अल्मुताइरी विवादमा एन्फा लाचार !

बिभा थापा

काठमाण्डौं । बिहिबार साँझ ६ बजे ललितपुरको एक तारे होटलमा जारी अल्मुताइरी विवादलाई सुल्झाउन एन्फा पदाधिकारीसँगै राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव रमेश सिलवालसँगै उपस्थित भए छानविन समितिका सदस्यगण । यो बैठकको उद्देश्य छानविनले देखाएको तथ्यले निर्धारण गर्ने दिशालाई कार्यान्वयनमा लग्नु नै हो ।

बैठकमा उपस्थित एक सदस्यले मेरोखेल डटकमसँग कुरा गर्दै छानविन समितिले प्रतिवेदन पेश नगरेपनि यो समितिले निष्ठापूर्वक सत्यतथ्य नै बाहिर ल्याउन खाजेको भान भएको बताए । उनले प्रतिवेदन कार्यान्वयनका लागि राखेपले सहज वातावरण सिर्जना गर्न एन्फा अध्यक्ष कर्माछिरिङ्ग शेर्पा,वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ्ग,उपाध्यक्षद्वय विरबहादुर खड्का,कृष्ण थापा र महाचिव इन्द््रमान तुलाधरसँग अन्तिम निष्कर्षको निम्ति बैठक बसेको बताए ।

बैठकमा उपस्थित सदस्यका अनुसार बिहिबारको बैठक अल्मुताइरीले लगाएको आरोपमा सत्यता नदेखिएको र लगाएको आरोप फिर्ता लिदै माफि माग्नुपर्ने देखिएकोमा यसलाई सहज कसरी बनाउने भन्ने विषयमा केन्द्रित रहेको बताए । उनले बैठकमा छानविन समितिका संयोजक पुरेन्द्र विक्रम लाखेले पनि एन्फा अध्यक्ष शेर्पालाई चिठ्ठि काँटेर अल्मुताइरीलाई कारवाही स्वरुप माफि माग्न लाउनु भन्ने सल्लाह दिएको बताए ।

सदस्यका अनुसार बैठकमा संयोजक लाखेले विदेशी भएपनि यदि गलती प्रमाणित छ भने माफि माग्नुपर्छ भन्ने प्रतिक्रिया समेत राखेका थिए ।

तर एन्फामहासचिव तुलाधरले एन्फाले चिठ्ठी काँटेर कारवाहीको प्रक्रिया अघि बढाउँदा प्रशिक्षकले नमान्ने प्रतिक्रिया दिएको सदस्यले मेरोखेल डटकमलाई बताए । उनले तुलाधारको जवाफलाई साबर गर्दै एन्फाले चिठ्ठी काँटेर कारवाही गर्न सक्ने अवस्था नरहेको निरिहता ब्यक्त गरे ।

त्यसपछि ५ घण्टा लामो चलेको बैठकले राखेपले अल्मुताइरीलाई चिठ्ठी काँटेर पुनः एकपटक अवस्था बताउने प्रक्रिया अघि बढाउन सक्ने आशयमा बैठक टुङ्गिएको बताइएको छ ।

पछिल्लो समय कतारको सहयोगमा नेपाल आएका कुवेती नागरिक अल्मुताइरी एन्फाको कार्यसमितिमाथि पनि हावि हुँदै आएका छन् ।

भदौ १९ गते राखेपले लाखेको संयोजकत्वमा ७ सदस्यीय छानविन समिति गठन गरेको थियो । छानविनको क्रममा समितिले मेरोखेलकर्मीसँगै एन्फा अध्यक्ष शेर्पा, वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ्ग,उपाध्यक्षद्वय विरबहादुर खड्का,कृष्ण थापा,महाचिव इन्द््रमान तुलाधर,कुवेती नागरिक अल्मुताइरी र एन्फा सदस्य किरण राई लगायत १४ जनासँग आवश्यक लिखित बयान लिएर सक्काइसकेको छ ।

यसअघि पनि कतार राजूदतावासको चाँसो र टाउँको दुखाई भएपछि अल्मुताइरीको विवाद समाधानका लागि श्रावण १९ गते नेपाल इक्वेस्ट्रियन संघका अध्यक्ष रवि राजकर्णिकारले नेम्वाङ्ग र अल्मुताइरीलाई काठमाण्डौको एक होटलमा भेटेर समस्या समाधानका लागि प्रयास गरेका थिए । सो दिन अल्मुताइरीले आफूले आवेशमा आएर आरोप लगाएको स्विकार्दै स्टाटस मेट्ने र आपसी समझदारीमा अघि बढ्ने प्रतिबद्धता जनाएपनि त्यसपछि कुनै चासो नदिइ बसेका थिए ।

छानविनका क्रममा राजर्णिकारलाई पनि समितिले डाँकेको थियो । राजकर्णिकारले बयानका क्रममा अल्मुताइरीले कतारी राजदूत र आफ्नो अगाडी मेरोखेल डटकमका पत्रकारमाथि अपशब्द प्रयोग गरेको स्विकारेको समितिलाई जानकारी समेत गराएका थिए ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले कुवती नागरिक अब्दुल्लाह अल्मुताइरीका कारण शुरु भएको विवादको छानविन गर्न गरिएको माँगको छानविन प्रतिवेदन अझै सार्वजनिक हुन सकेको छैन । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बनाएको छानविन समितिलाई प्रतिवेद तयार पार्न दिइएको समय घर्किएको ११ दिन बितिसकेको छ ।

श्रावण १५ गते बसेको एन्फाको आकस्मिक कार्यकारिणी बैठकले अल्मुताइरी विवाद आफ्नो बलबुताबाट निष्कर्ष निकाल्न नसक्ने जनाउँदै युवा तथा खेलकुद मन्त्रालयलाई घटनाको यथार्थ छानविन गर्न आग्रह गर्ने निर्णय गरेको थियो । तर मन्त्रालयनले हेर्न नभ्याउने बताउँदै राखेपलाई छानविन गर्न आदेश दिएको थियो ।

श्रावण १९ गते मन्त्रालयको आदेश बमोजिम राखेपका तत्कालिन कार्यवाहक सदस्यसचिवको जिम्मेवारीमा रहेका एकेन्द््र कुँवरले पुरेन्द्रविक्रम लाखेको संयोजकत्वमा ७ सदस्यीय छानविन समिति गठन गरेको थियो । कुवँरले जापान ओलम्पिक भ्रमणमा रहेका सदस्यसचिव रमेश सिलवालसँगको सहकार्यमा समितिलाई ७ दिन भित्र आवश्यक छानविन गरी प्रतिवेदन तयार पार्न अख्तियारी प्रदान गरेको थियो ।

यसक्रममा छानविन समितले श्रावण २८ गते आइतबारको दिन यस घटनासँग सम्बन्धित्रत र आवश्यक सबै १४ जनालाई डाँकेर लिखित बयान पनि सक्काएको थियो । तर त्यसपछि थप ८ दिन बितिसक्दा पनि राखेपले प्रतिवेदन मन्त्रालयमा बुझाउने प्रक्रिया थालेको छैन । यसले प्रतिवेदन सार्वजनिक गर्ने समय पनि लम्बिएको प्रष्ट नै देखिन्छ ।

कुवेती नागरिक अल्मुताइरीले मेरोखेल डटकमका पत्रकारसँग मिलेर नेम्वाङ्गले आफूलाई काम गर्न अवरोध सिर्जना गरेको आरोप लगाएका छन् । आरोप लगाएका कुवेती नागरिकले कुनै पनि आरोपको ठोस प्रमाण भने अझै कतै पेश गर्न सकेका छैनन् ।

अल्मुताइरीले ब्यक्तिगत रिस साँध्ने मनसायले कुनै ब्यक्तिको फेसबुक स्टाटसमा लाइक गरेको भरमा नेम्वाङ्गमाथि चरित्र हत्या हुने गरी संघिन आरोप लगाएका छन् ।

श्रावण ७ गते बिहिबार अल्मुताइरीले राष्ट्रिय टोलिको प्रशिक्षण चल्दाचल्दै सार्वजनिक स्थलमा धुम्रपान सेवन गरेकोमा पत्रकारले सामान्य रुपमा प्रश्न गर्दा अपशब्द प्रयोग गर्दै दुर्ब्यवहार गरेपछि शुरु भएको विवादमा राखेपले छानविन शुरु गरेको थियो ।

यस्तै श्रावण १० गते आइतबार प्रशिक्षक अल्मुताइरीले एन्फा वरिष्ठ उपाध्यक्ष नेम्वाङ्गमाथि किटान गर्दै तीन सातादेखि काम गर्न अवरोध सिर्जना गर्दै नाटक मञ्चन गरेको आरोप लगाएका थिए । उनले फेसबुक स्टाटस लेख्दै नेम्वाङ्गको कारण आफूले राजिनामा दिन लागिरहेको उल्लेख गरेका थिए ।

सोही दिन मेरोखेल डटकमले एन्फालाई अल्मुताइरी पत्रकारमाथि दुर्ब्यवहार गरेको भन्दै कारवाहीको माँगसहित पत्र बुझाएको थियो ।

त्यसै दिन नेम्वाङ्गले अल्मुताइरीले लगाएको आरोप कपोकल्पित भएको र आसन्न एन्फा निर्वाचनका लागि षड्यन्त्र भएको बताउँदै आरोप प्रमाणित भए राजिनामा लिने बक्तब्य दिएका थिए ।

श्रावण १२ गते नेम्वाङ्गले पनि एन्फामा लिखित रुपमा अल्मुताइरीको आरोपमाथि छानविन गर्न र दोषि ठहरिने पक्षलाई कारवाहीको माँग सहित पत्र पेश गरेका थिए ।

घटनाक्रम बढेदै गएपछि श्रावण १४ गते अल्मुताइरीले नेम्वाङ्ग र मेरोखेलकर्मीमाथि छानविन हुनुपर्ने माँगसहित एन्फालाई पत्र पेश गरेका थिए । उनले आफ्नो पत्रमा नेम्वाङ्गले मेरोखेल डटकमलाई प्रयोग गर्दै आफूबिरुद्ध निरन्तर ब्यक्तिगत चरित्रमाथि प्रहार गर्ने प्रयास भएको आरोप लगाएका थिए ।

अल्मुताइरीले सोही पत्रमा श्रावण २६ गतेभित्र कारवाही नगरिए आफूले राजिनामा दिएर नेपाल छोड्ने समेत उल्लेख गरेका थिए । यसअघि पनि अल्मुताइरीले श्रावण १० गते राजिनामा दिने बताएका थिए । तर उनले राजिनामा पत्र भने अझै कतै बुझाएका छैनन् ।

त्यसपछि एन्फाले श्रावण १५ गते आकस्मिक कार्यकारिणी बैठक डाँकेको थियो तर उक्त बैठकले समस्या समाधानका लागि युवा तथा खेलकुद मन्त्रालयलाई गुहार्ने निर्णय गर्दै मन्त्रालयलाई छानविन गर्न माँग गरेको थियो ।

एन्फाले फिफा र आफ्नै विधानमाथि टेकेर विधानविपरित बाह्य हस्तक्षेप हुने गरी विवाद समाधानका निम्ति युवा तथा खेलकुद मन्त्रालयलाई गुहारेको थियो । जबकी फिफाको विधानले फिफा मातहतको संघसंस्थाले आफैभित्रको समस्या समाधानका निम्ति तेश्रो पक्षलाई निम्त्याउन नहुने स्पष्ट ब्यवस्था गरेको छ ।

छानविन समितिले बुधबार प्रतिवेदन बुझाउने

राखेपद्वारा गठित एन्फा विवाद छानविन समितिले भदौ ९ गते बुधबारका दिन प्रतिवेदन बुझाउने जनाएको छ । छानविनको अवधि ७ दिन निर्धारण गरिएको भएपनि छानविनका निम्ति आवश्यक प्रक्रियाहरु लम्बिएकोले प्रतिवेदन बुझाउन समय लागेको समितिकी प्रवक्ता सुवर्ण श्रेष्ठले मेरोखेल डटकमलाई जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :