नेपालमा पहिलो पुरुष तथा महिला भलिबल फ्रेन्चाईज लिग हुने


काठमाण्डौं । नेपाल भलिबल संघ (एनबीए) ले महिला र पुरुष भलिबलको फ्रेन्चाईज भलिबल लिग नेपाल सुपर लिग भलिबल आयोजना गर्न नेपाल स्पोर्ट्स म्यानेजमेन्ट एण्ड इभेन्ट्स प्रालि सँग सम्झौता गरेको छ ।

एनबीए र नेपाल स्पोर्ट्स म्यानेजमेन्ट एण्ड इभेन्ट्स प्रालिले १० वर्षको सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै नेपाल भलिबल संघकी उपाध्यक्ष निरोज मास्के र नेपाल स्पोर्ट्स म्यानेजमेन्ट एण्ड इभेन्ट्स प्रालिका अध्यक्ष आश्रयता कार्की चौधरीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार नेपाल स्पोर्ट्स म्यानेजमेन्ट एण्ड इभेन्ट्स प्रालिले सन् २०३० सम्म महिला र पुरुषको फ्रेन्चाइज लिग आयोजना गर्ने छ । यो लिग नेपाल सुपर लिग (एनएसएल) को नामले वार्षिक रुपमा आयोजना हुने छ । लिगमा सात प्रदेशका सातवटा महिला र पुरुष टोलिहरुको सहभागिता रहने छ ।

नेपाल सुपर लिग भलिबल एनबीएको प्राविधिक सहयोगमा आयोजना हुने छ । जसबापत संघले प्रतियोगिताबाट भएको नाफाको ३० प्रतिशत थप सहयोग पनि पाउनेछ । यस्तै नेपाल स्पोर्ट्स म्यानेजमेन्टले नेपाल भलिबल संघले आयोजना गर्ने महिला तथा पुरुष एनभिए क्लब च्याम्पियनसिपको लागि सहयोग गर्नेछ ।

प्रतियोगिताको पहिलो संस्करण नोभेम्बर १७ देखि डिसेम्बर १७ सम्म आयोजना गर्ने लक्ष्य राखिएको सम्झौता पत्रमा हस्ताक्षर गर्ने क्रममा भलिबल संघकी उपाध्यक्ष निरोज मास्केले बताईन् ।

नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्दले मिति पक्का भइसकेपछि खेलाडीको छिनोफानो गर्दै क, ख, ग र घ मा खेलाडीको वर्गिकरण गरिने बताए ।

नेपाल स्पोर्ट्स म्यानेजमेन्टले यस वर्षको सुरुवातमा फुटबलको फ्रेन्चाईज खुकुरी नेपाल सुपर लिग (एनएसएल) आयोजना गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :