एनभीए भलिबलको पुरस्कार राशीमा दोब्बर वृद्धि

काठमाडौं । आगामी असोज १० गतेदेखी शुरु हुने ६ औं संस्करणको एनभीए महिला तथा पुरुष भलिबल च्यायम्पियनसिपमा पुरुष र महिला गरि कुल १८ टिमको सहभागिता रहने भएको छ।

नेपाल भलिबल संघ (एनभीए) ले बुधबार पत्रकार सम्मेलनको आयोजना गरि असोज १० देखी शुरु भई १६ गतेसम्म संचालन हुने यस संस्करणको प्रतियोगितामा पुरुषतर्फ १२ र महिलातर्फ ६ गरि कुल १८ टिमको सहभागिता रहने जनाएको हो ।

प्रतियोगितामा सहभागी हुने पुरुषतर्फको टिममा टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, ढोरपाटन स्पोर्ट्स क्लब, नेपाल एपीएफ क्लब, गण्डकी प्रदेश, मणि मुकुन्द भलिबल क्लब, गल्कोट स्पोर्ट्स क्लब, दावाली मिलन क्लब, बागमती प्रदेश, कर्णाली प्रदेश र नयाँबजार गरि १२ टिम रहेका छन् ।

यसैगरी महिलातर्फ न्यु डायमण्ड स्पोर्ट्स क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, ढोरपाटन स्पोर्ट्स क्लब र एभरेष्ट क्लब बुटवल गरि ६ क्लब रहेका छन् ।

यस्तै संघले यस प्रतियोगिता ६ औं संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिप छनौटको रुपमा आयोजना गर्न लागेको हो ।

प्रतियोगिताबाट उत्कुष्ट ७ वटा पुरुष र ५ वटा महिला टिमले क्लब लिग भलिबल च्याम्पियनसिप स्थान बनाउने छन् । क्लब लिग भलिबल च्याम्पियनसिप भने चैतमा हुने संघले जनाएको छ ।

संघका अनुसार यस संस्करणको प्रतियोगितामा पुरस्कार राशी समेत वृद्धि गरिएको छ । एनभीएले पुरस्कार राशी बढाएर दुवै विधातर्फका विजेतालाई ४ लाख तथा उपविजेतालाई २ लाख र तेस्रो हुने टिमले १ लाख प्रदान गरिने जनाएको छ ।

यसैगरि सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार प्राप्त गर्दा विधागततर्फ उत्कृष्ट हुने खेलाडी र प्रशिक्षकले समान १० हजार पाउने छन् ।

गत संस्करणको प्रतियोगिताका विजेताले २ लाख तथा दोस्रो हुने टोलीले १ लाख र तेस्रो टोलीले ५० हजार रुपैयाँ प्राप्त गरेका थिए ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार रुपैयाँ प्राप्त गर्दा बिधागततर्फ उत्कृष्ट लिब्रो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकले समान १० हजार प्राप्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :