विश्व बक्सिङ्ग महासंघका अध्यक्ष उमर नेपाल आईपुगे

काठमाडौं । विश्व बक्सिङ्ग महासंघ (आईबा) का अध्यक्ष उमर केमलेभ नेपाल आईपुगेका छन् ।

आईबाका अध्यक्ष केमलेभ बुधबार बिहान ८ बजे नेपाल आईपुगेका हुन् । उनलाई नेपाल बक्सिङ्ग संघका अध्यक्ष राम अवाले, वरिष्ठ उपाध्यक्ष अर्जुन केसी लगायत संघका अन्य पदाधिकारीहरुले खादा र मालाई लगाई एयरपोर्टमा स्वागत गरेका थिए ।

केमलेभ नेपाल ओलम्पिक कमिटि तथा नेपाल बक्सिङ्ग संघका अध्यक्ष राम अवाले निमन्त्रणालाई स्विकार गर्दै नेपाल भ्रमणमा आएका हुन् ।

गत अक्टोबर २२ देखी नोभेम्बर ७ तारेखसम्म सर्बियामा भएको आईबा विश्व पुरुष बक्सिङ्ग च्याम्पियनसिपमा नेपाल बक्सिङ्ग संघका अध्यक्ष राम अवालेले केमलेभलाई नेपालको भ्रमणको निम्तो दिएका थिए ।

रुसी नागरिक केमलेभको नेतृत्वमा ८ सदस्सीय टोली दुई दिनका लागि नेपाल भ्रमणमा आएका हुन् ।

केमलेभको भ्रमणको प्रमुख उद्देश्य नेपाली बक्सिङ्गको सर्वाङ्गिण विकास, नेपाली खेलाडीहरुको उत्साह बढाउनु तथा नेपाल बक्सिङ्ग संघ तथा आईबा बीचको सम्बन्ध विस्तार गर्नु रहेको संघले जनाएको छ ।

केमलेभले नेपाल भ्रमणको दौरानमा नेपाली बक्सरहरुसँग भेटघाट, बक्सिङ्ग प्रतियोगिता अवलोकन एवम् सम्माननीय प्रधानमन्त्री तथा खेलकुद मन्त्री लगायत महत्वपूर्ण व्यक्तित्वहरुसंग भेटघाटको कार्यक्रम तय भएको छ ।

नेपाली खेलकुद ईतिहासमा बक्सिङ्ग खेलको आफ्नो छुट्टै पहिचान रहेकोमा यसको गरिमालाई अन्तराष्ट्रिय जगतमा अझै बढाउनका लागि पनि आईबा
अध्यक्षको यो भ्रमण कोशेढुङ्गा सावित हुने कुराको विश्वास नेपाल बक्सिङ्ग संघले लिएको छ ।

यस्तै केमलेभको यस भ्रमणले खेल विकासका साथै कोभिड पछिको पर्यटन प्रवद्धनका लागि नेपाल सुरक्षित छ भन्ने सन्देश विश्व भर प्रवाह गर्ने समेत विश्वास लिइएको छ।

हालसम्म २०४ देशका बक्सिङ्ग संघले आईबाको मान्यता पाईसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :