नेपालले आज हङ्गकङ्गसँग खेल्दै,कप्तान भन्छिन् -मनोबल उच्च छ, जसरी नि जित्छौ

काठमाडौं । एएफसी महिला एशियन कप छनौट अन्तर्गत दोस्रो खेलमा नेपालले मंगलबार (आज) हङ्गकङ्गको सामना गर्दैछ ।

उज्वेकिस्तानको ताश्केन्तमा हुने नेपाल र हङ्गकङ्गबिचको खेल नेपाली समयानुसार दिउँसो ३:४५ बजेबाट शुरु हुनेछ ।

एशियन कप छनौट अन्तर्गत समूह एफमा फिलिपिन्सविरुद्धको पहिलो खेल गुमाएको नेपाललाई एशियन कपमा छनौटको सम्भावना कायमै राख्न आजको खेल जित्नुको विकल्प छैन ।

नेपालले आजको खेल जितेर मात्र नभई गोल संख्या समेत बढाउनु पर्नेछ । यसअघि शनिबार भएको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग २-१ गोल अन्तरले पराजित भएको थियो ।

यसैले नेपाललाई हङ्गकङ्गविरुद्धको खेल गर या मरको अवस्था रहनेछ । विश्व फुटबलको सर्वोच्च निकाय फिफा वरियताका आधारमा २५ स्थानअघि रहेको हङ्गकङ्गविरुद्धको खेल नेपालका लागि त्यति सहज भने पक्कै हुने छैन ।

नेपालकी कप्तान रेणुका नगरकोटीले पनि आजको खेलका लागि टोलिको मनोबल उच्च रहेको प्रतिक्रिया दिएकी छिन् ।

उनले यसअघि फिलिपिन्सबिरुद्धको खेल आफ्नै गलतीले हारेको कारण हङ्गकङ्गसँगको खेल जित्ने लक्ष्यसहित मैदानमा उत्रने तयारी रहेको धारणा ब्यक्त गरेकी छिन् ।

उनले फिलिपिनससँगको खेलमा राम्रो खेल्दाखेल्दै पनि अन्तिम समयमा गरेको त्रुटीका कारण खेल हार्न बाध्य भएको बताईन् ।

‘लास्ट टाईममा आएर हामीले आफैलाई सम्हाल्न नसक्दा हामीले हार ब्यवहोरेको हो’,रेणुकाले भनिन्,‘यसअघि भएको जति पनि मिस्टेक्स छ,त्योहरुलाई सच्याउँदै खेल्ने हो ।’

‘हाम्रो मनोबल उच्च नै छ किनिकी फिलिपिन्ससँग नसकेरभन्दा पनि भाग्यले साथ नदिदाँ मात्र हारेका हौ’, रेणुकका भन्छिन्,‘ जसरी भएनि जित्नै पर्छ र हामी जितेर देखाउँछौ ।’

फिफा वरियतामा नेपाल एक सय एक स्थानमा रहँदा हङ्गकङ्ग ७६ औं स्थानमा छ । हङ्गकङ्गविरुद्ध नेपालको यो तेस्रो खेल हुनेछ ।

नेपालले १९८६ मा भएको एशियन कप छनौटमा पहिलो पटक हङ्गकङ्गविरुद्ध खेलको थियो । सो खेलमा नेपाल १-० गोलले पराजित भएको थियो ।

यस्तै नेपालले एशियन छनौटमै दोस्रो पटक सन् १९८९ मा हङ्गकङ्गको सामना गरेको थियो । उक्त खेलमा नेपाल गोलरहित बराबरीमा रोकिएको थियो ।

नेपालले अहिलेसम्म हङ्गकङ्गलाई पनि हराउन सकेको छैन । यदि भोलि नेपालले हङ्गकङ्गलाई हराए हङ्गकङ्गविरुद्ध नेपालको ऐतिहासिक जित हुनेछ ।

समूह एफकै फिलिपिन्स र हङ्गकङ्गबीचको खेल असोज ८ गते हुनेछ। समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एशियन कप खेल्नेछ। एशियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :