रेफ्रीलाई कारवाही नगरिए अदालत जाने भक्तपुर क्लबको चेतावनी

काठमाडौं । ललितपुरमा जारी सी डिभिजन लिग छनौटबाट बाहिरिएको क्लब भक्तपुर एफसीका अध्यक्ष राम प्रजापतिले छनौटका क्रममा रेफ्रीको गलत निर्णयका कारण खेलको आफूहरु अघिल्लो चरण पुग्नबाट बञ्चित बनेको बताएका छन् ।

मंगलबार क्लबद्वारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रजापतिले लिग छनौट खेलाउने रेफ्रिको गलत निर्णयले आफ्नो क्लब अन्यायमा परेको बताएका हुन् ।

छनौट अन्तर्गत भदौ २६ गते भएको भक्तपुर र दिब्यश्वरी क्लबबिचको खेलमा रेफ्री विजय लामाको गलत निर्णयका कारण आफ्नो क्लब अर्को चरण पुग्ने सम्भावनाकाबिच बाहिरिन बाध्य भएको प्रजापतिको दाबि छ ।

उनले खेलको सत्यतथ्य छानबिनका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) लाई भदौ २६ गते नै पत्र पठाएपनि एन्फाले ध्यान नदिएपछि आफूहरु पत्रकार सम्मेलन गर्न बाध्य भएको बताए ।

फुबटल विकासको जग मानिने सी डिभिजन छनौटमा रेफ्रीको गलत निर्णयले क्लब र खेलाडी अन्यायमा परेको र यस प्रकारको गतिविधि नेपाली फुटबल विकासमा बाधक बन्ने भन्दै एन्फाले यो विषयमा तत्कालै छानबिन प्रक्रिया अघि बढाउनुपर्ने क्लबको माग रहेको छ ।

अन्यायमा परेका क्लबलाई न्याय दिलाउने कदम एन्फाले तत्कालै अघि नबढाए आफूहरु कानुनी प्रक्रियामा जाने चेतावनी समेत दिएका छन् ।

सत्यतथ्य छानबिन नभएसम्म सी डिभिजन लिग छनौट स्थगित गर्नुपर्ने समेत क्लबको माग रहेको छ ।

सी डिभिजन छनौट अन्तर्गत समूह आईमा रहेको भक्तपुरले पहिलो खेल युथ हसनटार क्लब सँग ३–३ गोलको बराबरी खेलेको थियो ।

तर, दोस्रो खेलमा रेफ्रीको गलत निर्णयको सिकार बन्दा दिब्यश्वरीसँग १–१ गोलको बराबरी नतिजा आएपछि आफ्नो टिम बाहिरिनु परेको क्लबको दलिल रहेको छ ।

यो पनि पढ्नुहोस्: म्याच फिक्सिङ्ग छानबिनमा एन्फाको उदासिनता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :