अन्तराष्ट्रिय अम्पायर थापा सरकारबाट विभुषित

काठमाण्डौं । पूर्व खेलाडी तथा अन्तराष्ट्रिय ब्याडमिनटन अम्पायर दिपक थापालाई नेपाल सरकारले सुकिर्ति पदकबाट विभूषित गरेको छ ।

हरेक वर्ष असोज ३ गते नेपालको संविधान २०७२ जारी भएको दिनको अवसर पारेर नेपाल सरकारले विभिन्न क्षेत्रबाट राष्ट्रको निम्ति हितकारी कार्य गरेका विभिन्न ब्यक्तिवहरुलाई विभूषित गर्ने गरेको छ । यसै अवसरमा राष्ट्रपतिको सिफारिसमा नेपाल सरकारले ब्याडमिन्टन खेलको माध्यमबाट नेपाललाई विश्व मानचित्रमा परिचित बनाउँदै सहयोग गरेकोमा दिपक थापालाई सुकिर्ति पदक २०७८ बाट विभूषित गरेको हो ।

उनले ब्याडमिन्टन विकासका लागि ब्याडमिन्टन खेलाडीहरुको उत्पादनमा समेत योगदान पुर्याउँदै आईरहेका छन् । उनले कोरोना महामारीकैबिच पनि ग्रासरुटबाट खेलाडीहरुको उत्पादन गर्नका निम्ति काठमाण्डौ ब्याडमिन्टन एकेडेमी सञ्चालनको निम्ति अग्रसरता लिएका थिए । उनको अग्रसरतामा सञ्चालन भईरहेको एकेडेमीमा हाल ८ देखि २२ वर्ष उमेर समूहका २२ जना खेलाडीहरुले प्रशिक्षण लिईरहेका छन् ।

सामजसेवीको रुपमा समेत रहेका थापा करिब एक दशक लामो समयदेखि ब्याडमिन्टनको अन्तराष्ट्रिय मञ्चहरुमा नेपालको अन्तराष्ट्रिय अम्पायरको रुपमा प्रतिनिधित्व गर्दै आईरहेका छन् । पहिलोपटक बंगलादेश ईन्टरनेशनल च्यालेञ्जबाट अन्तराष्ट्रिय अम्पायरिङ्गको यात्राको थालनी गरेको थापाले सन् २०१६ मा ब्राजिलको रियोमा भएको ओलम्पिकको ब्याडमिन्टन प्रतियोगितामा लाईन्स जजको रुपमा भुमिका निर्वाह गरेका थिए ।

थापा खेलकुदको महाकुम्भको रुपमा परिचित ओलम्पिकमा निर्णायकको भुमिका निर्वाह गर्ने पहिलो ब्यक्ति समेत हुन् ।

थापाले सन् २०१२ मा बंगलादेशमा भएको ब्याडम्निटन एशियाको एक्रेडिटेशन परिक्षा उतिर्ण गर्दै अन्तराष्ट्रिय अम्पायरको मान्यता पाएका थिए । यस्तै उनी विश्व ब्याडमिन्टन महासंघको अन्तराष्ट्रिय लाईन जज समेत हुन् । उनले खेलाडी उत्पादनसँगै अम्पायरहरुलाई समेत प्रशिक्षण दिँदै आएका छन् ।

थापाले सन् २०१९ मा नेपालमा आयोजना भएको १३औं दक्षिण एशियाली खेलकुद (साग) मा सहभागिता सबै राष्ट्रहरुको प्राविधिकहरुको प्रतिनिधित्व गर्दै शपथ समेत लिने अवसर प्राप्त गरेका थिए ।

अन्तराष्ट्रिय अम्पायर थापाले ब्याडमिन्टको ठूलो अन्तराष्ट्रिय प्रतियोगिताहरुमा आफूलाई अब्बल रुपमा प्रस्तुत गर्दै आएका छन् । उनले विश्व ब्याडमिन्टनका ठूला खेलाडीहरुको सहभागिता रहने र ठूलो धनराशि पुरस्कार भएको अन्तराष्ट्रिय प्रतियोगिताहरुमा अम्पायरिङ्ग गरिसकेका छन् ।

थापालाई गत वर्ष युवा तथा खेलकुद मन्त्रालयले उत्कृष्ट प्राविधिकको रुपमा युवा पुरस्कारबाट सम्मान गरेको थियो ।

थापाले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नात्तकोतर गरेका छन् भने भारतको ब्याङ्गलोर विश्वविद्यालयबाट होटल म्यानेज्मेन्टमा स्नातक तह उतिर्ण गरेका छन् ।

हाल थापा स्पोर्टस् साईन्स् विषयमा त्रिभुवन विश्वविद्यालयमा अध्यापन गराईरहेका छन् । यस्तै उनले हेटल ब्यवस्थापनको लागि प्रख्यात शिक्षण संस्थामा पनि ईभेन्ट म्यानेज्मेन्ट विषयमा समेत अध्यापन गराउँदै छन् ।

थापा नेपाल ब्याडमिन्टन संघको केन्द्रिय सदस्य तथा काठमाण्डौं जिल्ला ब्याडमिन्टनको संघको अध्यक्ष समेत हुन् । थापाले खेलाडीको रुपमा नेपालका लागि विभिन्न जुनियर अन्तराष्ट्रिय ब्याडमिन्ट प्रतियोगिताहरुमा सहभागिता जनाईसकेका छन भने विभिन्न राष्ट्रिय च्याम्पियनसिपहरु समेत खेलेका थिए ।

थापाले अम्पायरिङ्ग गराएका विभिन्न अन्तराष्ट्रिय प्रतियोगिताहरुको सूची:
रियो ओलम्पिक
सुदिरमान कप
ईण्डिया ओपन
विश्व ब्याडमिन्टन च्याम्पियनसिप
एशियन ब्याडमिन्टन च्याम्पियनसिप
भियतनाम ओपन
कोरियन ओपन
बहराईन ओपन
बंगलादेश ओपन
माल्दिभ्स् ओपन
फिलिपिनस् ओपन
शैयद मोदी अन्तराष्ट्रिय च्याम्पियनसिप
स्माईलिङ्गफिस ट्राङ्क,थाईल्याण्ड र अन्य विभिन्न

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :