साम्बाले आमाबुबालाई भनिन्–‘यो पटक यस्तै भयो अर्को वर्ष दशैसँगै मनाउँला’

लक्ष्मी शाक्य

काठमाडौं । सदा जस्तै गरि यो वर्ष पनि नेपालीहरुको महान चाड वडा दशैं सम्पूर्ण नेपालीहरुको घर आँगनमा आईपुगी सकेको छ ।

वर्षोसम्म परिवारजनबाट टाढिएर रहेका आफन्तजन भेटघाट गर्ने आपसमा सुख दुःख साटा साट गर्ने तथा आफू भन्दा ठूला बडाको हातबाट टीका जमरा लगाउने र आशिर्वाद लिने पे्रमिल पर्वको रुपमा हिन्दु नेपालीहरुले दशैं मनाउँदै आएका छन् ।

तर यसैबिच विश्व मानव समुदायलाई कोरोना भाइरस (कोभिड–१९) महामारीले प्रभाव पारेपछि गत वर्षको दशैं नेपालीहरुले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै शारीरिक दुरी कायम गरि अझ भनौ भर्चुअल रुपमै जो जहाँ थिए त्यहि बसेर मनाए ।

अब यस वर्षको दशैंको चहलपहलको कुरा गर्दा कोरोना महामारी साम्य भईसकेको अवस्था त छैन,त्यहीपनि गत वर्षको तुलनामा अहिले मानिसहरुको मष्तिष्कमा कोरोनाको त्रास निकै घटेर गएको छ । यसो त कतिपय व्यक्तिले कोरोनाबिरुद्धको खोप लगाईसकेको भएर पनि केहि हदसम्म कोरोनाको त्रास कम भएको मान्न सकिन्छ ।

यो सन्दर्भमा यस वर्षको दशैं गत वर्षको तुलनामा नेपालीहरुले थप चहलपहका साथ मनाउँदै छन् । दशैं मनाउन कै निम्ति परिवारबाट टाढा रहेका प्राय मानिसहरु यतिबेला आ–आफ्नो गाउँठाउँ जन्मथलो पुगिसकेका छन् ।

देशको गहनाको उपनाम पाएका सम्पूर्ण नेपाली खेलाडीको लागि पनि परिवारजन भेट्ने दशैं राम्रो अवसर हो । संधै राष्ट्रिय दायित्व पुरा गर्नको निम्ति अधिकांश समय खेल मैदानमा खर्चने खेलाडीले दशैंमा धेर थोर बिदा अवश्य पाउँछन् । कतिपय समयमा दशैंकै बिचमा पनि प्रतियोगिताहरुमा ब्यस्त बन्नुपर्दा खेलाडीले परिवारको साथमा दशैं मनाउने मौका पाउँदैनन् ।

नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी नियमित स्ट्राइकर साबित्रा भण्डारी (साम्बा) भने यो वर्ष फरक परिस्थितिका कारण परिवार मात्र नभई आफ्नो जन्मभुमिबाट नै टाढा रहेर दशैं मनाउँदै छिन् ।

घुँडाको चोटका कारण घरेलु भुमिमा केही समयअघि भएको बंगलादेशबिरुद्धको दुई मैत्रीपूर्ण खेल र एशियन कप छनौट अन्तर्गत फिलिपिन्स र हङ्गकङ्गविरुद्धको दुबै खेल गुमाएकी साम्बा घुँडाको उपचारको क्रममा हाल कतारमा छिन् ।

‘अघिल्लो वर्षहरुमा म प्राय एकपटक दसैंको समय पारेर घर जान्थे । यसपालि वर्षमा एकपटक पनि परिवारसँग भेट हुने मौका मिलेन’, साम्बाले मेरोखेल डटकमँगको कुराकानीमा भनिन्,‘बुबा आमा धेरै न्यास्री सक्नुभयो, घरमा कुरा हुँदा यहि भन्नुहुन्छ,सँगै हुन नपाएपनी हजुरहरुको आशिर्वाद सधैं म सँगै छ र रहिरहने छ भनेर सम्झाउँछु ।’

सावित्राको लागि परिवारबाट टाढा रहेर दशै मनाउन परेको यो तेश्रोपटक हो । यसअघि उनले दुई पटक प्रतियोगिताका कारण परिवारबाट टाढै रहेर दशै मनाएकी थिइन् ।

यो समय परिवारको साथमा रहनु बुबा आमा तथा अन्य मान्यजनको हातबाट टीका लगाई आशिर्वाद लिन पाउनु सौभाग्यको रुपमा लिन्छिन् साम्बा ।

‘ठुला बडाको हातको टिकासँगै आशिर्वाद लिन पाउनु हाम्रा लागि सौभाग्यको कुरा हो, तर यो सौभाग्य यो पटक मैले पाइन’,उनले भनिन्,‘यो भन्दैमा मैले आफुलाई दुखी महसुस गराउदिन, म मेरो घुँडाको उपचारको लागि यहाँ आएको हुँ, मेरो स्वास्थ्यमा धेरै सुधार आइरहेको छ ।’

यस्तै उनले विदेशबाटै आफ्नो परिवारजन तथा सम्पुर्ण नेपालीलाई दशैको शुभकामना दिदै भनिन्,‘यो पटक यस्तै भयो अर्को वर्ष दसैं सँगै मनाउँला ।’

कतारको एस्पेटार हस्पिटलमा घुँडाको उपचार जारी रहिरहँदा उनी अब कति समय कतारमा बस्नुपर्छ त्यो भने यकिन भईसकेकको छैन ।

साम्बाको गत असार ३१ गते कतारको दोहास्थित एस्पेटार हस्पिटलमा शल्यक्रिया गरिएको थियो ।

साम्बाको गत वर्ष महिला लिगको दौरान सशस्त्र प्रहरी बलको एपीएफबाट नेपाल पुलिसबिरुद्ध खेल्दा घुडाँमा गम्भिर चोट लागेको थियो । त्यसयता उनी उपचारको क्रममा मैदानभन्दा बाहिर रहँदै आएकी छिन् ।

चोटपछि गरिएको थप परिक्षणबाट उनको एन्टेरियर क्रुसिएट लिगामेन्ट (एसीएल) मा समस्या देखिएको थियो ।

सन् २०१४ मा राष्ट्रिय टोलिमा डेब्यु गरेकी साबित्राले अहिलेसम्म ३८ अन्तराष्ट्रिय गोल गरिसकेकी छिन् । उनी नेपालमा मात्र नभई दक्षिण एशियाली क्षेत्रकै उत्कृष्ट महिला स्ट्राइकरको रुपमा परिचित छिन् ।

उनी भारतको प्रतिष्ठित महिला आई लिगमा समेत ब्यवसाियक फुटबल खेल्दै आइरहेकी छिन् ।

उनले भारतीय महिला लिगमा सन् २०१८–१९ का सिजनमा सेथु एफसीबाट खेल्दै डेब्यु गरेकी थिइन् । र त्यस सिजन सेथु लिग च्याम्पियन बनेको थियो ।

लगतै २०१९–२० को सिजन साबित्राले गोकुलम केरला एफसीबाट खेलिन् । र क्ललबाई महिला लिग च्याम्पियन समेत बनाइन् । २०१९–२० को सिजनमा साबित्रा सर्वाधिक गोलकर्ता समेत बनेकी थिइन् ।

उनी बिनानै एशियन कप छनौट खेलेको नेपाल एशियन कपको दौडबाट बाहिरिसकेको छ । यो सहित नेपाल चौथों पटक एशियन कप छनौटको समूह चरणबाट बाहिरीएको हो ।

यसअघि नेपालले सन् १९८६, १९८९ र १९९९ मा तीन पटक एशियन कप छनौट खेलेको थियो । ती खेलहरुमा पनि नेपाल समूह चरणबाट नै बाहिरीएको थियो ।

जस अन्तर्गत दुई पटक थाइल्यान्ड, इन्डोनेसिया र हङ्गकङ्ग सम्मिलित समूहमा परेको नेपाल तेस्रो पटक भने इन्डोनेसिया र हङ्गकङ्गसँगै जापान सम्मिलित समूहमा परेको थियो । यस पटक नेपालको समूहमा हङ्गकङ्गसँगै फिलिपिन्स परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :