बंगलादेशसँग अल्मुताईरीले दोहोर्याउन नहुने गलती

साफ च्याम्पियनसिप २०२१ मा नेपालले आफ्नो तेश्रो खेलमा भारतसँग पहिलो हारको सामना गर्न बाध्य बन्यो । यो हारलाई फुटबलका अधिकांश समर्थकहरुले नेपाली राष्ट्रिय टोलिका प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीको लापरवाही भन्दै खनिए ।

यसअघिका दुई खेलमा बलियो मानिएको साविकको विजेता माल्दिभ्स् र सबैभन्दा कमजोर आँकिएको श्रीलंकासँगको सुन्दर जितका कारण नेपाली टोलिबाट औंधी आश गर्नाले भारतसँगको हार समर्थकलाई निक्कै तितो महसुस भएको पनि हो ।

समर्थक र फुटबलका जानकारहरुका अनुसार नेपालले हिजोको खेल आफ्नै कारणले हारेको हो । अल्मुताईरीले आफ्नो जिद्दीपनाको सिकार भारतबिरुद्धको खेलमा नेपालको नतिजालाई बनाएका हुन् भन्ने पनि अधिकांशको ठम्याई रह्यो ।

त्यसमाथि खेलपछि भारतका प्रशिक्षक ईगोर ईस्तिमाकले समेत नेपालको प्रशिक्षकले एकदिन अघि नेपालले हार्ने सम्भावना ९५ प्रतिशत दिनु सरारसर खेलाडीको मनोबल गिराउने हर्कत रहेको टिप्पणी समेत गरिदिए ।

फेरी संयोग भन्ने कि नेपाली फुटबलको स्तर भन्ने ? भयो पनि अल्मुताईरीले भविष्यवाणि गरे जस्तै । उनले भारतसँगको खेलअघि आयोजना गरिएको प्रि म्याच कन्फरेन्सका दौरान भारतलाई बलियो टोलि बताउँदै नेपालले जित्ने सम्भावना एक प्रतिशत मात्र रहेको अभिब्यक्ति दिएका थिए ।

वाककलाका चतुर मानिएका अल्मुताईरी सो दिनपनि मुखले भनेको जस्तो अर्थ लाग्ने गरी नभई उनले भारतका प्रशिक्षकमाथि कटाक्ष नै गरेका थिए । त्यो उनको शारिरिक हाउँभाउँले प्रष्ट देखाएको थियो ।

उनले उक्त प्रेस कन्फरेन्समा भारतका प्रशिक्षक आफूभन्दा निक्कै अनुभवी र आफ्नो राष्ट्रका लागि विश्वकप खेलिसकेका खेलाडी समेत रहेकोले भारतले नै जित्ने भन्दै कटाक्ष स्वरुप प्रतिक्रिया दिएका थिए । उनले ईस्तिमाक जतिनै अनुभवी भएपनि नेपालले दुई खेल जितेको र भारतले सो समयमा दुई खेलमा बराबरी नतिजामात्र ल्याएको अवस्थामा अण्डर एस्टिमेटको हाउँभाउँमा प्रतिक्रिया दिए भन्ने जानकारहरुको भनाई छ ।

सायद उनले आफ्नो कटाक्षपूर्ण अभिब्यक्तिलाई ब्यवसायिक माने तर भोलिपल्टै ईस्तिमाकले भारतको गोलपछि मनाएको उत्सवलाई चाँहि अब्वसायिक र अयर्मादित भन्दै नेपालको हारको नतिजा सम्बन्धिको समाचारलाई धमिल्याउन विषयान्तर गर्दै नेपाली समर्थकलाई भावुक बनाउने प्रयास गरे ।

एउटा कटु यथार्थ के हो भने अहिलेलाई भारत नेपालभन्दा फुटबलमा धेरै अघि बढीसकेको राष्ट्र हो । फुटबलमा हार र जित स्वभाविक प्रक्रिया हो तर नियत परिवर्तिन प्रवृति हो । भारत विश्ववरियतामा नेपालभन्दा ५०औं स्थानमाथि त्यसै उपहार पाएर पुगेको भनेर बुझ्न हुन्न ।

यो भनिरहँदा नेपाल भारतभन्दा निकै कमजोर फुटबल खेल्ने राष्ट्र अवश्य पनि होईन । तर कम्तिमा दक्षिण एशियाली क्षेत्रमा भारतसँगको खेललाई सहज रुपमा लिन मिल्दैन । सहज लिने गलती गरेमा के नतिजा आउँछ भन्ने आईतबारको खेलले नै बखान गरिनै सक्यो ।

अल्मुताईरी आफैमा असक्षम प्रशिक्षक पनि होइनन् । अन्तराष्ट्रिय स्तरको पहिलो प्रशिक्षण करियरमा उनले देखाएको हौसला तारिफयोग्य नै हो । उनले नेपालसँगै आफ्नो भविष्य पनि कोर्ने माध्यम तयार गर्न पाएका छन् । उनको कार्यकालमा नेपालले ईतिहास बदल्ने कसिमा आएर उब्भिएको पनि छ । अब एक खेलमा संयमित बन्दै खेल खेलाएमा अल्मुताईरीले नेपाली फुटबल ईतिहासमा साफको फाइृनल पुर्याउने पहिलो प्रशिक्षकको रुपमा आफ्नो नाम दर्ज गराउनेछन् । जुन नेपाली फुटबलको निम्ति पनि फाईनल पुग्नु उत्तिकै गर्वको विषय हुनेछ ।

फुटबल जानकारहरुका अनुसार अल्मुताईरी भारतबिरुद्ध नेपालको महत्वपूर्ण खेलमा आफ्नो प्रशिक्षण करियरको प्रयोगशालाको रुपमा प्रयोग गर्नाले नेपालको खेलको स्तर निक्कै कमजोर देखिएको हो ।

उनले शुरुवाती ११ मा मैदान प्रवेश गराउँदा नै निकै फितलो फर्मेशन प्रयोग गरे भन्ने जानकारहरुको भनाई छ ।

फुर्के स्वभावका अल्मुताईरीलाई माल्दिभ्समा जारी साफ च्याम्पियनसिपमा नेपाललाई पहिलो पटक शुरुवाती दुई खेलमा मिलेको जितले सायद चाहिनेभन्दा बढी हौसाएको छ । उनले नेपालको शुरुवाती दुई जितपछि समर्थकहरुले देखाएको अपार प्रेम र सद्भाव अपाच्य नै भएको झै ब्यवहारहरु समेत देखाउन शुरु गरे ।

भारतसँगको खेलअघि अल्मुताईरी चाहिनेभन्दा बढी सहज देखाउने चक्करमा अथवा भनौ ओभर कन्फिडेन्ट र कुल बन्ने चक्करमा आफू पनि फसे र नेपालको नतिजामा समेत उनको ब्यक्तिगत स्वभावको असर पर्न गयो ।

अल्मुताईरी स्वाभावले फुर्के,अस्थिर र चाँडै हाईपर भईहाल्ने खाल्का पनि छन् । श्रीलंकाबिरुद्धको खेलमा हाईपर भएर प्रस्तुत भएकोमा पहेलो कार्ड पनि पाएका थिए । तर प्रशिक्षक हौसिनु टोलिको निम्ति फाइदाजनक पनि हो तर कहिलेकाही त्यही स्वाभाव सम्पूर्ण टिममाथि नै घातक पनि हुन सक्छ ।

अल्मुताईरीले यसअघि पनि साफको शुरुवाती समयमा दक्षिण एशियाली फुटबल संघले आफूलाई अन्य राष्ट्रको प्रशिक्षक सरह आफूलाई ब्यवहार नगरेको रोश पोख्दै माल्दिभ्समा तरङ्ग नै उत्पन्न गरिदिएका थिए । उनले आफ्नो भनाईलाई साफले अन्य प्रशिक्षकको जस्तो वजन नदिएको र सामाजिक सञ्जालमा स्थान नदिएको भन्दै आक्रोश ब्यक्त गरेका थिए ।

उनले आफूलाई स्थान नदिने हो भने आफू प्रेस कन्फरेन्समा नै नआउने धम्कि समेत दिन भ्याए ।

अल्मुताईरी नेपाल आउदाँदेखि नै सामाजिक सञ्जालमा आफूलाई चर्चामा राखिरहेका पात्र हुन् । उनले सामाजिक सञ्जालको प्रयोगबाट नै नेपालको नतिजा आउनुअघि नै परिर्वतनकारी प्रशिक्षकको तकमा भिरिसकेका थिए । उनले सामाजिक सञ्जाललाई प्रयोग गर्दै आफ्नो बलियो अस्त्रको रुपमा समर्थकहरुलाई आफू नजिक तान्न पनि सफल भएका छन् ।

पछिल्लो समय अल्मुताईरीको बाहिरि स्वभाव जस्तो रहेपनि खेलाडीहरुसँग उनको केमिस्ट्री निक्कै मिलेको जस्तो देखिन्छ । उनी पनि आफ्नो खेलाडीके बारेमा थोरै आलोचना हुँदा मज्जाले जवाफ फर्काई हाल्छन् र खेलाडीहरु पनि अल्मुताईरीसँग निक्कै मिलेर बसेको जस्तौ देखिन्छ । एउटा प्रशिक्षक र खेलाडीबिचको यो सम्बन्ध तारिफयोग्य नै मान्नुपर्छ ।

उनी प्रत्येक खेलपछि हारको जिम्मेवार आफै हुने तर जितेको भागिदार खेलाडीमात्रको हुने पपुलिस्ट स्टेटमेन्ट दिँदै आईरहेका छन् । तर उनको त्यो स्टेटमेन्टको कारण समर्थकहरुमाँझ निकै प्रख्यात बनेका अल्मुताईरीलाई उनै समर्थकहरुले नेपालको हरेक जितमा खेलाडीभन्दा बढी श्रय दिदै आईरहेका छन् ।

खैर यो भूतका विषय भयो र अब अघि बढ्दै नयाँ शुरुवात गन आवश्यक छ । अहिले पनि नेपालको फाईन्ल पुग्ने सम्भावना अन्य राष्ट्रको भन्दा सहज नै छ ।

नेपाल जारी च्याम्पियनसिपमा ३ खेलबाट ६ अंक जोडेर तालिकाको शिर्ष स्थानमा आसिन छ भने समान खेलमा समान अंक तर गोलअन्तरको कारण माल्दिभ्स दोश्रो स्थानमा छ ।

यसैगरी तीन खेल नै खेलेको भारत नेपालसँग जित निकाल्दै फाईनल पुग्ने दौडमा सँगसँगै नै छ । उसको ४ खेलमा ५ अंक छ भने बंगलादेश ३ खेलमा ४ अंकको साथ चौथो स्थानमा छ ।

पाँचौ राष्ट्र श्रीलंका भने फाईनलको धाममा पुग्ने यात्राबाट बञ्चित भईसकेको छ ।

सामान्य भाषामा भन्नुपर्दा आम फुटबल समर्थकले नेपालको अन्तिम लिग खेललाई सेमिफाईनल बताईरहेका छन् । तर सेमिफाईनल जस्तो जित्नै पर्ने दबाबबाट भने नेपाल मुक्त छ ।

नेपालले बंगलादेशसँगको खेल बराबरी गरेपनि फाईनल खेल्न योग्य बन्नेछ । अर्काेतर्फ बंगलादेश भने फाईनल पुग्न नेपालसँग जित्नै पर्ने दबाबमा रहनेछ ।

यस्तै लिग चरणको अर्काे खेलमा पनि आयोजक तथा माल्दिभ्सले भारतसँग बराबरी खेले फाईनल पुग्नेछ भने भारत फाईनलमा पुग्न जित्नै पर्ने हुन्छ ।

यदि भारत फाईनलमा नपुगे साफको ईतिहासमा पहिलोपटक लिग चरणबाट बाहिरिन बाध्य हुनेछ । र नेपाल पनि पहिलोपटक फाईनल पुग्ने ईतिहास रच्ने तयारीमा छ । यद्यपी यो पटकको संस्करणको नियम फरक बनेको छ ।

यसपटक सिङ्गल राउण्ड रोबिनबाट शिर्ष दुई स्थान हासिल गर्ने राष्ट्रले सिधै फाईनलमा उपाधिका लागि खेल्न पाउनेछ ।

भारतले साफ च्यासिम्पयनसिपको उपाधि सातपटक जितिसकेको छ ।

तसर्थ माथि उल्लेख गरिएको सबै वाक्यले अल्मुताईरीले चाँडै हौसिने बानी त्याग्दै स्वभाविक भएर खेल खेलाउने प्रयास गर्नु नै नेपालको साफको उपाधि उचाल्ने उपायको रामवाण बन्न सक्छ । अर्काे आफूले गरेको ब्यवहार मयौदित मान्ने र अरुले उसै उसै गरे अमर्यादित र अस्वभाविक मान्ने बानीमा परिवर्तन गर्नुपर्ने हुन्छ ।

यो पनि पढ्नुहोस्:खेलपछि चल्यो अल्मुताईरी र ईस्तिमाकबिच दोषारोपणको शिलशिला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :