टि २० विश्वकप: स्कटल्याण्डको लगातार दोश्रो जित

काठमाण्डौं । आईसीसी टि २० विश्वकप अन्तर्गत समूहको क्वालिफाईङ्ग चरणको खेलमा स्कटल्याण्डले लगातार दोश्रो जित हात पारेको छ ।

सोमबार ओमानको अल अमिरात क्रिकेट स्टेडियममा सम्पन्न क्वालिफाईङ्ग चरणको खेलमा स्कटल्याण्डले पपुआ न्यु गिनीमाथि १७ रनको जित निकालेको हो ।

जितसँगै स्कटल्याण्डको सुपर १२ चरणमा पुग्ने सम्भावना निक्कै बलियो बनेको छ ।

१६६ रनको लक्ष्य पछ्याएको पपुआ न्यु गिनीलाई १४८ रनमा समेट्दै स्कटल्याण्डले १७ रनको विजय हासिल गर्याे ।

पपुआ न्यु गिनीका लागि नोर्मान भोनुआले सर्वाधिक ४७ रन बनाउँदा सेसे बाउले २४ रन जोडेका थिए र यस्तै कप्तान अस्साद भाला र किप्लिन डोरिगाले समान १८–१८ रन बनाए ।

स्कटल्याण्डका लागि बलिङ्गमा जोश डेभि एक्लैले ३ दशमलब ३ ओभर गर्दै १८ रन दिएर चार विकेट लिए ।

यसअघि पहिले ब्याटिङ्ग गर्दै निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६५ रनको योगफ तयार पारेको स्कटल्याण्डका लागि रिची बेरिङ्गटनले ४९ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ७० रनको शानदार ईनिङ्ग खेलेका थिए ।

यसबाहेक म्याथ्यु क्रसले ३६ बलमा ४५ रनको योगदान गरेका थिए ।

बलिङ्गमा पपुआ न्यु गिनीका लागि कबुआ मोरियाले ४ तथा चाड सोपरले ३ विकेट लिएका थिए ।

यस जितले स्कटल्याण्ड क्वालिफाईङ्ग चरणको समूह बी मा ४ अंकका साथ शिर्ष स्थानमा छ भने २ अंक रहेको ओमान दोश्रो स्थानमा छ ।

यस्तै स्कटल्याण्डसँग पहिलो खेलमा अप्रत्याशित हारको सामना गरेको बंगलादेश अंकविविहन अवस्थामा तेश्रो स्थानमा छ भने लगातार दोश्रो हारको सामना गरेको पपुआ न्यु गिनी चौथो स्थानमा छ ।

यस हारसँगै पपुआ न्यु गिनी जारी विश्वकपको क्वालिफाईङ्ग चरणबाटै बाहिरिने लगभग पक्का भईसकेको छ ।

क्वालिफाईङ्ग चरणमा ८ देशलाईै समूह ए र बी मा चार चार देश गरी विभधाजन गरिएको छ ।

प्रत्येक समूहबाट शिर्ष दुई स्थानमा रहने देशले जारी टि २० को मुख्य चरण अर्थात सुपर १२ मा स्थान बनाउनेछन् ।

सुपर १२ मा अहिले आईसीसी वरियताको शिर्ष ८ मा रहेको देशहरु छन् । उनीहरुलाई समूह एक र समूह २ गरी चार चारको दरले विभाजन गरिएको छ ।

अब क्वालिफाईङ्ग चरणबाट चारवटा देश सुपर १२ का दुई वटा समूहमा जानेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :