नेदरल्याण्ड्सका लिजेण्डरी क्रिकेटर रायन टेन डोस्काटेद्वारा सन्यासको घोषणा

नेदरल्याण्ड्सका लिजेण्डरी क्रिकेटर रायन टेन डोस्काटेले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।

रायनले शुक्रबार नेदरल्याण्ड्स आईसीसी टि २० विश्वकपको पहिलो चरणबाटै बाहिरिएपछि सन्यासको घोषणा गरेका हुन् ।

४१ वर्षिय रायनले वर्षको शुरुवातमै आईसीसी टि २० विश्वकप पश्चात अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिने बताएका थिए ।

रायनले विश्वकप अन्तर्गत आयरल्याण्डबिरुद्धको पहिलो खेलमा खाता खोल्न सकेका थिएनन् भने नामिबियाबिरुद्धको दोश्रो खेलमा हारको सामना गर्दा रायनको ब्याटिङ्गको पालो नै आएन ।

यसपछि श्रीलंकाबिरुद्धको अन्तिम लिग खेलमा उनकै आग्रहमा उनी टिमको शुरुवाती ११ मा खेलेका थिएनन् ।

रायनले सन्यासको घोषणा गरेको विज्ञप्तिमा नेदरल्याण्ड्सबाट खेल्न पाउनु सौभाग्य रहेको र यो टिमले धेरै उचाई लिन सक्ने बताउँदै अहिलेसम्मको सहयोगको लागि नेदरल्याण्ड्सको क्रिकेट बोर्ड लगायत समर्थकहरुलाई धन्यवाद ज्ञापन गरेका छन् ।

दक्षिण अफ्रिकामा जन्मिएका रायनले सन् २००६ जुलाई ४ मा श्रीलंकाबिरुद्धको एकदिवसीय खेलबाट नेदरल्याण्ड्सको लागि डेब्यु खेल खेलेका थिए ।

उनले नेदरल्याण्ड्सका लागि ३३ एकदिवसीय र २४ टि २० खेल खेलेका छन् ।

उनले एकदिवसीय करियर अन्तर्गत भारतमा सन् २०११ मा भएको एकिलवसीय विश्वकपमा ईङ्गल्याण्डबिरुद्ध ११९ तथा श्रीलंकाबिरुद्ध १०६ रनको शतकिय पारी खेलेका थिए ।

रायनको नाममा ५ वटा एकदिवसीय शतक छ टि २० मा ३ वटा अर्धशतक रहेको छ ।

उनको शानदार प्रदर्शनका आधारमा उनले सन् २००८ देखि २०११ को बिचमा तीनपटक आईसीसी एशोसिएट तथा अफिलियट प्लेयर अफ दि ईयरको अवार्ड समेत जितेका थिए ।

उनले आईपीएलको ५ वटा संस्करणमा कोलकाता नाईट राईडर्सबाट खेलेका थिए । यसो गर्ने रायन एशोसिएट राष्ट्रका एक मात्र खेलाडी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :