म्याच फिक्सिङ्ग छानबिनमा एन्फाको उदासिनता

लक्ष्मी शाक्य

काठमाडौं । ललितपुरमा जारी सी डिभिजन लिग छनौटका क्रममा सहभागि तीन क्लबले लगाएको म्याच फिक्सिङ्ग आरोपको छानबिन गर्नेप्रति अखिल नेपाल फुटबल संघ (एन्फा) उदासिन देखिएको छ ।

जारी सी डिभिजन लिग छनौटका क्रममा म्याच फिक्सिङ्ग भएको आरोपसहित तीन क्लबले छानबिनका लागि एन्फालाई पठाएको छानबिन पत्रप्रति एन्फा उदासिन देखिएको हो ।

म्याच फिक्सिङ्गको छानबिनका लागि एन्फामा हालसम्म पत्र पठाउने तीन क्लबमा धादिङ्गको शुभारम्भ युवा समाज गल्छी, सिन्धुलीको दुधौली स्पोर्ट्स क्लब र भक्तपुरको भक्तपुर एफसी रहेको छ ।

धादिङ्गको शुभारम्भ क्लबले छानबिनका लागि भदौ २१ गते, दुधौलीले २२ र भक्तपुर क्लबले २६ गते एन्फालाई म्याच फिक्सिङ्गको सत्यतथ्य छानबिनका लागि पत्र पठाएको थियो ।

तीनै क्लबले एन्फालाई पठाएको पत्रको प्रकृति हेर्दा एकै किसिमको छ । लिग छनौटको दोस्रो चरण पुग्ने निर्णायक खेल रेफ्री तथा सम्बन्धीत पक्षको मिलेमतोमा खेलाइएको भन्दै अर्को चरण पुग्ने सम्भावना हुँदा हुँदै आफ्नो क्लब छनौटको पहिलो चरणबाट नै बाहिरीनु परेको क्लबमार्फत एन्फालाई काटेको पत्रमा उल्लेख गरिएको छ ।

सोहि घटनाको सत्यता छानबिन गरि सम्बन्धीत पक्ष दोषी देखिए तत्काल कारवाही गर्नुपर्ने तीन वटै क्लबको माँग रहेको छ ।

तर, छानबिनका लागि एन्फामा पहिलो पत्र आएको ८ दिन बितिसक्दा पनि यो विषयमा अहिलेसम्म एन्फाले कुनै पहल कदमी भुमिका चालेको देखिन्न ।

क्लबले पठाएको पत्रको विषयमा एन्फाले के गर्दै छ? भनेर एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई सोध्दा उनले यो विषयमा एन्फाले केहि कुरा बोल्न नमिल्ने बताए ।

‘सी डिभिजन लिग छनौट म्याच फिक्सिङ्गको विषयमा एन्फाले हेर्ने होइन र हेरेको पनि छैन त्यसकारण यो विषयको बारेमा एन्फालाई केहि थाहा छैन, एन्फा महासचिव तुलाधरले मरोखेल डटकमसँगको कुराकानीको क्रममा भने,‘यो विषयमा एन्फा इन्टीग्रिटी विभागले हेर्ने हो र त्यसैले सोहि विभाग प्रमुख सुदिप आचार्यसँग बुझ्नुस ।’

महासचिव तुलाधारले आफूलाई केही थाहाँ नभएको बताईरहँदा क्लबहरुले छानविनको माँगसहति दर्ता गरेको पत्रमा तुलाधरलाई नै सम्बोधन गरेको देखिन्छ । तुलाधारलाई सम्बोधन गरेर पठाएको पत्र उनको हातमा नपर्नु त असम्भव नै हो ।

यस्तै दुधौली क्लब र भक्तपुर एफसीले पाठएको पत्रमा अध्यक्ष कर्मछिरिङ्ग शेर्पालाई सम्बोधन गरिएको छ । यस्तोमा के महासचिव जस्ते गरिमामाय कार्यकारी पदमा बस्ने तुलाधरको जवाफ पूर्ण रुपमा अमर्यादित रहेको स्पष्ट बुझ्न सकिन्छ ।

सोहि विषयमा एन्फा इन्टीग्रिटी विभागमा बुझ्दा सो विभागलाई यसबारे छानविनका लागि अहिलेसम्म एन्फाबाट कुनै पत्र नआएको प्रतिक्रिया पाईयो ।

‘सी डिभिजन लिग छनौट म्याच फिक्सिङ्ग हामीसँग सम्बन्धित विषय नै होइन, एन्फा इन्टीग्रिटी विभाग प्रमुख सुदिप आचार्यले भने,‘हामी यस विषयमा अहिलेसम्म अनविज्ञ नै छौं, एन्फाबाट आधिकारिक पत्र नआई कसैले मुखले भनेको आधारमा हामीले छानबिन गर्न मिल्दैन, एन्फाबाट छानबिनका लागि आधिकारिक पत्र आएपछि मात्रे हामी छानबिन कार्यअघि बढाउछौं ।’

छनौटमा सहभागि क्लबहरुको ब्यापक असन्तुष्टिहरु आईरहँदा एन्फाको लिग समिति पनि उदासिन नै देखिएको छ । एन्फाको आयोजनामा हुने जुनसुकै लिग खेलहरुको जवाफदेहिता बहन गर्नुपर्ने समितिको अझै पनि सि डिभिजन छनौटको दौरान आएका क्लबहरुको असन्तुष्टि र म्याच फिक्सिङ्गको बढ्दो आशंकालाई निराकरण गर्नेतर्फ अग्रसरता नै नभएको बुझिन्छ ।

लिग कमिटीका संजिव मिश्रले क्लबहरुको आरोप आउनु स्वभाविक रहेपनि सबै आशंकाहरुमा छानविन गर्न असम्भव रहेको प्रतिक्रिया दिए । उनले तीनवटा क्लबहरु मध्ये सबैको भिडियो परिक्षण गर्ने र बाँकी प्रक्रियामा अघि बढ्ने बताए ।

अब यस्तो छानविनको माँग त कति आउँछन्,सबैमा एन्फाले प्रतिक्रिया दिन त असम्भव नै हुन्छ नि’,मिश्रले भने,‘आरोप लागेका खेलहरुको भिडियो फुटेज हेर्नेछौ अनि सो समबन्धि विषयमा हामी ईन्टिग्रिटी विभागमा पत्र पठाउनेछौ ।’

मिश्र भन्छन्,‘तर सरसर्ती हेर्दा निवेदनको आधारमा दुधौलीको माँग जायज देखिदैन । रह्यो शुभारम्भ र भक्तपुरको विषय,तयसमा केही शंका गर्न सक्ने ठाउँ चाहि छ ।’

सम्बन्धित पक्षको यस प्रकारको गैरजिम्मेवार ब्यवहारले एन्फालाई छानबिनका लागि पठाएको मागपत्र पत्रमै सिमित बन्ने चिन्ता सम्बन्धित क्लबलाई छ । एन्फाको यो परिपाटी नयाँ भने पक्कै होइन । एन्फामार्फत आयोजित हुँदै आएको शर्षि डिभिजनको ए डिभिजन लिग, बी डिभिजन लिग र सी डिभिजन लिगमामा पनि म्याच फिक्सिङ्ग भएको चर्को आलोचना एन्फाले खेप्दै आएको छ ।

ग्रास रुट लेभलबाट उत्कृष्ट क्लब तथा खेलाडी छनौटको लागि आयोजित तल्लो लेभलको सी डिभिजन लिग छनौटमा समेत एन्फा सोहि परिपाटीबाट गुज्रिनु नेपाली फुटबल विकासका लागि शुभ संकेत भने पक्कै होइन ।

एन्फाको आयोजनामा जारी छनौट प्रतियोगितामा देशभरबाट ७८ क्लबले सहभागि थिए । भदौ १० गतेदेखी शुरु भएको सी डिभिजन लिग छनौट प्रतियोगिताको सोमबार आज १९ औं दिन बित्दा ३९ खेल सम्पन्न भएको छ ।

यो बिचमा कतिपय क्लबहरु सी छनौटको पहिलो चरणबाट बाहिरीपछि आफ्नो जिल्ला फर्किसकेको छ । दुई चरणमा हुने छनौटको शिर्ष तिनमा रहने क्लबहरु शहिद स्मारक सी डिभिजन लिगका लागि बढुवा हुनेछन् ।

एन्फाले छनौटको दोश्रो चरण असोज १४ गतेबाट सूचारु गर्नुअघि नै सम्बन्धित क्लबहरुको छानविको माँग पुरा नगरी प्रतियोगिता अघि बढाएमा नेपाली फुटबलको सर्वाेच्च निकाय एन्फाको निष्पक्षताको सिद्धान्त धुमिल हुने निश्चित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :