७औं संस्करणको नेपालगञ्ज म्याराथन मंसिरमा,पुरस्कार राशीमा वृद्धि हुने

काठमाडौं । ७ औं संस्करणको धारा नेपालगञ्ज म्याराथन आगामी मंसिरमा आयोजना हुने भएको छ ।

धारा नेपालगञ्ज म्याराथन आयोजक क्रियटिभ ह्यान्ड्सका अध्यक्ष टीएस ठकुरीले आगामी संस्करणको नेपालगञ्ज म्याराथन मंसिरमा हुने बताएका हुन् ।

अध्यक्ष ठकुरीले प्रतियोगिता मंसिर ४ गते हुने र यस पटकको म्याराथनलाई थप ब्यवस्थित रुपमा संचालन गर्ने तयारी रहेको बताए ।

सरकार र सशस्त्र द्वन्द्वरत तत्कालिन माओवादीका बीचमा मंसिर ४ गते भएको विस्तृत शान्ति सम्झौताको स्मरणमा हरेक वर्ष नेपालगञ्ज म्याराथन आयोजना हुने गरेको छ ।

नेपाल एथ्लेटिक्स संघले मान्यता दिएको नेपालगन्ज म्याराथनको सातौं संस्करणलाई अन्तर्राष्ट्रिय स्तरको म्याराथनको रुपमा संचालन गर्नका लागि अन्तर्राष्ट्रिय म्याराथन महासंघ(एम्स) सँग समन्वय भईरहेको समेत उनको भनाई छ ।

हजारौं नेपाली धावकहरुले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न आफूलाई सोहि स्तरमा तयारी गर्ने राम्रो माध्यम बन्दै आएको प्रतियोगितामा यसपटक म्याराथन र हाफ म्याराथनको पुरस्कार राशीमा समेत बृद्धि गर्ने ठकुरीले जानकारी गराए ।

अध्यक्ष ठकुरीका अनुसार १२ भन्दा बढी विधा समावेश गरिने प्रतियोगितामा यस पटक म्याराथनका विजेतालाई १ लाख र हाफ म्याराथनका विजेतालाई ५५ हजार पुरस्कार प्रदान गरिने तयारी रहेको छ । म्याराथन विजेताले गत वर्षको तुलनामा २५ हजार बढी पुरस्कार पाउनेछन् भने हाफ म्याराथनका विजेताले पनि २५ हजार बढी पुरस्कार पाउनेछन् ।

कोरोना महामारीका कारण गत संस्करण कम प्रतिस्पर्धीलाई सहभागि गराईएको प्रतियोगितामा यस पटक भने कोरोनाको जोखिम कम हुँदै गए कम्तिमा सात हजार प्रतिस्पर्धीलाई सहभागि गराउने योजनामा आयोजक रहेका छन् ।

प्रतियोगिताको तयारीअघि बढिसकेको तथा प्रायोजक खोज्ने काम भईरहेको र तीन वटासम्म प्रायोजक थपिने अपेक्षा आयोजकको छ । नेपालगञ्ज म्याराथनलाई धारा तेल, राष्ट्रिय वाणिज्य बैंक र आशिर्वाद पेन्ट्सले चौंथो संस्करणदेखी साथ दिदै आएको छ । यस पटक पाि यिनै प्रायोजकहरुले साथ दिनुका साथै थप प्रायोजकरुहको समेत खोजि भईरहेको ठकुरीले मेरोखेल डटकमलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :