मन्देकाजीसहित ३ पदक विजेता सम्मानित

काठमाण्डौं । जर्मनीमा भएको चेम्निज ओपन अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपका पदक विजेता नेपाली खेलाडीलाई नेपाल गोजुरियो कराते डो संघले मंगलबार सम्मान गरेको छ ।

अक्टोबर २ तारिखमा भएको प्रतियोगितामा नेपालबाट ३ पुरुष खेलाडीले प्रतिस्पर्धा गरेका थिए । नेपालले ४ स्वर्ण र २ कांस्य जितेको थियो । तीनै खेलाडीले दोहोरो पदक जितेका थिए ।

मन्देकाजी श्रेष्ठले सिनियर एकल काता र ३० वर्षमाथि उमेरसमूहको एकल कातामा गरी २ स्वर्ण जिते । मन्देकाजी १३ औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण विजेता हुन् ।

मुकुन्द्र महर्जनले कुमुतेको ३० वर्षमाथि स्वर्ण तथा ७५ केजीमा कांस्य हात पारेका थिए । मुकुन्द्र १३ औं सागका कांस्य विजेता हुन् । सुमन तिमल्सिनाले एकल कातातर्फ आफ्नो उमेरसमूहमा स्वर्ण तथा सिनियरमा कांस्य प्राप्त गरेका थिए ।

उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य पुरेन्द्रविक्रम लाखे, नेपाल गोजुरियो कराते डो संघ तथा एसियाली गोजुरियो कराते महासंघका महासचिव विआर मित्रले प्रशंसा पत्र प्रदान गरी सम्मान गरे । सोही अवसरमा नेपाली टोलीका अफिसियल स्वच्छम गुरुङ पनि प्रशंसा पत्रबाट सम्मानित भए ।

पदक विजेता तीनै खेलाडीलाई प्रोत्साहन स्वरुप ट्रयाक सुट पनि प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :