नेपालले विश्व पुरुष बक्सिङ्ग च्यापियन्सिप छनौट खेल्ने

सर्वियाको राजधानी बेलग्रेडमा आयोजना हुने आईबा विश्व पुरुष बक्सिङ्ग च्यापियन्सिपमा नेपालले सहभागिता जनाउने भएको छ ।

आईबा विश्व पुरुष बक्सिङ्ग च्यापियन्सिपमा नेपालले सहभागिता जनाउने भएपछी नेपाल बक्सिङ्ग संघले सो प्रतियोगिताका लागी छनौट खेलहरु आयोजना गर्ने भएको छ ।

अक्टोबर २५ देखि नोबेम्बर ६ तारिखसम्म बेलग्रेडमा आयोजना हुने प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको छनौट प्रतियोगिताको लागि नेपाल बक्सिङ्ग संघका सदस्य मान बहादुर भण्डारीको संयोजकत्वमा ५ सदस्यीय छनौट समिति गठन गरिएको बक्सिङ्ग संघले जनाएको छ ।

यस समितिमा राष्ट्रिय खेलकुद परिषद अन्तर्गत तालिम तथा प्रशिक्षण विभाग र राष्ट्रिय टिम तयारी समितिका एक एक जना प्रतिनिधी, संघको टेक्नीकल संयोजक र बक्सिङ्ग प्रमुख प्रशिक्षक सदस्यको रुपमा रहेका छन् ।

आईबा विश्व पुरुष बक्सिङ्ग च्यापियन्सिपका लागी नेपाल बक्सिङ्ग संघले ४८–५१, ५४–५७, ६०–६३.५ ६३.५–६७ र ६७–७१ किलो ग्राम तौल समूहमा राष्ट्रिव्यापी खुल्ला छनोट प्रतियोगिता आयोजना गर्ने छ । खुल्ला छनौट प्रतियोगिताबाट उत्कृष्ट खेलाडीहरुलाई च्यापियन्सिपका लागी चयन गरिनेछन् । छनौट समितिले दिएको खेलाडी वरियताको आधारमा कति जना खेलाडी च्यापियन्सिपमा छनौट हुने तय हुने छ ।

छनौट खेलहरु आश्विन १–३ सम्म सातदोबाटो बक्सिङ्ग हलमा आयोजना हुने छ । यस्तै खेलाडीको तौल तथा स्वास्थ्य परिक्षण असोज १ गते बिहानं ७–९ बजे सम्म सातदोबाटो बक्सिङ्ग हलमै हुने छ ।

प्रतियोगितामा १ जनवरी १९८१ देखि ३१ डिसिम्बर २००२ बिच जन्मिएका पुरुष खेलाडीहरुले सहभागिता जनाउन पाउने छन् ।

आईबा विश्व पुरुष बक्सिङ्ग च्यापियन्सिपको स्वर्ण पदक विजेताले १ लाख स्वीस फ्रेयाङ्क (लगभग१ करोड २८ लाख नेपाली रुपैयाँ) प्राप्त गर्ने छन् । यस्तै रजत रजत पदक विजेताले ५० हजार स्वीस फ्र्याङ्क (करिब ७४ लाख नेपाली रुपैयाँ) र कास्य पदक विजेताले २५ हजार स्वीस फ्र्याङ्क (करिब ३७ लाख नेपाली रुपैयाँ) पुरस्कार प्राप्त गर्ने छन् ।

छनौट प्रतियोगितामा सहभागी हुनेहरुले निम्म नियमहरुको पालना गर्नु पर्ने छ ।

१. छनौट प्रतियोगिता आईबाको नियम अनुसार खेलाइने छ ।

२. सहभागी खेलाडी स्वयंले खेलाडी रातो र निलो ड्रेस साथै अन्य आवश्यक सामग्रीहरु ल्याउन पर्नेछ ।

३. खेल खेल्न आउन जान र बसोबासको सबै खर्च स्वयं सहभागी टिमले नै बेहोर्नु पर्नेछ ।

४. आयोजकद्वारा छनोट प्रतियोगिताका दौरान प्राथमिक उपचारको व्यवस्था मात्र गरिनेछ ।

५. सहभागी खेलाडीहरुले ४८ घण्टा अगाडिको कोरोना नेगेटिभ भएको रिपोर्ट पेश गर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :