काठमाडौं तेक्वान्दोमा खड्का निर्विरोध

काठमाडौं । काठमाडौं जिल्ला तेक्वान्दो संघको अध्यक्षमा अशोक खड्का ४ वर्षका लागि निर्विरोध निर्वाचित भएक छन् ।

चावहिलस्थित केएल टावरको इम्पेरियल बैंक्युटमा शनिबार सम्पन्न जिल्ला कार्यसमितिको दोश्रो अधिवेशनले तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक खड्काको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्यसमिति समेत निर्विरोध चयन गरेको छ । अध्यक्षमा खड्का बाहेक कसैले उम्मेदवारी दिएनन् ।

अध्यक्ष बाहेक सबै पदमा आवश्यक भन्दा बढीले उम्मेदवारी दर्ता गराएपनि अन्तिम समयमा सबैले उम्मेदवारी फिर्ता लिने सहमति भएपछि जिल्ला कार्यसमिति निर्विरोध चयन भएको हो ।

सरोज बाँस्कोटाले उपाध्यक्ष, गणेश तामाङले सचिव र सारदा धिमालले कोषाध्यक्षको जिम्मेवारी पाए । उपाध्यक्षमा कविराज नेगी लामा, सचिवमा टीकादत्त दाहाल र विकेश विडारी तथा कोषाध्यक्षमा विमला लामाले उम्मेदवारी दिएका थिए ।

सदस्यमा गौरव रजक, विशाल सुर्खेती, मुना खवास, प्रदीप आले मगर र कविता श्रेष्ठ चयन भए । सदस्यमा संगीता राईले पनि उम्मेदवारी दर्ता गराएकी थिइन् ।

खड्का अघिल्लो कार्यसमितिको उपाध्यक्षमा सर्वाधिक मत ल्याएर विजयी भएका थिए । नयाँ खेलकुद ऐन लागू भएपछि अघिल्लो कार्यसमितिका अध्यक्ष प्रमोद पराजुलीले राजिनामा दिएपछि खड्काले १ वर्ष कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्ने अवसर पाएका थिए ।

नयाँ खेलकुद ऐनमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कर्मचारी खेल संघमा बस्न नपाउने प्रावधान अनुसार पराजुलीले अध्यक्षबाट राजिनामा दिएका थिए ।

नवनिर्वाचित अध्यक्ष खड्काले राम्रो काम गरेर आफ्नो कार्यकाल स्मरण योग्य बनाउन प्रयासरत रहने बताउदै सबैसंग सहकार्य गर्दै तेक्वान्दोको विकास र विस्तारमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले काठमाडौं जिल्लालाई देशकै नमुना जिल्ला तेक्वान्दोका रुपमा स्थापित गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।

नवनिर्वाचित पदाधिकारीहरुलाई राखेपका सदस्यद्वय नन्दा बस्याल र रेणुका श्रेष्ठले एक कार्यक्रमबीच प्रमाण पत्र प्रदान गरे । बागमती प्रदेश तेक्वान्दो संघका अध्यक्ष केशव पुरीले पदाधिकारीलाई शपथ ग्रहण गराएका थिए । त्यसअघि साधारण सभाको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष समेत रहेका संघीय सांसद जीवनराम श्रेष्ठले उद्घाटन गरेका थिए ।

उद्घाटनका अवसरमा कागेश्वरी मनोहरा नगरपालिका मेयर कृष्णहरि थापा, नेपाल तेक्वान्दो संघका महासचिव दीपराज गुरुङ, तेक्वान्दोका प्रमुख प्रशिक्षक नवीनकुमार श्रेष्ठलगायतको उपस्थिति थियो । साधारण सभामा १ सय ६५ प्रतिनिधिको उपस्थिति रहेको निर्वाचन अधिकृत तीर्थराज घिमिरेले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :