च्यासललाई हराउँदै थ्री स्टारको विजयी शुरुवात

काठमाण्डौं । शहिद स्मारक ए डिभिजन लिगमा थ्री स्टारले विजयी शुरुवात गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न लिगको दोश्रो खेलमा थ्री स्टारले च्यासल युथ क्लबमाथि ३–० गोल अन्तरको शानदार जित निकालेको हो ।

थ्री स्टारलाई जित दिलाउन निशान खड्का,रफायल रिम र अनन्त तामाङ्गले एक एक गोलको योगदान दिए ।

अर्काेतर्फ च्यासलका नेपाली मुलका ईटालीयन विकास मेराग्लीयाले पेनल्टी किकमा गोल गर्नबाट चुकेका थिए ।

खेलको २१औं मिनटमा च्यासलका यानिक केइचाले संजोग राईमाथि गरेको फाउलका कारण पाएको फ्रि किकमा निशानले गोल गर्दै थ्री स्टारलाई खेलमा शुरुवाती अग्रता दिलाएका थिए ।

खेलको २५औं मिनटमा थ्री स्टारका अनन्तले विकासलाई बक्सभित्र लडाएपछि च्यासलले पेनल्टी किकको अवसर प्राप्त गरेको थियो । तर उक्त अवसरमा विकासको प्रहार च्यासलका गोलकिपर प्रिसोले बचाएका थिए ।

पहिलो हाफको अन्तिम मिनटमा हेमन्त थापामगरको फ्रि किकमा रफायल रिमले हेडर गोल गर्दै थ्री स्टारको अग्रतालाई २–० को अन्तरमा पुर्याए ।

यसपछि खेलको ५९औं मिनटमा अनन्तले गोल गर्दै थ्री स्टारको अग्रता तेब्बर बनाए ।

यसपछिको बाँकी समयमा दुबै क्लबबाट थप गोल नभएपछि थ्री स्टारले जारी सिजनको लिगको पहिलो खेलमा तीन अंकबाट शुरुवात पायो ।

यो यस सिजनको तीन खेल सक्किदा पहिलो स्पष्ट जित समेत हो । जितसँगै थ्री स्टारले म्याच विनिङ्ग मनिको रुपमा ५० हजार नगद प्राप्त गरेको छ ।

जितसँगै तीन अंक बटुलेको थ्री स्टार अंक तालिकाको शिर्ष स्थानमा समेत उक्लिएको छ ।

यसअघि आजै भएको पहिलो खेलमा हिमालयन शेर्पा र संकटा क्लबले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका थिए ।

लिग अन्तर्गत आइतबार दुई खेलहरु हुने छन् । पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लबले एपीएफ फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

यस्तै दोश्रो खेलमा मनाङ्ग मर्स्याङ्गदी क्लबले जावलाखेल युथ क्लबसँग खेल्नेछ ।

यो पनि पढ्नुहोस्: हिमालयन शेर्पा र संकटाको बराबरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :