पलेशा र कविराज सम्मानित

काठमाडौं । पारा तेक्वान्दो खेलाडी पलेशा गोर्वधन र उनका प्रशिक्षक कविराज नेगी लामा सम्मानित भएका छन् ।

नेपाल तेक्वान्दो संघ, बागमती प्रदेशको प्रथम अधिवेशनमा पलेशा र कविराजलाई सम्मान गरिएको हो । उनीहरुलाई नेपाली कांग्रेस खेलकुद विभाग प्रमुख मोहनबहादुर बस्नेत, नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत, नेपाल तेक्वान्दो संघका महासचिव दीपराज गुरुङ र बागमती प्रदेशका अध्यक्ष केशव पुरीलगायतले सम्मान गरेका हुन् ।

टोकियो पारालिम्पिकमा दुई फाइट जित्दै पलेशाले ऐतिहासिक सफलता हात पारेकी थिइन् । उनीभन्दा पहिले कोही पनि नेपाली खेलाडीले ओलम्पिकमा दुई फाइट जित्न सकेका थिएनन् । उनी अन्तिम समयमा ऐतिहासिक कांस्य पदक जित्नबाट चुकेकी थिइन् ।

१८ वर्षीया पलेशाले वाइल्ड कार्डमार्फत पारालिम्पिकमा सहभागिता सुनिश्चित गरेकी थिइन् । उनी टोकियो पारालिम्पिकमा सहभागी एक्ली नेपाली खेलाडी पनि हुन् ।

सन् २०१६ मा दक्षिण कोरियाको मुजुमा भएकोे पारा तेक्वान्दो कोर्स उत्तीर्ण गरेपछि लामा राष्ट्रिय पारा तेक्वान्दोको प्रशिक्षणमा संलग्न रहँदै आएका छन् । कविराज अन्तराष्ट्रिय पारा तेक्वान्दो कोचको लेबल–२ कोर्स पूरा गर्ने एक्ला प्रशिक्षक हुन् ।

वल्र्ड तेक्वान्दो फेडरेसनले गत मंसिरमा आयोजना गरेको लेबल–२ कोर्स उनले उत्तीर्ण गरेका थिए । उनकै प्रशिक्षणमा पलेशाले टोकियो पारालिम्पिकमा ऐतिहासिक सफलता हात पारेकी थिइन् । टोकियो पारालिम्पिक बाहेक पनि उनको प्रशिक्षणमा विभिन्न मुलुकमा पुगेर पारा खेलाडीले प्रतिस्पर्धा गर्दै आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :