अन्तर्राष्ट्रिय बक्सिङ्ग दिवसमा पत्रकारलाई प्रशिक्षण

काठमाडौ । अन्तर्राष्ट्रिय बक्सिङ्ग दिवसको अवसरमा नेपाल खेलकुद पत्रकार मञ्च अन्तर्गत एनएसजेएफ एकेडेमी र काठमाडौं जिल्ला बक्सिङ्गसंघद्वारा शुक्रबार काठमाडौंमा खेल पत्रकारहरुलाई बक्सिङ्ग खेलबारे प्रशिक्षण दिईएको छ ।

एकेडेमी र संघले संयुक्त रुपमा आयोजना गरको प्रशिक्षण कार्यक्रममा ४६ जना खेल पत्रकारहरुको सहभागिता रहेको थियो । सहभागीलाई प्रशिक्षक अनुप लामाले बक्सिङ्ग खेलको सैद्धान्तिक र प्राविधिक पक्षबारे प्रशिक्षण दिएका थिए ।

हरेक बर्ष अगस्ट २७ तारिख विश्वभर विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय बक्सिङ्ग दिवस मनाइदै आएको छ । सोही क्रममा नेपालमा पनि बक्सिङ्गसँग सम्बद्ध विभिन्न संघ संस्थाहरुले विभिन्न कार्यक्रम गरी बक्सिङ्ग दिवस मनाईरहेका छन् ।

प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहका प्रमूख अतिथी राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवालले बक्सिङ्ग दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै यस्ता कार्यक्रम खेलकुद विकासमा सहयोगी हुने विश्वास व्यक्त गरे । उनले बक्सिङ्ग संघमा देखिएको विवाद छिटो हल गर्ने पनि बताए ।

काठमाडौं जिल्ला बक्सिङ्ग संघका अध्यक्ष दिनकलाल श्रेष्ठले बक्सिङ्ग दिवसको अवसरमा एनएसजेफ एकेडेमीसँग मिलेर कार्यक्रम गर्न पाउनु खुशीको क्षण भएको बताए ।

नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गा नाथ सुवेदी (देवेन्द्र) ले पत्रकारहरुलाई बक्सिङ्ग खेलको प्राविधिक पक्षमा प्रशिक्षणले अब्बल बनाउने अपेक्षा गर्दै यसबाट आगामी दिनमा बक्सिङ्गको समाचार संकलन तथा लेखनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

नेपाल बक्सिङ्ग संघका महासचिव सविन भट्टाचार्यले बक्सिङ्ग नेपालमा पदकको सम्भावना बोकेको खेल भएकोले यसको विकासमा ध्यान दिन सरोकार वाला सबै पक्षको ध्यानाकर्षण गराए ।

यसैगरी एनएसजेएफ एकेडेमीका संयोजक निरञ्जन अधिकारीले पत्रकारहरुलाई विभिन्न खेलको प्राविधिक पक्षबारे जानकारी गराउने उद्देश्यमा ‘नो योर गेम’ं श्रृंखला शुरु गरिएको जनाकारी गराए । अधिकारीले बक्सिङ्ग दिवसको अवसरमा बक्सिङ्ग खेलको कार्यक्रम गरिएको र आगामी दिनमा अन्य खेललाई समेत निरन्तरता दिईने बताए ।

कार्यक्रममा नेपाल बक्सिङ्ग संघका पदाधिकारी, खेलाडी, प्रशिक्षक, रेफ्री लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रशिक्षणमा नेपाली बक्सिङ्गको इतिहास, यसको अन्तर्राष्ट्रिय इतिहास, बक्सिङ्ग खेलको उत्पत्ति, तथा यो खेलका प्राविधिक पक्षबारे पत्रकारहरुलाई जानकारी समेत गराइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :