नेपाली बक्सर भुपेन्द्र विश्व च्याम्पियनसपबाट बाहिरिए

काठमाण्डौं । नेपालका बक्सर भुपेन्द्र थापा आईबा पुरुष विश्व बक्सिङ्ग च्याम्पियनसिपको पहिलो चरणबाटै बाहिरिएका छन् ।

मंगलबार सर्बियाको राजधानी ब्रेलग्रेडमा भएको च्याम्पियनसिपको पहिलो चरणको खेलमा भुपेन्द्र फ्रान्सका हाम्रुईसँग पराजित भएका हुन् ।

६३.५ केजी तौल समूहमा हाम्रुईले भुपेन्द्रलाई ५–० ले हराउँदै अन्तिम ३२ मा स्थान बनाए ।

यसअघि सोमबारको खेलमा नेपालका बक्सर सनिल शाही वाक ओभर पाउँदै अन्तिम ३२ को चरणमा पुगेका थिए ।

विश्व च्याम्पियनसिपमा नेपालकोतर्फबाट ४ जना खेलाडीको सहभागिता रहेकोमा सनिलसहित अब ३ खेलाडीको प्रतिस्पर्धा बाँकी रहेको छ ।

सनिलले अब बिहिबार प्रि क्वार्टरफाईनल चरणमा पुग्न आयोजक राष्ट्र सर्बियाका खेलाडी अब्बाशोभ भाखिबसँग प्रतिस्पर्धा गर्नेछन् ।

सनिल जारी च्याम्पियनसिपमा ६० केजी तौल समूहमा प्रतिस्पर्धा गरिरहेका छन् ।

यसबाहेक पुरन राई ५७ केजी र रविन थापाले ४८ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिता कार्तिक २० गतेसम्म संचालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :