किरणको आँशु र पहिलो साफ फाईनल

बिभा थापा

साफ च्याम्पियनसिप २०२१ को आफ्नो अन्तिम लिग खेलमा बंगलादेशसँग कम्तिमा बराबरी नतिजा निकाल्दा पनि नेपाल २८ वर्ष लामो पखाईपछि पहिलोपटक फाईनलमा पुग्ने सजिलो देख्ने समिकरण देखिएको थियो । तर खेलको ८औं मिनटमा पाएको कर्नरमा बंगलादेशका सुमन रेजाले हेडर गोल गर्दै बंगलादेशलाई शुरुवाती अग्रता दिलाए ।

यसपछि बाँकी रहेको समयमा नेपालको बराबरी गोल निस्कन नसक्दा सम्भवत सबै समर्थक नेपालको पहिलोपटक फाईनल पुग्ने लक्ष्य र सपना भताभुङ्ग भएको मानसिकतामा पुगिसकेका थिए ।

तर खेलको अन्तिम चार मिनट बाँकी रहँदा नेपालले पेनल्टी किकको सुन्दर अवसर प्राप्त गर्याे र उक्त अवसरमा अञ्जन विष्टले गोल गर्दै नेपाललाई बराबरी दिलाए । यो बराबरी अन्य कुनै सामान्य जितभ्नदा निकै अर्थपूर्ण बराबरी थियो । यो बराबरी २८ वर्षपछि पाएको सबैभन्दा महत्वपूर्ण बराबरी नतिजा थियो । किनकी यो बराबरीले मैदानमा रहेका ११ जना अथवा मैदानबाहिर रहेका टोलिका पदाधिकारी,प्रशिक्षक वा भनौ स्टेडियममा उपस्थित नेपाली समर्थकलाई मात्र होईन संसारभर फिजिएर बसेका करोडौं नेपालीको निम्ति भावुक र वियजी महसुस बनाउने क्षण बन्न पुग्यो ।

नेपालको प्रशिक्षकमा अब्दुल्लाह अल्मुताईरीको आगमनपछि देखिएको खेलाडीहरुमा एकता,उर्जा र खेल्ने शैलीमा परिवर्तनले साफमा यसपटक नेपाल फाईनलमा पुग्ने आँकलन भनौ भविष्यवाणी गरिएको थियो नै ।

तर खेलमा समर्थक अथवा फुटबल पण्डितहरुको भविष्यवाणिले मात्र काम गर्दैन । हो टिमलाई जित्नको लागि समर्थकहरुको विश्वास र साथ चाहिन्छ नै । यसमा त राष्ट्रिय खेलाडीहरुले सोचभन्दा बढी नै मात्रामा नेपाली फुटबल समर्थकहरुको विश्वास र साथ अहिलेमात्र होईन उहिल्यैबाट रहँदै आएको छ र रहि नै रहनेछ ।

फरक यतिमात्र हो कि समर्थकहरुको आश अनुरुपको नतिजा दिनबाट नेपाली राष्ट्रिय फुटबल टोलि चुक्दै आएको थियो । यो भनिरहँदा नेपालले अन्तराष्ट्रिय फुटबलमा उपलब्धि हासिल नगरेको भने होईन । नेपालले अन्तराष्ट्रिय स्तरमा गर्व गर्न लायकका उपलब्धिहरु पनि हासिल गरेका छन् ।

तर नेपालले खेल्ने सबैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनसिपको फाईनलसम्म पुग्न भने नेपाललाई करिब तीन दशक नै लाग्यो । नेपाली टोलि यसपटक अन्य समयभन्दा संगठित,उर्जाशिल र हौसिएको देखिए र त्यही अनुरुपको फुटबल खेल्दै दक्षिण एशियाली क्षेत्रलाई नेपाली फुटबलको दमखमको उदाहरण समेत देखाउन सफल भएका छन् ।

भाग्यले साथ दिएर नेपाली टोलिले यसो गर्याे उसो गर्याे भन्दै आएकोमा यसपटक भने नेपालको फुटबल टोलिले मैदानमा आफ्नो सशक्त खेल नै प्रस्तुत गर्दै आफ्नै दमखममा ऐतिहासिक फाईनलको यात्रा तय गरेको छ ।

बंगलादेशसँगको ऐतिहासिक बराबरी नै भन्नुपर्छ जसले नेपालको ईतिहास कोर्न निक्कै ठूलो सहयोग गर्याे,त्यही बरारबरीपछि एउटा छेउको गोलपोष्टबाट बत्तासिदै आफ्नो नेतृत्वमा मैदानमा साम,दाम दण्डभेद लगाएर खेलेका खेलाडीसँग खुशी साटासाट गर्न किरण आउटलाईन नजिकै आएर नवयुग श्रेष्ठलाई अंकमाल गरे ।

किरणको त्यो अंक्माल सम्भवत नवयुगले कहिल्यै बिर्सने छैनन् । नेपालको २८ वर्ष लामो सपना साकार बनाउन माल्दिभ्स पुगेका किरणले आफ्नो सपना माल्दिभ्सको मालेमा साकार भएका थाहाँ पाउदा आफ्नो भावना रोक्न सकेनन् र नवयुगलाई छातिमा बेरेर आफ्नो सबै भावना आँशु मार्फत ब्यक्त गरे ।

अहिले त्यही तस्विरले सामाजिक सञ्जाललाई थप भावुक बनाईरहेको छ ।

सम्भवत सन् २००८ मा नेपालका लागि पहिलो खेल खेलेका किरणको लागि राष्ट्रिय जर्सिमा मैदानमा प्रवेश पाउनु नै सबैभन्दा ठूलो उपलब्धि थियो तर अहिले नेपालका लागि सबैभन्दा बढी खेल अर्थात ७८ खेल खेलिरहेका किरणको कप्तानको रुपमा साफको उपाधि नेपाललाई जिताउने सपना रहेको छ । त्यही सपनाबाट एक कदमको दुरीमा आफूलाई पाउँदा किरणको त्यो स्पष्ट सपनाहरु आँशु रुपी भावना बन्दै माल्दिभसको नेशनल फुटबल स्टेडियममा छचल्किरहेको थियो ।

माल्दिभ्सको टापुमा नेपाली टोलिले बनाएको नयाँ ईतिहासमा खेलाडीहरुको जति मिहिनेत छ त्यति नै धन्यवादको पात्र हुन् कोचिङ्ग स्टाफ, र अफिसियल पनि ।

नेपालले जारी च्याम्पियनसिपको पहिलो खेलमा साविकको विजेता समेत रहेको आयोजक माल्दिभ्सलाई १–० गोल अन्तरले हराउँदै सुखद शुरुवात गरेको थियो । त्यसपछि दोश्रो खेलमा श्रीलंकामाथि ३–२ गोल अन्तरको जित निकाल्दै फाईनल पुग्ने छनक दिएको थियो ।

यसपछि तेश्रो खेलमा भारतसँग १–० गोल अन्तरको हार बेहोरेपछि समिकरणमा केही मोड आउन सक्ने अवस्था आएकै थियो । यसपछि नेपाल फाईनल पुग्ने नपुग्ने निर्णय बंगलादेशसँगको अन्तिम खेलबाट हुने तय भयो ।

बंगलादेशसँगको खेलमा मैदानमा उत्रदा नेपाललाई बराबरीमात्र पनि फाईनल प्रवेशका लागि पर्याप्त थियो र यसै भयो र नेपाल अहिले साफ च्याम्पियनसिपमा ईतिहास कायम गर्दै फाईनल खेल्न योग्य राष्ट्र बनेको छ ।

साफ च्याम्पियनसिपसको ईतिहास शुरु हुन्छ सन् १९९३ मा पाकिस्तानको भुमिमा भएको सार्क गोल्डकपबाट । तत्कालिन समयमा दक्षिण एशियलाी क्षेत्रीय सहायता संगठनको रुपमा रहेको सार्कको नाममा प्रतियोगिताको शुरुवात गरिएको थियो । यसै नामबाट यो प्रतियोगिताले ६ वटा संस्करण पार गरेपछि सन् २००८ मा माल्दिभ्स र श्रीलंकाको भुमिमा आयोजना हुँदा प्रतियोगिता साफ च्याम्पियनसिपमा परिणत भएको थियो । या भनौ सातौं संस्करणबाट यो प्रतियोगितालाई साफ च्याम्पियनसिपको नामांकरण गरिएको थियो ।

१९९३ मा पाकिस्तानको भुमिमा भएको पहिलो संस्करणको तत्कालिन सार्क गोल्डकप भारतले जितेको थियो भने १९९५ मा श्रीलंकामा भएको दोश्रो संस्करणको उपाधि भने श्रीलंकाले जित्दै आफ्नै घरमा राख्यो । यस संस्करणमा नेपाल सेमिफाईनलमा पुगेको थियो ।

यसपछि १९९७ मा तेश्रो संस्करण आयोजनको जिम्मेवारी नेपालले पायो तर लिग चरणबाट माथि उठ्न सकेन । यो संस्करण पनि भारतले उचाल्दै दोश्रोपकट उपाधि विजेता बन्यो ।

चौथो संस्करण भारतमा सन् १९९ मा आयोजना भएको थियो र उपाधि रक्षा गर्दै भारतले तेश्रोपटक उपाधि आफ्नै कब्जामा राख्यो । भारतमा भएको यस प्रतियोगितमा नेपाल सेमिफाइनलसम्म पुगेको थियो ।

प्रत्येक २ वर्षमा आयोजना गर्ने हेतुले शुरु गरेको प्रतियोगिताको पाँचौ संस्करण यसपटक चार वर्ष ढिलो अर्थात २००३ मा बंगलादेशले आयोजना गर्याे । यसपटक बंगलादेशले उपाधि आफ्नै भुमिमा राख्न सफल बन्यो । ढिला हुनुको कारण थियो आयोजक बंगलादेश फिफाबाट प्रतिबन्धमा पर्नु । पछि प्रतिबन्ध फुकुवा भएपछि आयोजजना भएको प्रतियोगितामा अफगानिस्तानले पहिलोपक सहभागिताको मौका पाएको थियो । यस संस्करणमा नेपालको चुनौति समूह चरणबाट माथि उठ्न सकेको थिएन ।

पहिलो संस्करणको आयोजना गरेको पाकिस्तानले छैठौ संस्करण सन् २००५ मा पुन एकपटक आफ्नै भुमिमा आयोजनाको मौका पायो । नेपाल समूह चरणभन्दा माथि जान नसक्दा भारतले चौथो पटक उपाधि उचाल्यो ।

सातौ संस्करणको आयोजनाको जिम्मेवारी श्रीलंका र माल्दिभ्सले संयुक्त रुपमा उठायो र यसै संस्करणबाट सार्क गोल्डकप साफ च्याम्पियनसिपमा परिणत भएको थियो । सन् २००८ मा नयाँ नामबाट संचालन भएको च्याम्पियनसिपको उपाधि माल्दिभ्सले पहिलोपटक जित्यो । यो संस्करणमा नेपाल अन्तिम चारसम्म पुग्न सफल भएको थियो ।

आठौं संस्करण सन् २००९ मा एक वर्षपछि नै बंगलादेशमा आयोजना भयो । यो संस्करणको उपाधि भारतले उचाल्दै समग्रमा पाँचौ पटक उपाधि उचाल्न सफल बन्यो । यो संस्करणम नेपाल समूह चरणमा नै सिमित बन्न पुगेको थियो ।

सन् २०११ मा भएको नवौं साफ भारतमा पुग्यो । यो संस्करणमा नेपाल अफगानिस्तानसँग हार्दै फाईनलमा पुग्नबाट बञ्चित बनेको थियो । फाईनलमा भारतले अफगानिस्तानलाई नै हराउँदै छैठौ पटक च्याम्पियनसिपको उपाधि हात पार्याे ।

सन् २०१३ मा दशौं साफ च्याम्पियनसिप पुन एकपटक नेपालले आयोजनाको मौका पायो । यो संस्करणमा नेपालले सशक्त उपस्थिती देखाएको थियो । समूह चरणमा खेलेको सबै तीन खेल जित्दै नेपाल समूह विजेताको रुपमा सेमिफाईनलमा पुगेको थियो तर पुनः अफगानिस्तानसँग पराजित हुँदै आफ्नै घरमा फाईनल खेल्ने सपना टुटेको थियो ।

सन् २०१५ मा एघारौै साफ भारतमै आयोजना भयो र सातौं पटक उपाधि उचाल्यो । फाईनलमा यसपटक पनि अफगानिस्तान भारतसँग पराजित बन्यो । अर्काेतर्फ नेपाल भने समूह चरणबाट माथि उठ्न सकेन । यो अफगानिस्तानको दक्षिण एशियाली क्षेत्रबाट फुटबल खेलेको अन्तिम पटक थियो ।

१२औं संस्करणको साफ सन् २०१८ मा बंगलादेशमा भएको थियो । यस संस्करणमा नेपालको यात्रा सेमिफाईनलमा पुगेर सक्किएको थियो । उपाधि भने माल्दिभ्सले दोश्रो पटकका आफ्नो नाममा लेखायो । माल्दिभ्सले नै नेपाललाई फाईनल पुग्नबाट रोकेको थियो

नेपाल अब १३औं साफको उपाधि चुम्न भनौ,उचान भनौ वा जित्न भनौ एक खेल र एक क्षणमात्र पर छ । र यो फाईनलको यात्रा तय गर्दा नेपालले शुरुवात भने माल्दिभ्सलाई नै हराउँदै गरेको थियो । आशा गरौ नेपालले शनिबार भारतलाई हराउँदै पहिलोपटक साफ च्याम्पियनसिपको गरिमामय उपाधि लिएर नेपालमा अवतरण गर्नेछ । विजयी भव टिम नेपाल ।

तस्विर: एन्फा र सामाजिक सञ्जाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :