नेपालबाहिर आयोजना हुने सबैभन्दा ठूलो तेक्वान्दो प्रतियोगिता आईओएफटिसी बैशाखमा हुने

काठमाण्डौं । नेपालीले नेपाल बाहिर आयोजना गर्दै आएको सबैभन्दा ठूला तेक्वान्दो प्रतियोगिता अन्तर्राष्ट्रिय खुला मैत्रीपूर्ण तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) को १३ औं संस्करण अमेरिकाको मिचिगनमा हुने भएको छ ।

आईओएफटिसीले शुक्रबार अमेरिकाको मिचिगन सिटीमा १३ औं संस्करणको अन्तर्राष्ट्रिय खुला मैत्रीपूर्ण तेक्वान्दो च्याम्पियनसिप आयोजन हुने बारे जानकारी गराएको हो ।

आईओएफटीसीको प्रायोजनमा मिचिगनको एभरेष्ट तेक्वान्दो संघले आयोजना गर्न लागेको प्रतियोगिता मे १३ देखि १४ तारिखसम्म हुने प्रतियोगिता संयोजक लवप्रसाद गोर्खालीले जानकारी गराए ।

यसअघि प्रतियोगिता २०२० को मे १ र २ तारिखका लागि मिचिगनमै हुने तय भएपनि विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड– १९) का कारण स्थगित गरिएको थियो । उक्त प्रतियोगिताका लागि नेपालबाट सहभागी हुने ५ खेलाडी समेत छनौट गरिएको थियो ।

‘नयाँ छनोट गर्ने वा तिनै खेलाडीलाई सहभागी गराउने भन्ने विषयमा टुंगो लागेको छैन । उनीहरुको ट्रेनिङको अवस्था बुझ्छौं अनी छलफल गरेर निर्णय गछौं ।’ संयोजक गोर्खालीले भने ‘छनोट गरेको लामो समय भएकाले सक्भर नयाँ छनोट गर्नेमै हाम्रो जोड हुने छ ।’

प्रतियोगितामा २० राष्ट्रका ६ सय भन्दा बढी खेलाडीको सहभागिता रहने बताइएको छ । सिनियर र जुनियरमा गरी ६५ स्वर्ण, ६५ रजत र १ सय ३० कांस्यका लागि प्रतिस्पर्धा हुने छ । ३ पुरुष र २ महिला गरी नेपालबाट ५ खेलाडीलाई सहभागी गराइने छ ।

विगतका १२ संस्करण मध्ये अमेरिकामा ५, नेपालमा ४ तथा भारत, बेलायत र हङ्गकङ्गमा १–१ पटक प्रतियोगिता भएको थियो ।

आयोजकका अनुसार प्रतियोगिता सम्पन्न गर्न करिब १ करोड २० लाख रुपैयाँ खर्च हुने छ ।

दिवाकर महर्जन अध्यक्ष रहेको आईओएफटिसीको अमेरिकाको पोर्टल्याण्डमा मुख्यालय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :