साने चम्कँदा वायर्न च्याम्पियन्स् लिगको नकआउट चरणमा

वायर्न म्युनिख च्याम्पियन्स् लिगको नकआउट चरणमा पुगेको छ ।

बुधबार राति सम्पन्न च्याम्पियन्स् लिग अन्तर्गत समूह ई को खेलमा बेनिफिकालाई ४–० गोलको फराकिलो अन्तरले हराउँदै वायर्न नकआउट चरणमा पुग्न सफल भएको हो ।

वायर्नको जितमा शुरुवाती दुई गोललाई भिएआरले मान्यता नदिएपनि उसले पछि ४ गोलको शानदार जित हासिल गरेको हो ।

खेलको ४३औं मिनटमा रोबर्ट लेवान्डोस्की र ५२औं मिनटमा थोमस म्युलरको गोल भिएआरले मान्यता दिएको थिएन ।

यसपछि ७०औं मिनटमा लिरोए सानेको गोलमा वायर्नले पहिलो अग्रता बनाएको थियो ।

खेलको ८०औं मिनटमा बेनेफिकाका एभर्टनले आफ्नै पोष्टमा गोल गर्दा वायर्नको अग्रतथा दोब्बर बनेको थियो ।

लगतै दुई मिनटपछि नै सानेको पासमा लेवान्डोस्कीले गोल गर्दै वायर्नलाई ३–० गोलले अघि सारे भने ८४औं मिनटमा सानेले ब्यक्तिगत दोश्रो गोल गर्दै वायर्नलाई ४–० गोलको जित दिलाउँदै नकआउट चरणमा पुर्याए ।

लगातार तेश्रो खेल जित्दै समूह ई को शिर्ष स्थानमा रहेको वायर्नको ९ अंक छ भने हारको सामना गरेको बेनिफिका ३ खेलमा ४ अंकका साथ दोश्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :