रोनाल्डोको किर्तिमानी खेलमा म्यान यु पराजित

युरोपियन च्याम्पियन्स लिगको नयाँ सिजनको पहिलो खेलमा १० खेलाडीमा सिमित बनेको म्यान्चेस्टर युनाईटेडले हारको सामना गरेको छ ।

मंगलबार राति सम्पन्न खेलमा अन्तिम समयमा गोल खाँदै म्यान यु च्याम्पियन्स् लिगको पहिलो खेलमै हार्न बाध्य भएको हो । उसलाई स्विस क्लब योङ्ग बोइजले २–१ गोल अन्तरले स्तब्ध बनाएको हो ।

खेलको १३ औं मिनेटमा पोर्चुगिज ब्रुनो फर्नान्डेजको पासमा क्रिष्टियानो रोनाल्डोले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाएका थिए । यो रोनाल्डोको किर्तिमानी च्याम्पियन्स् लिगको खेलमा १३५औं गोल हो ।

रोनाल्डोले सर्वाधिक च्याम्पियन्स् लिग खेल खेल्ने खेलाडीको किर्तिमानसँग पनि बराबरी गरे । उनले स्पेनिस इकर कसिलसको १७७ खेलको किर्तिमानको बराबरी गरेका हुन् ।

यसपछि खेलको ३५ औं मिनेटमा म्यान यु १० खेलाडीमा खुम्चिएको थियो । म्यान युका आरोन बिसाकले योङ्गका क्रिष्टोफर मार्टिनलाई फाउल गरेपछि रातो कार्डको सिकार बनेर मैदानबाट बाहिरिएका थिए ।

खेलको ६६ औं मिनेटमा योङ्गका निकोलसले गोल गर्दै खेल १–१ गोलको बराबरीमा पुर्याए ।

यसपछि निर्धारित समय सक्किएपछिको ईन्ज्युरी समयको पाँचौ मिनटमा सिबात्चेउले गोल गर्दै योङ्गलाई २–१ को जित दिलाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :