फर्म र क्लास दुबैलाई प्रमाणित गर्न सफल कप्तान ज्ञानेन्द्र

सुवास रोकाया

लामो समयदेखि नेपाली क्रिकेटमा ब्याटबाट प्रदर्शन गर्न नसकेको भन्दै आलोचना खेप्दै आएका कप्तान ज्ञानेन्द्र मल्लले ओमान भ्रमणपछिको प्रदर्शनका कारण सबै आलेचनाहरुको जवाफ दिन सफल भएका छन् । अब नयाँ युवा पुस्ताका निम्ति बाटो प्रशस्त गर्नुको सट्टा टोलिमा स्थान कब्जा गरेर बसेकोसम्म भन्ने तितो आलोचना खेप्न बाध्य भए शालिन ज्ञानेन्द्र मल्ल ।

नेपाली क्रिकेटमा सदैव भरपर्दा ब्याट्सम्यानको रुपमा बिम्बित भएका मल्ल केही समययता प्रदर्शनका कारण समर्थकहरुको आँखाको तारो नै बन्दै आएका छन् । मल्ल आलोचित हुनुमा क्रिकेटप्रति समर्थकहरुको स्वाद परिवर्तन हुनु र अन्तराष्ट्रिय क्रिकेटमा नेपालले देखाएको सम्भावना नै मुख्य कारक हो । र यसमा थप बल मल्लको लामो समयदेखिको खस्किएको प्रदर्शनले पुर्यायो ।

“फर्म ईज टेम्पोररी बट लक्लास ईज अल्वेज पर्मानेन्ट” अर्थात क्रिकेटमा लय क्षणिक हुने गर्छ तर स्तर सधैको लागि हो भन्ने प्रख्यात भनाई मल्लका लागि भनिदै आएकोमा पछिल्लोपटक क्लासले मात्रले चल्दैन फर्म बिना खेलाडीको काम छैन भन्न पनि समर्थकहरु पछि हटेनन् ।

फेरी प्रदर्शन पनि आलोचनाको लायक भने नभएको होईन । लामो समयदेखि पाईरहेको शुरुवातलाई मल्लले ठूलो रनमा परिणत गर्न सकिरहेका थिएनन् ।

यसै वर्षको बैशाखमा नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको नेपाल,मलेसिया र नेदरलयाड्स सम्मिलित एकदिवसीय त्रिकोणात्मक श्रृंखलाको उपाधि नेपालले जित्न सफल भएको थियो । तर मल्लको ब्याट भने चल्न सकेको थिएन । सम्भवत मल्ल आफै पनि आफ्नो प्रदर्शनबाट चिन्तित बन्दै गएका थिए ।

तर चाँडै आफ्नो भावोत्तेजना प्रकट गरिहालने स्वाभाव नभएका मल्लले ब्यक्तिगत आलोचनामाथि विचार राख्ने हत्तारो पनि गर्न आवश्यक ठानेन् ।

घरेलु मैदानमा भएको त्रिकोणात्मक एकदिवसीय श्रृंखलामा मल्ले नेदरल्याण्ड्सििबरुद्धको दोश्रो खेलमा २० रन बनाएका थिए भने तेश्रो खेलमा मलेसियाबिरुद्ध ४१ रन जोडेका थिए ।

यस्तै श्रृंखला अन्तर्गत नेदरल्याण्ड्ससँगको दोश्रो खेलमा ३३ रन बनाए । उक्त श्रृंखलामा मल्लले बनाएको स्कोर हेर्दा उनले शुरुवात पाएपनि ठूलो रनमा परिणत गर्न नसकेकै देखिएको थियो ।

यसपछि नेपाल करिब ४ महिनाको समयपछि आईसीसी पुरुष एकदिवसीय विश्वकप क्रिकेट लिग २ को अर्काे चक्रको श्रृंखला खेल्न नेपाली टोलि ओमान पुग्यो । यो भ्रमणको तयारी चलिरहेकै बिचमा नेपालका पूर्व कप्तान तथा भरपर्दा खेलाडी पारस खड्काले अन्तराष्ट्रिय करियरबाट अचानक सन्यासको घोषणा गरे । यो नेपालको टोलिको लागि ओमान भ्रमणअघि ठूला झड्का थियो ।

पारसको सन्यास र आफ्नै प्रदर्शनबाट निक्कै आलोचना खेपिरहेका मल्लमाथि ओमान भ्रमण अर्काे चुनौतिको रुपमा स्थापित भएको थियो ।

ह्वाट्मोर जस्ता विश्वस्तरीय प्रशिक्षकको आगमन र सन् २०२३ मा हुने एकदिवसीय विश्वकपमा छनौट हुनुपर्ने क्रिकेट समर्थकहरुको चाहना र आलोचकहरुको तिख्खर आलोचनाको चपेटामा पर्दै मल्ल ओमान भ्रमणमा गएका थिए ।

ओमान भ्रमणमा नेपालले लिग २ अघि पीएनजीसँग दुईवटा एकदिवसीय श्रृंखला खेल्यो र त्यसपछि लिग २ श्रृंखलामा सहभागि भएको थियो ।

पीएनजीसँगको पहिलो एकदिवसीयमा नेपालले २ विकेटको जित हासिल गर्दा पुनः एकपटक कप्तान मल्ल भने आफ्नो ब्यक्तिगत प्रदर्शनमा चुक्न पुगे । १३५ रनको सामान्य लक्ष्य पछ्याउँदा मल्लले जम्मा ६ रन मात्र बनाए ।

पीएनजीसँगको दोश्रो एकदिवसीयमा पनि नेपालले १५१ रनको फराकिलो जित हासिल गर्याे । यसपटक मल्लले ४५ रनको सम्हालिएको ईनिङ्ग खेले । तर मल्लले बनाएको ४५ रन लाई कम्तिमा अर्धशतकमा परिणत गर्न भने पुनः चुके । यो ईनिङ्ग नेपाललाई आवश्यक पर्दाको महत्वपूर्ण ईनिङ्ग भने अवश्य नै थियो ।

यस खेलमा मल्ल र रोहितले नेपालको लागि एकदिवसीय खेलमा सबैभन्दा ठूलो ८९ रनको साझेदारी गर्दे नेपालको जितमा महत्वपूर्ण योगदान दिए ।

पीएनजीसँगको यो श्रृंखला नेपालले २–० ले जित्यो । यसपछि भएको ओमान,अमेरिका र नेपाल सम्मिलित त्रिकोणात्मक एकदिवसीय श्रृंखलामा नेपालले खेलेको चार खेलमा दुईमा जित र दुईमा हारको सामना गर्नुपर्याे ।

आईतबार राति श्रृंखला अन्तर्गत आफ्नो अन्तिम खेलमा ७ विकेटले जित हासिल गर्दा नेपालले एकदिवसीय क्रिकेटमा ओमानमाथि पहिलो जित समेत निकालेको हो । यस जितमा मल्लको ईनिङ्ग नै निर्णायक साबित भयो । उनले ओमानबिरुद्धको जितमा नटआउट ५२ रनको कप्तानी ईनिङ्ग खेल्दै नेपाललाई श्रृंखलामा सुखद अन्त्य समेत दिलाए ।

यसअघि श्रृंखला अन्तर्गत अमेरिकाबिरुद्ध खेलेको दोश्रो खेलमा नेपालले हारको सामना गर्दा मल्लले ५५ रनको ईनिङ्ग खेले । एकातिरबाट धराशायी बनिरहेको ईनिङ्गलाई सम्हाल्ने क्रममा मल्लले १०५ बलको सामना गर्दै ५५ रनको ईनिङ्ग खेलेका थिए । तर बल खाएर रन बनाउन नसकेका भन्दै मल्लको उक्त ईनिङ्गको पनि खुबै जमेर आलोचना भयो । आलोचनाको निम्ति आलोचना आफ्नो ठाउँमा छ तर मल्लको उक्त ईनिङ्गलाई धराशायी भईरहेको ईनिङ्ग सम्हाल्ने क्रममा गरिएको उम्दा प्रयासको रुपमा बुझ्न जरुरी छ । यसो भनिरहँदा पक्कै पनि मल्लले उक्त ईनिङ्गमा केही पेस थपेको भए योगफलमा केही सुधार हुन सक्ने थियो ।

यस श्रृंखलाका शुरुवाती दुई खेलमध्ये अमेरिकासँगको खेलमा मल्ले १७ तथा ओमानबिरुद्धको खेलमा २१ रन बनाएका थिए ।

समग्रमा कप्तान मल्लले ओमान भ्रमण खेलेका ६ खेलमा करिब ४० कौ औसतमा १९६ रन बनाउन सफल भए ।

नेपाली क्रिकेटमा लामोसमय देखि योगदान दिदै आएका कप्तान मल्ल पछिल्लो समय कप्तानी सम्हाले यता नेपालले खेलेको एकदिवसीय श्रृंखलामा राम्रो नतिजा आएपनि त्यसको जस मल्लको भागमा कहिल्यै परेको देखिएन । तर मल्ल आफ्नै भलाद्मी शैलीमा अघि बढी नै रहेका छन् ।

मल्लले आफ्नो आलोचनालाई आफ्नो खामोशीले जिते भने ओमान भ्रमणमा आफ्नो ब्याटको प्रदर्शनले आलोचकहरुलाई जवाफ फर्काउन केही हदसम्म सफल समेत भएका छन् ।

सम्भवत यस भ्रमणले मल्लको फर्म र क्लास दुबै अब्बल नै प्रमाणित भएको छ । ओमानबिरुद्ध असोज ३ गते पहिलो एकदिवसीय जित निकालेको दिन यता नेपालमा संविधान दिवसको अवसर पार्दै कप्तान मल्ललाई नेपाल सरकारले सुप्रवल जनसेवा श्रीबाट समेत विभूषित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :