कबुल गरेकाहरुले सहयोग नगर्दा गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणकार्य अन्यौलमा पारेः सिताराम कट्टेल ‘धुर्मुस’

सुवास रोकाया

चितवनको भरतपुरमा धुर्मस–सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण काम रोक्किएको छ ।

चरम आर्थिक संकटका कारण निर्माणाधीन रंगशालाको काम एक महिना लामो समयदेखि ठप्प रहँदै आएको हो ।

तीन वर्षमा निर्माणसम्पन्न भईसक्ने लक्ष्य राखेको नेपाली खेल जगतको सबै भन्दा ठुलो परियोजना चरम आर्थिक संकटका कारणका कारण डेढ वर्षमै ठप्प हुन पुगेको छ ।

परियोजना निमार्णका लागि सामान निर्यात गर्ने विभिन्न ब्यवसायीहरुलाई चुक्ता गर्न पर्ने रकम भुक्तान गर्न नसक्दाँ एक महिनादेखी निमार्ण कार्य रोक्न बाध्य भएको धुर्मस–सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ले मेरो खेल डटकमलाई जानकारी गराए ।

‘आर्थिक समस्याका कारण एक महिनादेखी निर्माण कार्य ठप्प छ । कहिलेबाट पुनः निर्माण शुरु हुन्छ भन्न सक्ने अवस्था छैन । निर्माण स्थगित हुदाँ यसको लागत अझै बढ्न सक्ने आकँलन हामीले गरेका छौ,’ धुर्मुसले भने ।

आर्थिक समस्याका कारण एक महिना अघि भिआइपी टावरको निर्माण कार्य रोकिएको थियो । त्यस यता संरचना निर्माणको कार्य अघि बढ्न सकेको छैन । समग्रमा भौतिक निर्माण कार्य ३५ प्रतिशत र मुख्य मैदानको काम ९० प्रतिशत सम्म सक्किएको अवस्थामा निर्माण कार्य स्थगित भएको हो ।

रंगशाला निर्माण परियोजनाको आर्थिक प्रशासन शाखाका अनुसार हाल फाउण्डेशनले कामदार लगायत विभिन्न क्षेत्रमा १६ करोड २ लाख भुक्तानी गर्न बाँकी छ ।

हालसम्म रंगशाला निर्माणको कार्यका लागी विभिन्न दाताहरुबाट ३८ करोड ४८ लाख ३८ हजार ३ सय ६७ रुपयाँ पैसा संकलन गरेको फाउण्डेसनले कुल ५४ करोड ६२ लाख २१ हजार १३ रुपैयाँ खर्च गरेको छ ।

यस्तो अवस्थामा फाउण्डेसनले थप आर्थिक भार बहन गर्न नसक्ने भन्दै परियोजना नै स्थगित गर्नु परेको बताए ।

उनले आफू हतास हुने अवस्थामा आइसकेको भएपनि अझै केही आश भने जिवित नै रहेको जिकिर गरे । आफूले थालेको परियोजना भनेर मात्र नभई यो त देशको गरिमा समेत भएकोले अलपत्र हुन नदिने आँट अझै बाँकी रहेको बताए ।

धुर्मुसले भन्छन् ,‘यत्रो बिदि ऋण लागेको छ र काम अझै धेरै छ । शुरुमा हामीले ३ अर्बभन्दा माथिको परियोजना भनेको भएपनि काम गर्दै जादाँ अझ थोरै लगानीमा पुरा हुनेछ । अब ७० करोड जति भयो भने एउटा सोच अनुरुपको रंगशाला भने निर्माण हुन्छ । हतासिने बेला त भयो तर मैले संकल्प चाहि त्यागेको छुईन । हेरौ कुरौ राम्रै हुन्छ भन्ने आशमा छु ।’

रंगशाला निर्माणकार्य स्थगित गर्न पर्ने बाध्यताहरुको पछाडी निम्न कुराहरुले कारक भुमिका खेलेका छन् ।

१. प्रतिबद्धता भएका ठाउँबाट भने जती रकम संकलन नहुनु

फाउण्डेशनका अध्यक्ष धुर्मुसका अनुसार धेरै सरकारी निकाय र ब्यवसायीहरुले प्रतिबद्धता गरे बमोजिम रकम उपलब्ध गराएका छैनन् । महायज्ञबाट झण्डै ६९ करोड ४५ लाख ५६ हजार रकम संकलन भएपनि फाउण्डेशनले २० करोड २५ लाख मात्र पाउन सकेको छ ।

धुर्मुसले पहिलो दिन राष्ट्रिय सभागृहमा आयोजनाको घोषणा गर्दा अग्रणी पर्यटन ब्यवसायी कम्पनी एस ट्राभल्सले गरेको २ करोड रुपैयाँको प्रतिबद्धता अझै प्राप्त नभएको जानकारी गराए । उनले सोही दिन प्रतिबद्धता भएका अधिकांश रकमहरु परियोजनाको खातामा नआएको गुनासो गरे ।

‘शुरुमा हजारौंकौ संख्यामा मान्यगण्य ब्यक्तिहरुले तपाई अघि बढ्नुहोस् हामी सबथोकबाट तपाईलाई रंगशाला निर्माण सम्पन्न नहोउनजेल सहयोग गर्न आश्वासन दिएका थिए’,धुर्मु् भन्छन्,‘तर अहिले खै सबै जना कहाँ छन् अत्तोपत्तो छैन । तर आशाअवादी हौ न कोरोनाको कहर थोरै मत्थर भएपछि सबैजना जुरमुराउनु हुन्छ होला ।’

महायज्ञका क्रममा बागमती प्रदेश सरकारको ३ करोड, एलपी ग्यास उद्योगले १ करोड चितवन मेडिकल कलेजले ६० लाख, माडी नगरपालिकाले ३० लाख र पोल्ट्री व्यवसायी महासंघले ५९ लाख ५० हजार पुरानो मेडिकल कलेजले २० लाख दिने प्रतिबद्धता गरेका थिए । तर सो रकम संकलन हुन सकेको छैन ।

परियोजना निमार्ण भईरहेको भरतपुर महानगरपालीकाले १६ करोड ७५ लाख रुपयाँ दिने घोषणा गरे पनी जम्मा ८ करोड मात्र दिएको छ । यस्तै अन्य धेरै क्षत्रबाट प्रतिबद्धता प्रकट गरेपनी भने बमोनिम वा कुनै प्रकारको आर्थिक सहयोग गरेका छैनन् ।

२. सरकारी सहयोगको कमी

निमार्णकार्य शुरु हुनुअघि सरकारले ठुलो आशवासन बाँडे पनी त्यसमा खरो उत्रिन सकेन । धुर्मुश सुनाउँछन्,‘ हामीले परियोजना शुरु गर्न लाग्दा तत्तकालीन सरकार र सरकारका मन्त्रीहरु विभिन्न पार्टीका संसदहरु, सत्ता पक्ष र प्रतिपक्षले परियोजनाका लागी ब्याक्तिगत र नितिगत सहयोग गर्ने बताएका थिए’, उनले थपे ‘जसरी समय बित्दै गयो सबै पक्षले परियोजनालाई बिर्सदै गए । यही कारण हामी यो अवस्थामा आईपुग्यौ ।’

परियोजनाका लागी देशभरिका विभिन्न स्थानिय निकायहरुले सहयोग गर्दै आएपनी नेपाल सरकारले यस परियोजनाका लागी कुनै रकम हाल सम्म विनियोजन गरेको छैन । आर्थिक रुपमा कुनै बजेट नछुट्याएको सरकारले परियोजनामा कुनै प्रकारको प्राविधिक सहयोग समेत गरेको छैन । फाउण्डेशनले सहयोगका लागी अनुरोध गरेपनी प्रत्यक्ष रुपमा नेपाल सरकार यस विषयमा उदासिन नै देखिएको छ ।

३. प्रतिकुल परिस्थिती

निमार्ण कार्य शरु भएको केही महिना नपुग्दै परियोजना कोरोना महामारीका कारण जारी लकडाउनको चेपेटामा पर्यो । गत बर्ष बैशाख ११ गते कोरोनाका कारण निमार्ण कार्य १० दिनकालागी स्थगित भयो । त्यसपछी बैशाख २० गते सिमित जनशक्ति सहित निर्माण कार्य शुरु गरिएपनी ठुलोसंख्यामा कामदार कटौती गरिएको पहिलो चरणको लकडाउनमा १ सय ५२ मजदुर सहित काम गर्दा दोस्रो चरणमा मजदुरको संख्यामा थप कटौती गर्नु परेको थियो । यसरी बेलाबखतमा कामदार कटौती गर्दै निमार्ण कार्यअघि बढाउँदा यसको लागत थप बढ्न गएको फाउण्डेशनको तर्क छ ।

‘यदि परिस्थिती प्रतिकुल नभएको भए हामीले प्रतिबद्धता पाएका ठाउँबाट पुर्णरुपमा रकम संकलन गर्न सक्थ्यौ होला तर दुई दुई पटकको लकडाउनले चौतर्फी आर्थिक संकट आईलाग्दा यसले हामीलामई पनी प्रभावित तुल्यायो । यस्तै हाम्रो आर्थिक संकलनको अर्को मुख्य पाटो भनेको विदेश तथा स्वदेशमा रहेका नेपाली दाजु भाई दिदी बहिनीहरु हुन् । कोरोनाका कारण स्वदेश र विदेशमा रहेका नेपालीहरुले रोजगारी गुमाउँदा यसको असर हामीलाई पनी पर्यो’,धुर्मुशले भने ।

निर्माण कार्य रोकिएपछि परियोजनाबाट कामदार संख्यामा समेत ब्यापक कटौती गरिएको छ । एक महिनाअघि लगभग ३५० जना कामदार नियमितरुपमा काम गरिरहेको परियोजनामा हाल निमार्ण गरिएका संरचनाको सुरक्षाका लागी ३३ कमदार मात्र खटाईएको छ ।

३. जनस्तरबाट प्राप्त हुने रकम नै मुख्य स्रोत

लकडाडाउन भन्दा पहिले फाउण्डेसनलाई निरन्तर रुपमा जनस्तरबाट आर्थिक सहयोग आउँदै थियो । तर परिस्थिती विपरीत हुँदा त्यहाँबाट आउने रकममा पनि ब्यापक गिरावट आयो । परियोजनामा सरकारको ध्यान नपुग्दा र प्रतिबद्धता जनाएका स्थानबाट घोषणा गरे अनुसारको रकम संकलन हुन नसक्दा जनस्तरबाट प्राप्त हुने रकम नै निमार्णकार्यका लागी अर्थोपार्जनको मुख्य स्रोत बन्न पुग्यो तर यस स्रोतबाट पनी रकम आउन नसक्दा परियोजना नै स्थगित गर्नु पर्ने अवस्था आएको हो ।

४. सत्ता परिवर्तन
हुन त अघिल्लो सरकारले गौतमबुद्ध अन्तराष्ट्रिय रंगशाला निमार्ण कार्यमा कुनै प्रकारको योगदान दिएको छैन तर पनी देशमा आउने हरेक राजनितिक परिवर्तनले देशका हरेक क्षेत्रमा प्रभाव पार्ने गर्दछ । यो जनस्तरबाट निर्माण गरिने भनिएको बृहंगम परियोजनामा पनि यसको बाछिटा परेको छैनन भन्न सकिन्न । यसअघि ओली सरकारको पालोमा यस परियोजनालाई सघाउँछु भन्दै फलाक्नेहरु सत्ता समिकरणको परिवर्तनसँगै परिवर्तन भएकाहरु पनि छन् । ओली निकट र ओलीकै निर्वाचन क्षेत्रका भएका कारण पनि सो समयमा ओलीको निर्देशन अथवा प्रभावमा केही सहयोग जुट्ने प्रतिबद्धताहरु आएपनि अहिले सरकार र पात्र परिवर्तन भएपछि प्रतिबद्धता जनाउनेहरुको मनसाय पनि परिवर्तन नभएके भने होईन ।

अर्काेतर्फ ओलीको निकट मानिने पात्रको रुपमा रहेका सिताराम कट्टेल र उनकै पालोमा शुरु भएको परियोजना प्रति अहिले देउवा सरकारको चासो रहने मुश्किल नै छ ।

समाधान के त ?
देउवा सरकारका अर्थमन्त्री जनार्दन शर्माले अघिल्लो सरकारले प्रस्तुत गरेको बजेटलाई प्रतिस्थापन गर्दा गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंंगशाला बजेटको प्राथमिकतामा पर्न सकेन तर धुर्मस–सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ले अर्थमन्त्री जनार्दन शर्मा सामु प्रस्तावना पेश गरेको र अर्थमन्त्री सकारात्मक नै रहेको बताए ।

यथार्थ के हो भने जनस्तरबाट निर्माण गरिने नेपालको पहिलो बहुउद्देशीय रंगशाला भन्ने नारा आफैमा गलत छ । चरण आर्थिक संकट र बढ्दो बेरोजगारी उब्जिएको मुलुकमा जनताको स्तरबाट एउटा रंगशाला निर्माण गर्ने आँट तारिफयोग्य योग्य त हो नै तर यथार्थ परक भने होईन भन्नेहरु पनि धेरै छन् । जनताले आर्थिक रुपमा दिनुपर्ने साथ दिँदै त आएका छन नै र आगामी दिनमा पनि यसले निरन्तरता पाउँला । तर के जनताको छाँकबाट यो रंगशालाले पूर्णता पाउन सम्भव छ त ?

यसमा अब सरकारले नै जिम्मेवारी लिएर यसको निर्माणकार्यलाई सफलतापूर्वक सम्पन्न गर्नुको अन्य विकल्प देखिदैन । यसमा सरकारको स्तरबाट सहयोग नै अन्तिम सत्य र विकल्प हो ।

तस्विर सौजन्य : धुर्मुस सुन्तली फाउण्डेशन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :