल्मुताइरीलाई आउँदो आसन्न एन्फा निर्वाचनका लागि प्रयोग त गरिदै छैन भन्ने प्रश्न तेस्र्याउन मुश्क्लि नपर्ला । त्यसो हो भने यदि अहिले युवा तथा खेलकुद मन्त्रालय हुँदै राष्ट्रिय खेलकुद परिषदलाई छानिवन गर्न दिइएको कार्य स्वतन्त्र र निष्पक्ष भएको खण्डमा फुटबल विकासको नाममा भइरहेको सम्भावित फोहोरी खेलको निचोड निस्कनु पर्दछ ।

अल्मुताइरीले अगस्ट १० तारिखसम्म पनि आफूसँग जोडिएको पछिल्लो घटनाक्रमको निक्र्याैल नआए राजिनामा दिएर देश छोड्ने एन्फालाई बुझाएको पत्रमा स्पष्ट रुपमा उल्लेख गरेका छन् । तर के यो समस्याको समाधान हो त ? अवश्य पनि होइन,उनको पछिल्लो राजिनामाको स्टन्टका कारण उत्पन्न भएको यो घटनाक्रम दुधको दुध,पानीको पानी नबनाइ उनी देश छोडेर जानु नैतिक कार्य हुन्छ त ? अहँ कदापी हुन्न ।

नेपाली फुटबलको विकास क्रममा मसिहाका रुपमा देखिएका अल्मुताइरीले आफू चोखो रहेको पनि त प्रमाण पाउनुपर्छ नि । उनले पनि त आफू यो राजिनितीको एक पात्र नरहेको आफूलाई प्रमाणित गर्नुपर्छ नै ।

के एक विदेशी नागरिक हो भन्दैमा सबै घटनाक्रमबाट आफै स्वघोषित क्लिन चिट लिँदै हिड्न अल्मुताइरी पाउँछन् त ? उनले मात्रै किन घटनाक्रमको विकाससँगै शंकाको लहरोभित्र रहेका अध्यक्ष शेर्पा र वरिष्ठ उपाध्यक्ष नेम्वाङ्गलाई न्यायिक कठघेरामा उब्भ्याएर सम्पूर्ण फुटबलप्रेमिहरुले प्रश्न सोध्ने मौका पाउनुपर्छ । कसैले पनि सत्यताको तराजुको छेउमा निर्माण गरिएको न्यायिक कठघेराबाट उम्किएर चोख्ख्निे मौका पाउँदैनन् ।

यति मात्रले यो रचित कथाको अन्त्य हुन्न । यो कथाको एक दर्विलो पात्रको रुपमा स्वतन्त्र पत्राकारिताको प्रतिकको रुपमा रहेको संचारमाध्यम मेरोखेल डटकम पनि हो । मेरोखेल डटकमसँगै अल्मुताइरीले यसका दुइपत्रकारलाई पनि नेम्वाङ्गको मतियारको रुपमा स्थापित गर्ने प्रयास गरेका छन् । यो उनले एन्फालाई बुझाएको दुई पेज लामो निवेदनबाट स्पष्ट हुन्छ । यति ठूलो आरोप लगाएका अल्मुताइरीसँग यसको यथेष्ट प्रमाण के छ ? हाम्रो प्रश्न अल्मुताइरीलाई ?

अल्मुताइरीले लगाएको यो आरोपको हामी ठोकुवा गरेर भन्छौ उनीसँग कुनै पनि प्रमाण छैन । के नेपालको पत्रकारित उनले भनेको जसरी कसैको मतियार भएर संचालित छ त ? यसको जवाफ अल्मुताइरी स्वयंले नै दिनुपर्छ । नेपालको पत्रकारितामाथि बिना प्रमाण औलां ठड्याउने अल्मुताइरीलाई त्यो साहस कसले दियो ?

नेपाल आगमनको दिन देखि नै नेपाली मिडियालाई बेवास्ता गर्दै सामाजिक सञ्जालमा आफ्नो नेटवर्क बनाइरहेका अल्मुताइरीले कहिले नेपालको बास्तविक मिडियाको प्रश्नको कसिमा आउने साहस गरे त ? किन आउँदैन उनी खुलेर मिडियामा ? कुन प्रश्न्को उत्तर दिन उनलाई हम्मे हम्मे परेको हो ? यो सबको जवाफ त अल्मुताइरीबाहेक कसैसँग पनि छैन ।

हामी पनि फुटबल समर्थकको हिसाबले अल्मुताइरीलाई खेदो खनेर उनको काममा अड्चन पैदा गर्ने मनसायमा छैनौ । उनको कार्यसफलताको सबैभन्दा ठूलो पात्र बन्ने सोचमा छौ । तर के सदासयता र सकारात्मकता दोश्रो पक्ष भनिएका अल्मुताइरीले देखाउनु पर्दैन होला ?

यदि उनी कसैको चालमा आफ्नो चाल मिलाइरहेका छन् भने यसले अन्तत सबैभन्दा ठूलो घाटा स्वयं अल्मुताइरीलाई नै हुनेछ । अन्तराष्ट्रिय टोलि सम्हाल्ने दौडको पहिलो बामे चालिरहेका अल्मुताइरी अनुभवको कमिका कारण आफ्नो भावनालाई सम्हाल्न नसकिरहेको नतिजा स्वरुप पछिल्लो घटनाक्रम विकसित भएको हो भने यसले नेपाली फुटबललाई पनि राम्रो गर्ने संकेत देखिदैन । यो गाम्भिर्यतालाई अल्मुताइरी स्वयंले पनि बुझ्न आवश्यक छ ।

शंकाको सुविधा अल्मुताइरीलाई प्रदान गर्ने हो भने उनलाई ह्याण्डल गरिरहेका उनका आसे पासेको गलत निर्णयको सिकार अल्मुताइरी बनिरहेका छन् । नेपाली परिवेश र स्वार्थसिद्धिको फोहोरी खेल खेल्न माहिर नेपाली राजनितिको चपेटामा अल्मुताइरीलाई प्रयोग गरिदै छ भने इतिहासको कडीमा मुखौटा छोपेर फुटबलमाथि हालिमुहाली गर्न खोज्ने पात्रहरु एकदिन नाङ्गिने निश्चित नै छ । उनीहरुको स्वार्थसिद्धिको खेलमा यदि अल्मुताइरी निर्दाेष साबित भएमा नेपाली फुटबलले यी चलखेलका भागिदारहरुले कदापि माफि भने पाउनेछैनन् ।

यो श्रृंखलामा घटनाक्रमहरुको तारतम्य नमिल्दै गएपछि कतार सरकार पनि पाहुनाको रुपमा आमन्त्रित भएको छ । अल्मुताइरी कतार फुटबल संघको सहयोगमा नेपाल आएकोले नेपालस्थित कतारी राजदूतावासको पनि चाँसो जोडतोडका साथ देखिएको छ । कतार पनि यो समस्यालाई चाँडोभन्दा चाँडो सुल्झाउन नै चाहन्छ । विशेष गरी उसको चाँसो नेम्वाङ्ग र अल्मुताइरी मात्र नभएर पत्रकारमाथि भएको दुब्र्यवहारमा पनि रहेको बुझिएको छ ।

यो सबै समस्या समाधानका लागि नेपालस्थित कतारको राजदूतावासले समस्या समाधान गराउन भुमिका निर्वाह गर्न आग्रह गरेका ब्यक्ति हुन् रवि राजर्णिकार । उनी पनि सक्दो प्रयासका साथ समस्या समाधानमा लागिपरेको नै देखिन्छ ।

पछिल्लो ताजा घटनाक्रम

‘अस्ति मंगलबार मसँगै अल्मुताइरी र नेम्वाङ्ग जी हामी असझदारीलाई दूर गर्न लामो समय लगाएर वार्तामा बस्यौ’,कर्णिकारले भने,‘सो समयमा दुबै पक्षले हात मिलाएर एउटा सकारात्मक प्रेस विज्ञप्ति निकाल्दै सबैलाई कुनै असमझदारी नरहेको सन्देश दिने निर्क्यौल निस्किएको थियो ।’

कर्णिकारले मेरोखेल डटकमसँग कुरा गर्दै अहिले पनि कुनै घटनाक्रम नबिग्रिएको र घटनाक्रमहरु सकारात्मक रुपले नै अघि बढीरहेको बताए । उनले मेरोतर्फबाट दिइएको कार्य सकारात्मक रुपले नै टुङ्गिनेमा विश्वस्त रहेपनि अब यदि कसैले म सहमति गर्दे गर्दिन भन्छ भने त्यसको कुनै उपचार नरहेको जिकिर गरे ।

कर्णिकारले भने,‘अब अस्ति प्रशिक्षक कामले पोखरा जाने र भोलिपल्टै अर्थात बुधबार फर्कने सहमति भएको थियो ।’

उनले यदि कसैले नेपाली फुटबलको विकासमा अवरोध गर्न खोज्छ र सहमति भाड्नेतर्फ उन्मुख हुन्छ भने त्यस्तो ब्यक्तिको भण्डाफोर चाँडै नै हुने तर्क पनि राखे । उनले चाँडै सहमति बन्नेमा विश्वस्त रहेको समेत धारणा ब्यक्त गरे ।

अर्काेतर्फ करिब दुई साताअघि काम गर्न अवरोध सिर्जना गरेको आरोप लागेका वरिष्ठ उपाध्यक्ष नेम्वाङ्ग पनि मंगलबारको दिन सहमतिको ह्याण्डसेक भएको भोलिपल्टै संयुक्त प्रेस विज्ञप्ति मार्फत सहमति बनेको सन्देश दिन आत्तुर रहेतापनि अहिले सहमतिमा खलल पुगेको हो कि भन्ने आशंका ब्यक्त गरिरहेका छन् ।

उनले मेरो नाममाथि लागेको दाग समयक्रमसँगै पखालिदै जाने विश्वासका साथ अहिलेलाई फुटबल विकासमा उत्पन्न भएको गतिरोध अन्त्यका लागि सकारात्मक सोचका साथ सहमतिका लागि तयार भएपनि सहमति बन्न नदिने वातावरण बनाइरहेको आरोप लगाएका छन् ।

उनले दुईपक्षबिच भएको वार्तामा प्रशिक्षक अल्मुताइरी पनि सकारात्मक रहेको र उनले लगाएको आरोप पत्रकारको स्टाटसमा लाइक गरेकै मात्र भरमा मात्र रहेको स्विकारेपछि सहमतिको ड्राफ्टमा मात्र कुरा अड्किएको अहिले किन ढिलाई भइरहेको कुनै जानकारी नरहेको जिकिर गरेका छन् ।

नेम्वाङ्ग वार्ताको विषयमा भन्छन्,‘हेर्नुस् मंगबलार म कर्णिकार जीको मध्यस्थतामा अल्मुताइरी जीसँग वार्तामा बसे र उनले पत्रकारको स्टाटसमा लाइक गरेकोले चित्त दुखेको भएर मैले फेसबुकमा आवेशमा आएर तपाइमाथि आरोप लगाएको हुँ । किन कि मलाई एन्फाकै मान्छेले सपोर्ट नगर्ला कि भन्ने थियो ।’

उनले अल्मुताइरीको कुरा सुनेर नादान रुपले लगाएको आरोपमा अडिक भएर फुटबल विकासको क्रमभंग गर्ने पात्रको रुपमा आफू स्थापित हुन नचाहेको बताए । उनले कुनै पनि हालतमा आफू सहमतिको लागि तयार रहँदा रहँदै पनि विगतको दुई दिनमा सहमति बन्न नदिन कसैले खेलिरहेको आशंका ब्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :