विश्व च्याम्पियनसिपको तैयारी गरिरहेका बक्सर भुपेन भन्छन–‘संघले ध्यान दिनुपर्याे’

लक्ष्मी शाक्य

काठमाडौं । सर्वियाको राजधानी बेलग्रेडमा आयोजना हुने यस संस्करणको आईबा विश्व पुरुष बक्सिङ्ग च्याम्पियनसिमा नेपालले पनि सहभागिता जनाउँदै छ ।

आईबा विश्व पुरुष बक्सिङ्ग च्याम्पियनसिपमा नेपालले सहभागिता जनाउने भएसँगै नेपाल बक्सिङ्ग संघले सो प्रतियोगिताका लागि छनौट प्रतियोगिता आयोजना गर्ने भएको छ ।

संघले छनौट प्रतियोगिताको लागि नेपाल बक्सिङ्ग संघका सदस्य मान बहादुर भण्डारीको संयोजकत्वमा ५ सदस्यीय छनौट समिति गठन गरिसकेको छ ।

छनौट प्रतियोगिताका लागि सातदोबाटोस्थित बक्सिङ्ग हलमा संघले खेलाडीको बन्द प्रशिक्षण समेत शुरु गरिसकेको छ । बिहानी र बेलुकी गरि दुई सत्रमा जारी बन्द प्रशिक्षणमा अहिले २५ जना खेलाडी सहभागि छन् ।

प्रशिक्षणमा सहभागि खेलाडीलाई बक्सिङ्ग संघका सह प्रशिक्षकद्वय प्रकाश थापा मगर र दिपक महर्जनले प्रशिक्षण दिदैं आएका छन् । यससँगै कोरोना महामारीको दोस्रो लहरका कारण ठप्प खेलकुद गतिविधि पुनः सुचारु हुने संकेत देखिएको छ ।

लामो समय फुर्सदिलो बनेका खेलाडी अब भने केहि ब्यस्त रहने देखिएको छ । कोरोना महामारीको अन्यौलतालाई चिर्दै बक्सिङ्ग गतिविधिले गति दिने भएसँगै खेलाडीमा पनि उत्साह पैदा भएको छ ।

आईबा विश्व पुरुष बक्सिङ्ग च्याम्पियनसिपमा छनौट प्रतियोगिताका लागि नेपाल बक्सिङ्ग संघले गराएको बन्द प्रशिक्षणमा सहभागि खेलाडी मध्येका एक हुन्, भुपेन थापा मगर ।

२०७६ साल मंसिरमा घरेलु भुमिमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता समेत रहेका भुपेनले कोरोना महामारीले गर्दा लामो समयपछि प्रशिक्षणमा फर्कन पाउँदा खुसी लागेको बताए ।

‘अहिले प्रशिक्षण राम्रै हुँदैछ, लामो समयपछि प्रशिक्षणमा फर्कदा शुरुमा केहिसमय फिटनेस मेन्टेन गर्न गाह्रो भयो, भुपेनले मेरोखेल डटकमसँग भने,‘प्रशिक्षणमा राम्रो गर्दैछु र प्रतियोगितामा छनौट हुन्छु भन्ने विश्वास छ।’

जारी बन्द प्रशिक्षणमा सिनियर र जुनियर दुवै समूहका खेलाडी सहभागि छन् । यसमा पनि विभागिय टिममा आबद्ध खेलाडीको बाहुल्यता बढि छ । तर,केहि खेलाडी भने विभागिय टिम बाहिरका पनि छन् ।

छनौट प्रतियोगिताको तयारीका लागि लाग्ने सम्पूर्ण खर्च खेलाडी स्वयंले ब्यहोर्नपर्ने बक्सिङ्ग संघले जनाएको छ । छनौट प्रतियोगिताका लागि सम्पूर्ण खर्च खेलाडी स्वयंले जोहो गर्नुपर्दा विभागिय टिम बाहिरका खेलाडीको हकमा केहि समस्या हुने भन्दै त्यस्ता खेलाडीलाई भने संघले केहि सहयोग गर्नुपर्ने भुपेनले बताए ।

यस्तै प्रतियोगिताअघि मात्र प्रशिक्षण गराउने नेपाल बक्सिङ्ग संघको परिपाटी त्यति चित्त बुझ्दो नभएको उनले बताए ।

‘हामी खेलाडीका लागि सबैभन्दा महत्वूर्ण कुरा भनेकै प्रशिक्षण हो, संघले प्रतियोगिताअघि मात्र गराउने प्रशिक्षण हाम्रा लागि पर्याप्त भने छैन, भुपेनले भने,‘नेपालमा राम्रो सम्भावना बोकेको बक्सिङ्ग खेल तथा खेलाडीको स्तरोन्नतीका लागि संघले धेरै भन्दा धेरै प्रशिक्षणको ब्यवस्था मिलाउनु जरुरी छ ।’

३२ वर्षिय भुपेनले १३ औं सागमा बक्सिङ्गतर्फको फाइनलमा भारतका मनिष कौशललाई पराजित गर्दै स्वर्ण पदक जितेका थिए । यसैगरी सन् २०१९ मा चाइनामा भएको यसियन ग्राण्ड स्ल्याम्प बक्सिङ्गमा दजत पदक जितेका उनले २०१४ मा कोरिया तथा २०१८ मा जार्कातामा भएको एसियन बक्सिङ्ग च्याम्पियनसिप समेत सहभाजिगा जनाएका थिए ।

आईबा विश्व पुरुष बक्सिङ्ग च्यापियन्सिपका लागी नेपाल बक्सिङ्ग संघले ४८–५१, ५४–५७, ६०–६३.५-६३.५–६७ र ६७–७१ किलो ग्राम तौल समूहमा राष्ट्रिव्यापी खुल्ला छनोट प्रतियोगिता आयोजना गर्ने छ । खुल्ला छनौट प्रतियोगिताबाट उत्कृष्ट खेलाडीहरुलाई च्यापियन्सिपका लागी चयन गरिनेछन् । छनौट समितिले दिएको खेलाडी वरियताको आधारमा कति जना खेलाडी च्यापियन्सिपमा छनौट हुने तय हुने छ ।

छनौट समितिमा राष्ट्रिय खेलकुद परिषद अन्तर्गत तालिम तथा प्रशिक्षण विभाग र राष्ट्रिय टिम तयारी समितिका एक एक जना प्रतिनिधी, संघको टेक्नीकल संयोजक र बक्सिङ्ग प्रमुख प्रशिक्षक सदस्यको रुपमा रहेका छन् ।

छनौट खेलहरु आश्विन १–३ सम्म सातदोबाटो बक्सिङ्ग हलमा आयोजना हुने छ । यस्तै खेलाडीको तौल तथा स्वास्थ्य परिक्षण असोज १ गते बिहानं ७–९ बजे सम्म सातदोबाटो बक्सिङ्ग हलमै हुने छ ।

प्रतियोगितामा १ जनवरी १९८१ देखि ३१ डिसिम्बर २००२ बिच जन्मिएका पुरुष खेलाडीहरुले सहभागिता जनाउन पाउने छन् ।

आईबा विश्व पुरुष बक्सिङ्ग च्यापियन्सिपको स्वर्ण पदक विजेताले १ लाख स्वीस फ्रेयाङ्क (करिब करोड २८ लाख नेपाली रुपैयाँ) प्राप्त गर्ने छन् । यस्तै रजत रजत पदक विजेताले ५० हजार स्वीस फ्र्याङ्क (करिब ७४ लाख नेपाली रुपैयाँ) र कास्य पदक विजेताले २५ हजार स्वीस फ्र्याङ्क (करिब ३७ लाख नेपाली रुपैयाँ) पुरस्कार प्राप्त गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :