फुटबल खेल्नकै लागि नेपाली सेनाको जागिर त्यागेका विपिन

लक्ष्मी शाक्य

काठमाण्डौं । ‘कक्षा ११ मा पढ्दा पढ्दै बुबाको सल्लाह अनुसार नेपाली सेनाको जागिरको लागि आवेदन दिए, त्यसपछि पढाइलाई एकातिर पन्छ्याएर जागिरकै लागि आवश्यक तयारीमा जुटे र तयारी अनुसार जागिरमा नाम पनि निस्कियो, त्यसपछि ९ महिनासम्म सेनाको तालिममा खटिए, जसो तसो ९ महिने तालिमको समय कटाए, सानैदेखी फुटबल मैदानमा फुटबलसँग रमाउने बानी परेको मलाई ९ महिनासम्म सेनाको तालिममा खटिन त्यति सहज भएन, त्यो समयलाई म मेरो जिवनकै कठोर समयको रुपमा सम्झन्छु, अन्त्यमा म पुनः फुटबल मैदानमा फर्कन सेनाको जागिर छोड्न बाध्य भए ।’ यो भनाई हो, जावलाखेल युथ क्लबबाट पहिलो पटक नेपालकै शिर्ष क्लब फुटबल प्रतियोगिता शहिद स्मारक ए डिभिजन लिग खेल्ने तयारीमा रहेका धादिङ्गका विपिन कँडेलको ।

मंसिर ३ गतेबाट त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुरु हुने यस संस्करणको ए डिभिजन लिग खेल्नका लागि विपिन जावलाखेलमा अनुबन्धित भएको एक साता पुग्न लाग्यो । पहिले पनि फुटबलको नियमित अभ्यासमा जुट्दै आएका विनिको एक साता यताको दैनिकि अलिक भिन्न भएको छ । उनी दैनिक बिहानीको समय लिगको लागि क्लबले गराएको प्रशिक्षणमा व्यस्त हुन्छन् । उनको ध्यान लिगमा जसरी हुन्छ राम्रो खेल्ने तर्फ केन्द्रित भएको छ ।

ए डिभिजन लिगमा आफ्नो परिक्षा दिएर आफूलाई उत्कृष्ट खेलाडीको रुपमा चिनाउनेतर्फ अघि बढ्दै गरेको विपिनले जावलाखेलसँग दुई वर्षका लागि सम्झौता गरेका छन् । पहिलो पटक ए डिभिजन लिगमा पाइला चाल्न लागेका विपिन धादिङ्गबाट ए डिभिजन लिग खेल्ने पहिलो र एकमात्र खेलाडी समेत हुन् । राजधानीसँग सिमाना जोडिएको जिल्ला भएपनि अहिलेसम्म धादिङ्गका कुनै खेलाडीले पनि ए डिभिजन लिग खेल्न मैदान उत्रने मौका पाएका थिएनन् ।

यो सबै उनको फुटबलप्रतिको प्रेम, रुची र उत्कृष्ट खेल कौशलले दिलाएको अवसर हो भन्दा फरक नपर्ला । धादिङ्गस्थित सुनगाभा एकेडेमी बोर्डिङ स्कुलबाट शिक्षा शुरु गरेका विपिनले सोहि विद्यालयबाट फुटबल खेल्न शुरु गरेका हुन् ।

‘स्कुल समयमा विद्यालयस्तरीय खेलकुद प्रतियोगिता आयोजना हुने गर्दथ्यो, अन्य खेल पनि खेलाइन्थ्यो, तर मलाई फुटबल नै मन पर्ने भएकोले मैले विद्यालयस्तरीय प्रतियोगितामा फुटबलबाटै सहभागिता जनाउन थाले’,‘विपिनले भने,‘ ७ वर्षको उमेरबाट फुटबल खेल्न शुरु गरेको थिए, खेल्दै जादा खेलमा धेरै सुधार हुँदै आएको थियो , धेरै जिल्लास्तरीय प्रतियोगिता पनि खेलिसकेको छु ।’

धादिङ्गको नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ्गवेशी घर भएका विपिनकी आमा शुकुमाया कँडेलको करिब ७ वर्ष पहिले मृत्यु भएपछि उनी आफ्नो पढाई अनि खेललाई पछि सारेर उनी नेपाली सेनाको जागिरे भएका थिए । आमाको मृत्यु भएपछि विपिनले बुबा तोपबहादुर कँडेलको सल्लाह अनुसार नेपाली सेनाको जागिर खाएका थिए । उनको परिवारमा अहिलो उनीसहित बुबा र दुई बहिनी छन् ।

नेपाली सेनाको जागिर छोड्न किन बाध्य भए विपिन

आर्मीमा रहँदा फुटबल खेल्न नपाएर जागिर छोडेको सुन्दा कतिपयलाई विश्वास नलाग्न पनि सक्छ, त्यो स्वभाविक पनि हो, नेपाली फुटबलमा आर्मी फुटबल क्लबको राम्रै वर्चश्व रहँदै आएको छ । नेपालमा हुने शिर्ष डिभिजनका लिगहरुमा आर्मीको प्रदर्शन उत्कृष्ट रहँदै आएको छ भने कतिपय उपाधि आर्मीको नाममा छ ।

आर्मीले फुटबल खेलप्रति रुची हुने र उत्कृष्ट खेल्न सक्ने खेलाडीलाई खेल्नकै लागि जागिरको समेत व्यवस्था गर्दै आएको छ । तर विपिनले भने आर्मीबाटै फुटबलसँगै जागिरलाई अघि बढाउने अवसर पाएनन् ।

वि.स.२०७३ सालमा सेनाको जागिरे भएका विपिनले ९ महिनाको तालिम तनहुँस्थित खैरेनीटारमा बिताए । तालिम पश्चात उनी आफ्नो जागिरको दायित्व निभाउन पाँचथर जिल्लाको फिदिम पुगे । सरुवा भएर फिदिम पुग्दासम्म उनलाई विश्वास थियो कि, त्यहिबाट उनले फुटबललाई पनि अघि बढाउन पाउनेछन् । तर, दिन बित्दै जादाँ फिदिममा उनले ड्युटि समयमा ड्युटि निभाउनु बाहेक फुटबल खेल्न त परकै कुरा फुटबल खेल्न समेत पाएनन् ।

‘९ महिनाको तालिम सकेर आफ्नो दायित्व निभाउन फिदिम पुगे, तर मलाई त्यतिखेर सम्म पनि फुटलबको नशाले पिरोल्न छोडेको थिएन, फिदिम पुगेपछि पहिले फुटबल खेलेका साथीहरुसँग कुरा हुँदा उनीहरु फुटबल खेलिरहेको सुनाउँथे’,विविनले आफ्नो अनुभव सुनाउँदै भने,‘त्यसपछि मलाई जागिरभन्दा पनि फुटबलको मोह बढ्दै गयो, फुटबल खेल्न नपाएको पिडाले पोल्न थाल्यो, जसो तसो दुई वर्षको समय जागिरमा बिताए, त्यसपछि मैले जागिर छोडेर मैदानमा फर्किने पहिले जस्तै फुटबलसँग रमाउने निर्णय गरें ।’

२०७३ सालमा १८ वर्षको उमेरमा जागिर खाएका विपिन ७५ सालमा जागिर त्यागेर घर फर्किए ।

‘मैले घरमा बुबालाई जानकारी नै नगराई जागिर त्यागेर घर फर्किए, जागिर छोडेर घर फर्किएको थाहा पाएपछि दुई वर्षसम्म बुबा मसँग बोल्नु भएन’, विपिनले भने,‘मेरो निर्णयले बुबा धेरै दुखी भएको थाहा पाएपछि मलाई पनि बेकार जागिर छोडेछु भन्ने लाग्यो, समयसँगै म पुनः फुटबल खेलमा फर्किए, खेल राम्रै भएको कारण एकपछि अर्को प्रतियोगिता खेल्ने मौका पाउँदै गए, अहिले बुबा पनि मेरो निर्णयप्रति सन्तुष्ट हुनुहन्छ, खेल्नकै लागि त्यागेको जागिरप्रति मलाई अहिले कुनै गुनासो छैन, जे गरेछु राम्रै गरेछु भन्ने लाग्छ।’

विपिनले अहिलेसम्म खेलेका प्रतियोगिताहरु

सानैदेखी फुटबल खेल्न माहिर विपिन अहिले स्ट्राइकर पोजिसनबाट फुटबल खेल्दै आएका छन् । यसअघि उनी मिडफिल्ड र फरवार्ड पोजिसन दुबैबाट फुटबल खेल्थे । यसअघि सी डिभिजन लिग खेलेका विपिनले बी डिभिजन लिग नखेल्दै ए डिभिजन लिग खेल्ने अवसर पाएका हुन् । उनले गत सिजनको सी डिभिजन लिग खालीबारी युथ क्लबबाट खेलेका थिए भने त्यसअघि बिरगञ्ज एकेडेमीबाट एक सिजन खेलेका थिए ।

सी डिभिजन लिग खेल्नुअघि पिविनले गोरखा रनिङ कप, भक्तपुर गोल्डकप, प्रधानसेनापति कप, बिसाल मेमोरियल गोल्डकप, सिमरा गोल्डकप, इस्नु कप, थाहा गोल्डकप र एन्फा प्रेसिडेन्ट लिग खेलेका थिए ।

यी सम्पूर्ण प्रतियोगितामा उत्कृष्ट खेल्दै आम फुटबल दर्शक तथा आयोजकको ध्यान आफ्नो खेलतर्फ केन्द्रित गर्न सफल विपिनले धेरै पटक विभिन्न विधामा पुरस्कार समेत जितेका छन् । उनले प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट स्ट्राइकर, मिडफिल्डर, उत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट गोलकर्ता, उदयमान खेलाडी तथा उत्कृष्ट फरवार्डको उपाधि जितेका छन् ।

विपिनको अबको लक्ष्य

हाल काठमाडौंस्थित बल्खुमा बस्दै आएका विपिनले पढाई छाँडिसकेका छन् । उनी आगामी दिनमा समय मिले खेलसँगै पढाईलाई पनि अघि बढाउने योजनामा छन् । तर, उनको मुख्य योजना भनेको नजिकिदै गरेको लिगमा राम्रो खेल्नु हो ।

‘पहिलोपटक ए डिभिजन लिग खेल्ने मौका पाएको छु, म धेरै खुशी छु, विपिनले भने, यो मेरो लागि अवसरसँगै राम्रो खेलेर क्लबलाई राम्रो नतिजा दिलाउनु दायित्व पनि हो, यसलाई म न्यायपुर्ण रुपमा निभाउने छु ।’

विपिनले पि–्रसिजन अन्तर्गत गत साता ए डिभिजन लिग साविकको विजेता मछिन्द्रसंगको मैत्रीपुर्ण खेल खेल्ने मौका पाएका थिए । सो खेलमा उनले उत्कृष्ट गोल गर्दै प्रशिक्षकको मन जिते । तर उक्त खेलमा जावलाखेल मछिन्द्रसँग ४–३ गोल अन्तरले पराजित भएको थियो ।

यस लिगमा राम्रो खेल्दै राष्ट्रिय टोलिसम्मको यात्रा तय गर्ने सोचमा छन् विपिन ।

‘लिग खेल्नु मात्र ठुलो कुरा होइन लिगमा राम्रो खेल्न सक्नु ठुलो कुरा हो, ताकि लिग क्लबले पनि सोचे अनुसार नतिजा प्राप्त गर्न सकोस, मेरो सपना ए डिभिजन लिगमै सिमित हुने होइन, २३ वर्षिय विपिन भन्छन्, ‘म अबको केहि वर्षमै राष्ट्रि टोलिको जर्सी लगाएर मैदान उत्रने र देशको लागि राम्रो खेल्ने सपनासहित अघि बढेको छु, त्यसैको लागि आवश्यक मिहिनेत गरिरहेको छु ।’

यस सिजनको एक डिभिजन लिग मंसिर ३ गतेबाट शुरु हुँदैछ । यसअघि लिग कार्तिक २९ गतेबाट शुरु हुने भनिएपछि क्लबहरुकै सल्लाहमा अखिल नेपाल फुटबल संघ एन्फाले बिहीबार लिगको मिति सारेको थियो । प्रतियोगितामा विपिन सम्मिलित क्लब जावलाखेलले मनाङ्ग मर्स्याङ्गदीविरुद्ध खेल्दै सिजनको शुरुवात गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :