प्रतिस्थापित बजेटमा खेलकुदतर्फ कटौती

काठमाण्डौं । नेपाल सरकारले पुरानो सरकारले ल्याएको बजेटलाई प्रतिस्थापन गर्दै खेलकुदतर्फ बजेटमा ६ करोड रुपैयाँ कटौती गरेको छ ।

अर्थमन्त्री जर्नादश शर्माले शुक्रबार प्रतिस्थापन बजेटको घोषणा गर्दै खेलकुद क्षेत्रमा यसअघिको सरकारले घोषणा गरेको बजेटमा ०.०१ प्रतिशतले कटौती गरेका हुन् ।

यसअघि ओली सरकारले पेश गरेको बजेटमा ०.१७ प्रतिशत हिस्सा खेलकुदले ओगटेको थियो भने अहिले घटेर ०.१६ प्रतिशतमा खुम्चिएको छ ।

यसअघि जेठ १५ गते पूर्व अर्थमन्त्री विष्णु पौडेलले खेलकुद मन्त्रालयलाई २ अर्ब ७४ करोड रुपैयाँ विनियोजन गरेकोमा अहिलेका अर्थमन्त्री जनार्दन शर्माले खर्च कटौतीको नाममा २ अर्ब ६८ करोड २६ लाख रुपैयाँ विनियोजन गरेका छन् ।

नयाँ सरकारले पुरानो सरकारको कार्यक्रमहरुलाई निरन्तरता दिने घोषणा गर्दै भौतिक पूर्वाधार निर्माणतर्फको बजेटमा भने कुनै कटौती गरेको छैन । तर सरकारले संघिय चालु तथा पुँजीगततर्फको बजेटमा भने कटौती गरेको छ ।

यसअघि संघीयतर्फको बजेट २ अर्ब १९ करोड ९३ लाख थियो भने अहिले कटौती भएर २ अर्ब १३ करोड ५१ लाखमा झरेको छ ।

नयाँ सरकारले यसअघिका कार्यक्रमलाई निरन्तरता दिने भएको छ । जसअन्तर्गत पूर्वाधार, प्रशिक्षण र प्रतियोगिता सञ्चालन लगायतका कार्यक्रमहरुलाई निरन्तरता दिने योजना बनाएको छ ।

यस्तै झापामा निर्माण गर्ने भनिएको अन्तर्राष्ट्रियस्तरको मदन भण्डारी रंगशाला,मूलपानीलगायत देशका ६ स्थानमा क्रिकेट मैदान निर्माण गर्ने अघिल्लो सरकारको निर्णयलाई अघि बढाउने निर्णय गरेको छ ।

सरकारले पोखरा रंगशालामा बाँकी रहेका निर्माण कार्यहरुलाई सम्पन्न गर्न छुट्याईएको बजेटमा कुनै फेरबदल गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :